सिंगापुर बस्ने छोरालाई नागार्जुनको पत्र

रबि भट्ट ‘रोषी’
दोहा, कतार
नेपालभूमिलाई रणभूमि बनाउन ठुलो योगदान दिने मेरो छोरो ।
तिमी सिंगापुर गएदेखि अलि अलि ढुक्क भएको मेरो मन फेरि केहि दिन देखि बिरक्तिन थालेको छ । नारायणहिटीमा ‘उ’ गरेपछि कपाल मुण्ड्याएर मेचमाथि बसेर श्रीपेच पहिरिएर म हजुरले तोपको सलामी खाँदै रैतीहरुबाट मोहर ग्रहण गरीबक्सेको हिजो जस्तै हो कि झैँ लागेर झलझली आँखामा नाचीरहन्छ । नारायणहिटीमा ‘उ’ गर्न त पछि परिएन भने प्रजातन्त्रलाई ‘कू’ गर्न के बाँकी राख्नु त नि भनेर ‘कु’ गरी टोपल्ने भएको १९ दिने जनआन्दोलनले त मलाई ‘चुँ’ पनि गर्न नदिईकन ‘फू’ गरेर घरको न घाटको बनाएर कन्तबिजोग बनाएर छोडिदियो । नागार्जुनदरबारको एट्याच बाथरुममा समेत आजकल त ‘सु’ गर्न पनि असुरक्षित अनुभव गरिरहेको छु ।

कहाँको नारायणहिटी दरबार कहाँको नागार्जुन घरबार । यो भन्दा त बरु बी.पी. लाई थुनेर राखेको सुन्दरीजल जेल नै राम्रो थियो होला । कम से कम त्यहाँ बी.पी. ले गौँथलीको चिरबिर सुनेर त अनेक काव्य रचना त गरेका थिए । यहाँ त बिहानै खालीपेटमा काग डुक्रिएर अशुभ प्रवाह गर्दै दिक्क बनाउन थालेको छ । फेरि पूर्व दरबार बाट के आदेश आउने हो भनेर मन त भक्याम्लाको डाली हल्लेझैँ हल्लिरहन्छ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्थे, अहिले त्यस्तै भईरहेको छ । जनताले सिंग फुकालेर ठूटो बनाईदिएपछि र दलहरुले पुच्छर निमोठेर ढुटो पारिदिएपछि पत्रकार साईंद्वाहरुले पनि हेपेर दिनदिनै पत्रिकाहरुमा मेरो ग्लानियुक्त रुन्चे र पिन्चे फोटो मात्रै छापीदिएर हैरान पार्न थालेका छन् ।

दशा पनि किस्ता किस्ता गरेर आए हुन्थ्यो नि लाम लागेर आउन थाल्यो । त्यो बेलामा कंस बनेर बंश पन्छाएर अंश हत्याएको एक रत्ति पनि फापेन नि मन्द बुद्धि छोरो । तुलसी बुढो संग त पुरानो अक्किल (अक्कल) छ भनेर श्रीलंका बाट झिकाएको उसले पनि केहि नापेन । शेर बहादुर पनि छोटो जिब्रोको मोरो गिलो बोल्ने, गिरीजालाई दुःख पोखेको त्यो त लोसे झन ढिलो बोल्ने, माधव नेपाल दरबार आउँदा ठिक्क बोल्ने दरबारमार्ग कट्ने बित्तिकै पेटको कुरो सबै खोल्ने । कमल थापालाई गृह जिल्ला मकवानपुरमा टिक्नै दिएन । तारानाथ रानाभाटलाई हात लिएको र..ट..ट र भ..ट..टले बिक्नै दिएन । मैनाली बन्धुलाई भित्र्याउन त खोजेको हो उ पनि बोलीको भर नभाको । नारायणसिंह पुनको हेलिकप्टरमा रातारात गरेर प्रचण्डलाई दरबार झिकाएर सहयोग मागेको त कुम उचालेर तिनिक्क तन्किदै ‘प्रजाले राजालाई के सहयोग गर्नु सरकार, जोगीको घरमा सन्यासी पाहुना भनेको जस्तो । पहिले तपाईं प्रजा बन्नुहोस् अनि बल्ल सहयोगको चाँजो पाँजो मिलाउनु पर्ला’ भनेर स्टार्ट बन्द हुन लागेको टेम्पु अन्तिम खेपमा बेस्सरी हल्ले झैँ हल्लिदै र हाँस्दै नाकको डाँडी माथिको चश्माको भाँटा धकेलेर टक्क अडियो । भट्टराई बुढोको के कुरा गर्नु गति पनि सकिएको मति पनि सकिएको बुङ्गो लाग्यो । प्रजातन्त्रलाई किन करणी गरेछु अहिले बल्ल दाँतमा ढुंगो लाग्यो ।

बाटुलो मोहोडा र त्रिपट बुद्धि भएको मेरो भङ्जाहा छोरो । नजानु सिंगापुर गईसकेपछि नेपाल आउने बेलामा धेरै सोच विचारेर मात्र आउने गर्नु । यसमा हामी बाबु छोरालाई नै फाईदा हुने देखेको छु । तिम्रो जस्तै मति विग्रिएको कसैले भेट्यो भने तिमी माथि पुरानो रीस साध्नलाई जे पनि हुन सक्छ । किनकी अब तिमीलाई एयरपोर्टमा झर्ने बित्तिकै जे पनि गर्न सक्छन् । इष्टदेवी माता काली र मनकामनाका ७ दिदी बहिनीका पूजारी खलक भनेर नारायणहिटी दरवारको प्रत्यक्षदर्शी त्यो मगर मोरोलाई ज्यान माफी दिएर जेल सजाय मात्र दिएको त यसको आद्योपान्त घटनाकर्मी अर्थात योजनाकार तिमी नै हो भनेर पत्रकारको अघि अस्ति नै कुरा खुस्काएर मलाई समेत अप्ठ्यारोमा पारेर तिम्रो बा बाजे र बराजुले हैकम चलाउँदै आएको नेपालराज्यमा दरबार हत्याकाण्डको रहस्य भुसको आगो झैँ भित्र भित्रै कुरा सल्किईसकेको थियो । धन्न तिम्रो जत्ति पनि बुद्धि नभएका बुद्धिहीन नेताहरुले केहि लछारोपाटो लाएनन् । तिम्री आमा अहिले त्यहि पीरले गर्दा खर्लप्प दुव्लाएर भकुण्डो जस्ती भएकी छे । अस्ति भर्खरको कुरा हो, भातरुममा भात पकाउँदै गर्दा तिम्री आमा चिप्लिएर बाथरुममा टाउको ठोक्किन पुग्दा घुँडामा चोट लागेर गोलीगाँठोबाट अत्याधिक रक्तस्राव हुन पुगी बीर अस्पतालमा लैजानु पर्यो भनेर एम्बुलेन्समा राखेको त त्यहाँ त तर्साउँछ जान्न भनेर एम्बुलेन्सबाट भक्लक्क हाम्फालिदिइन् । त्यसो भए सैनिक अस्पताल जाउँ न त भनेर भनेको त सैनिक अस्पतालको नाम लिने बित्तिकै अचेतमुद्रा ग्रहण गरेर आँखा माथि माथि हेर्न थालिन् । त्यो वेलामा उनको उपचारार्थ किर्तिपुरको गुभाजु बोलाएर नागार्जुन दरवारको दक्षिण ढोकाको मोहोडाको भुई तलामा नै राखेर तिम्री आमाको प्राग उपचार गराएर सञ्चो बनाएँ ।

हुन त मलाई तान्त्रिक तथा ज्योतिषीहरुको बिश्वाश एकरत्ति पनि लाग्न छोडिसकेको छ । मलाई कम जोक्कर बनाएनन् ती तान्त्रिक भनाउँदा साईंद्वाहरुले । त्यहि तान्त्रिक बजियाको लहैलहैमा लागेर तिम्रो ठूलोबा को जस्तो जुँगा हुर्काएर नाकमुनि टम्म पाल्यो भने पूर्व कुकृत्यबाट मोक्ष पाईन्छ भन्ने अर्ति ग्रहण पश्चात मैले पनि सद्याम हुसेनले झैँ जुँगा पाल्ने भएको मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन मच्छिन्द्रनाथको भोटो देखेर हाँसेका हुन् कि भनेको त मेरो जुँगा मोटो देखेर पो हाँसेका रहेछन् मेरा प्यारा देशवासीहरु । कम उपहासको पात्र बनाएनन् मलाई त्यो सालको भोटो जात्राको दिन । त्यहि लाजले गर्दा एक महिना सम्म त नारायणहिटीको खोपी बाट बाहिर निस्कन पनि सकिन । आजकल त मलाई बैराग्यले छोप्न थालेको छ । अहिले राजकाज र राजपाठबाट अवकाश पाएपछि मन बिरक्तिएर कहिले त राजा हरिश्चन्द्रको जस्तै सादगी जिन्दगी बिताउन पर्छ कि जस्तो लहडी बिचार मनमा उम्लन्छ । तर के गर्नु एउटा असल राजा बनेर शाशन गर्न त नसक्ने हुतिहाराले के हरिश्चन्द्र बन्ने श्वेतकल्पना मनमा पाल्नु र जस्तो लाग्छ ।

कान्तिपुर नगरीको पूर्व शाही महलमा औतार लिएर जन्मिने मेरो धुन्धुकारी छोरो, तिमीले सिंगापुर जाने निर्णय गर्दापनि म चाहिँ झिंगापुर नै बस्छु भनि नक्कली हठ देखाउँदै राष्ट्रप्रेमको गुलियो दलेर राष्ट्रभक्तिको झिंगेदाउ थाप्नु पनि बेकार नै भयो । राणाहरुको दर्जन (एम्वुस) मा परिन्छ कि भन्ने भयले तिम्रा हजुरबा का बा दिल्ली शरण लिन जाने क्रममा म मामा घरमा नै छुट्न पुगेकोले कट्टुको इँजार बान्न पनि नसक्ने उमेरमा राजा हुने सौभाग्य पाएको थिएँ । मान्छेको आहालो रगत खान पल्केको बाघले मान्छेको आहालो रगत नै खान मन पराए जस्तै फेरि राजा हुने सपनाले आज मलाई यो हविगतमा ल्याएर छोडिदियो । नेपालखण्डमा राजा हुन त भइयो छोरा अधकल्चो भईयो । कठैबरा छोरा तिम्रो त राजा हुने सपना पुरकल्चो नै रह्यो । हाम्रा सिलसिलाबद्ध योजना दिवंगत हुन पुग्यो छोरो । अहिले त मेरो हालत धनकुटा लखेटिएको देवशमशेरको जस्तै हुन पुगेको छ । तिम्रो हाम्रो अवस्था र ईज्जत कमिलो जत्रो भयो भनेर मन अमिलो नबनाउनु छोरो ।

कामीको पालो पुसमा भन्छन् । अव हामी गद्यीनसीन हुने दिन भने धेरै टाढा छैन बावु । हामी त्यसै राजा कहलाई बक्सिएका होइनौँ । हाम्रो खलकले एक्लैले शाशन चलाउँदै आएको नेपाल खण्डमा ६०१ जनाले चलाउन नसक्नु नै भोलि हाम्रो भोलिको दिन सुनौलो छ भन्ने आशाको झिल्को हो । अव मैले पनि मेची काली दौडबाट समर्थन बटुल्दै छु । हाम्रा दिन फिर्ने छन् । के गर्ने त ‘थोत्रो स्वेटर पुसैलाई, मुसाको छोरी मुसैलाई’ । बेलुका डेरामा आउँदा जाँड खाएर धतुङ्गाउँदै बुहारी कुट्ने र नाति नातिनालाई तर्साउने हैन । बानी सुधारे ।
तिम्रै इन्द्रियबिहिन बा ज्ञानेन्द्र
नागार्जुन बाट

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।