- देवेन्द्र भट्टराई
पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो, फिदिम ‘फेदेन’ बनेको थियो । पुर्वी पहाडी जिल्लाहरु लिम्बुवानको आन्दोलनमा बौरदैं र मुर्झाउँदैं गरिरहेका थिए । अनेक बहाना राखेर हरेक दिन हुने बन्दहरुले सातो हराएको बिरालो झैं बनेको रहेछ फेदेन । त्यही गोलमालका माझ गत बर्ष कात्तिक दोस्रो साता हामी पाँचथर र इलाम घुमघाममा निस्केका थियौं ।
साँझपख फेदन चोकको युके लजमा पुग्दा लिम्बुवानको भिन्नै जगतमा पाइला टेकेजस्तो भने भएन । भित्तोमा स्वीटजरल्याण्डका सुन्दर दृष्यचित्र र भारतीय नायक-नायिकाका पोजपोजका तस्वीर टाँगिएका थिए भने चर्को स्वरमा हिन्दी गीत गुन्जिरहेको थियो । लिम्बुवानका अभियन्ता मित्र लिङ्देनदेखि कवि भवानी तावा र पत्रकार प्रेम ओझासम्मका बातचितहरु आ-आफ्नै काइदाका लाग्थे । एउटा पुस्तकालयको उद्घाटन समारोहमा पुगेका बेला मैदानमा केही लिम्बु र अन्य जातीय झाँकीहरु देखिएपनि भाषिक उपयोगिताको कुरामा कि नेपाली अथवा केही अंग्रेजीको प्रयोग पनि भैरहेको थियो । ‘यहाँ फेदेन बजारकै लिम्बूहरुले पनि आफ्नो भाषा बुझ्दैन, बरु गाउँतिर भने बाहुनहरुले पनि लिम्बु बुझिरहेका हुन्छन्’, जातिय र भाषिक विविधताले भरिएको नेपाली समाजको यथार्थ सुनाइरहेका थिए, स्थानीय सुम्हात्लुङ एफएमका समाचारबाचक सेसुफुङ शेर्मा । आफ्नो भाषा र सम्पदा जोगाउने अभियानमा अरु तीन साथीभाइसँग मिलेर हरेक बिहान-बेलुका लिम्बु भाषामा समाचार फुकिरहेका उनी बिहानीछेक निकै हतारमा थिए । बरु एकैछिनमा सुम्हात्लुङ एफएमबाट सुनियो, ‘आल्ल इङ्घङ खेप्सुङ्लो…’ (अब लिम्बु भाषामा समाचार सुन्नुहोस ।)