अनपेक्षित भोगाई

pdm2003@yahoo.com
निष्कपट हुनुको पीडाले आज उस्लाई खुव सताइरहेछ । मनभरी आदर्श र स्वच्छ भावना बोक्नु पनि उस्का लागि जीवनको पीडामय गीत बन्यो । उस्ले सोची, 'मैले कहाँ गल्ती गरें - कसरी शुरु भयो पीडामय जिन्दगीको यात्रा -' यो मानसिक तनाव उस्ले भोग्नु नपर्ने हो । अति उदार चित्त हुनुको वेफाइदाहरु शायद यस्तै हुदो हो ।

उसो भए के फरक रह्यो र स्वार्थी भावना र निश्वार्थी भावनामा - यस्तै प्रश्न ओइरीरहेकाछन् उस्का मनभरी । भानुचोकको भीडमा आफुलाई नितान्त एक्लो यात्री सम्झेर एकपटक लामो सुस्केरा लगाउछे । सानो व्याग काँधमा झुण्डिएको छ । आँखाहरुले व्यस्त बजारमा कोही खोजी रहेछन् । तर, रित्तै र्फकन्छन् भावसून्य भएर । आफ्नो पछाडि कानै छेड्ने कर्कस आवाजमा हर्न बजाउदै धनकुटाबाट फलफूल बोकेर झरेको ट्रक आएको पनि थाहा पाउदिनन् । उस्का कानभरी आफ्नो वहिनी र लोग्नेको कर्कस आवाजमात्र गुञ्जिरहेको महसुस गर्छ ट्रकको आवाजलाई पनि ऊ लोग्ने र बहिनीको नमिठो, भद्दा र अश्लील गाली सम्झन्छे ।

तन्द्रा टुटे पछि पछाडि र्फकन्दा ट्रक चालक झयालबाट टाउको निकालेर नियमित बोलीमा गाली गरिरहेको हुन्छ, 'काल खोजेको हो की क्या हो - पागल आइमाई ।' ऊ चुपचाप पश्चिम तिर टेम्पो स्टेनमा हानिन्छे ।

अनेपक्षित भोगाइको पीडा सवैभन्दा खतरनाक हुदो रहेछ । विपरित परिणाम भोग्ने त उस्ले कल्पना पनि गरेकी थिइनन् । अहिलेको भोगाइ प्रति उस्ले पटक्कै चित्त बुझाउन सकिरहेकी छैनन् । घरी घरी त उस्लाई आफुले पाइरहेको पीडामय भोगाइप्रति विश्वास नै लाग्दैन । पश्चाताप पनि छैन । तर पीडा मनमा भने जारी छ । त्यसो भए लोग्नेको तिरस्कारलाई उस्ले पुरस्कार सम्झने त - आफ्नै वहिनीलाई अव फेरि कसरी सहयात्री सम्झने - जटिल, जटिल झन् जटिल बन्दै गएको छ उस्को मनोदश । ऊ टेम्पोबाट घर अगाडिको गेटछेउमा उत्रन्छे र पर्सबाट भाडा तिर्छ झमक्क साँझ परिसकेको छ ।

घरका सवै कोठा उज्याला छन् । तर उस्का कोठा अध्यारो छ । साँझमा बत्ति बाल्दा सवै कोठामा बाले के ब्रिग‍न्थ्यो र - ऊ त्यस कोठामा एक्लै बस्न थालेको धेरै भएको छैन । करिव चार वर्षजति भयो । तर, लोग्ने संग सम्बन्ध विच्छेद भएको पनि होइन । बहिनी संग कुनै अप्रिय झगडा पनि परेको छैन । अर्थात उस्ले अहिले सम्म प्रीयालाई ठूलो स्वरले अप्रीय लाग्ने गाली गरेकी छैनन् । यो मानेमा ऊ आफ्नो बहिनी संग झगडा भएको छैन ।

घरभित्र छिरेर स्वीच अन गर्छ कोठा भरि उज्यालो छरिन्छ । 'ममी ! ममी !! मलाई के ल्याइदिनु भयो, खोइ क्याटबेरी - क्याटबेरी दिनु हुन्न भने म भोलिदेखि स्कूल जान्न, नाइ के स्कूल जान्न ........ ।' - विवेक आजपनि सधैं भै झयामिन्दै आएर काखमा पल्टियो । साढे चारवर्षो विवेकले सवैभन्दा वढी माया गर्छे । यस्काकारण पनि ऊ आत्महत्या गर्नबाट धेरै पटक जोगिएकी छे ।

उस्लाई थाहा छ, घरमा पुग्ना साथ विवेकले केहि न केहि माग्छ भनेर । त्यसैले आजपनि क्याटबेरी किनेर ल्याइ दिएकी थिइ । उस्ले व्यागमा हात हालेर खोल्न पनि नभ्याई विवेकले निकाली सकेको थियो । 'अव तिमी भोलि स्कूल जान्छौ होइन -' बाल सुलभतालाई नियालेर टाउको मुसार्दै विस्तारै साउतीको भाषामा बोली । मुखभरी क्याटबेरी खाइरहेको विवेकले टाउको मात्र हल्लायो । आफ्नी ठूलीआमालाई मायालु पाराले हेर्दै ।

त्यसपछि विवेक उठेर गयो बाहिर गोजी भरि क्याटबेरी बोकेर । ऊ लुगा फेर्न थाली, खियालागेका टिनको दराजमा टाँसिएको फुटेको ऐना अगाडि उभिएर । 'यो ऐना जस्तै मेरो भाग्य पनि फुटेको रहेछ । र, यो टिनको दराज भन्दा के फरक रह्यो र मेरो जीन्दगी - दराजमा त्यसै खिया लागेको छ, र मेरो जीवनमा पनि विनाकारण खिया पीडा थपिएको छ ।'त्यस्तै सोच्दै ऐनामा उस्ले आफूलाई नियाछे ।

ऊ आफ्नो लोग्ने भन्दा चार वर्ष कान्छी र वहिनी भन्दा आठ वर्ष जेठी छे । अर्थात उस्को उमेर अहिले ३४ वर्ष पुगेको छ । तथापी बुढेसकालले छोए जस्तै ऊ परिपक्व अनुभवी शैलीमा जीवनलाई बुझने प्रयास गर्छे वाहिर अचानक विवेक रोइरहेको सुन्छ, उस्को रुवाईको कारण आवाज संगै प्रीयाको चर्को आवाज पनि सुन्छ, 'दुनिया सडकमा मधिसेले फिजाएको मिठाइ दिएर अव फेरि डाइरिया लगाइदिन आँटी मेरो विवेकलाई । अस्ति पनि खै के ल्याएर दिइ, रातभरी हनहनी ज्वरो आएर सुत्नै दिएन । तँलाई मैले कत्ति पटक भनि सकें तेरो ठूली आमाले दिएको मिठाइ नखा भनेर ।'

विवेकले चपाउदै गरेको क्याटबेरी चक्लेट खोसेर प्रीयाले अघि नै सुँगुरको खोरमा मिल्काइ दिएकी थिइन् । आफ्नै वहिनीको यस्तो व्यवहार प्रति ऊ अझै पनि अनभिज्ञ भएर सहि रहेकी छे । प्रीयाले किन आफ्नी दिदीलाई घृणाको पात्र बनाएकी हुन् उस्ले बुझेकी छैनन् ।

सत्र वर्ष अघि अप्रत्यासित रुपमा विमल संग सोनुको मागी विवाह भएको थियो । उस्ले दोस्रो छुट्टिमा आउदा विवाह गरेको थियो । किरात कुलको वैशालु विमल डिप्लोमा प्रथम वर्षसम्म पढेर वेलायती सेनामा छाती नापेर भर्ना भएको थियो । ऊ पेन्सन आए लगतै सोनुले प्रिया संग विवाह वन्धनमा वाँधि दिएको थियो । ती पहिलेका यादहरु अहिले उस्का मनका भित्ताभरी रंगिन चित्र झैं टाँगिएका छन् । कति गाह्रो परेको थियो प्रथम विछोड सहन । विराटनगर एयरपोर्टमा विमललाई अंगालो मारेर ऊ वेस्मारी रोएकी थिइन् । र, विमल पनि । आज दन्ते कथा बनेको छ उस्का लागि यी यादहरु । अविश्वसनीय लाग्छन् ।

एक्लो दिदीलाई सहयोग गर्न प्रिया भोजपुरबाट धरान आएकी थिइन् । र, सदन माविमा पढ्दै दिदीको साथी भएर समय संगै बग्दै थिइन् । सोनुले परिवारमा सवैभन्दा बढी माया गरेको मान्छे त्यसवेला आफ्नो लोग्ने विमल पछि प्रिया नै थिइन् । किनभने प्रिया आफ्नो दिदीको हरेक सुख दुखकी साथी वन्दै आएकी थिइन् । पहाडमा रहदापनि उनीहरु संग संगै घाँस दाउरा जान्थे, गट्टी खेल्थे । लुकामारी खेल्थे । अहिले यो सवै अतितको गर्भमा लुकेको छ ।

ऊ वहिनीको तीतो व्यवहारले गर्दा प्रत्येक पल अतितका सुखद क्षण संझेर सहने अभ्यास गर्दै आएकी छे । विवाह गरेको करिब सत्र वर्ष विति सक्दा सम्म पनि उस्ले गर्भधारण गर्न नसकेपछि लोग्नेको चित्त बुझाउन र आफ्नो मातृवात्सल्य इच्छा पूरा गर्न आफ्नै बहिनी संग विमलको विवाह गरिदिएका थिइन् । विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका गाइनोकोलोजिस्टले उनको पाठेघरमा खरावी भएको रिपोर्ट दिएपछि प्रिया र विमल वीच जोडी मिलाएकी थिइन् ।

खासगरी लोग्ने माथि तेस्रो व्यक्तिले नमिठो आक्षेप लगाए पछि उनको मन त्यसवेला कुँडिएको थियो । 'मर्द भए पो सन्तान जन्माउन सक्छ, नामर्द भएपछि कस्को के लाग्छ -' पहिलोपटक नजिकैको नम्बरी (साथी) ले नै यसो भने पछि सोनुलाई खपिनसक्नु पीडा भयो । आफ्नो पाठेघरको दोष प्राण प्रिय लोग्नेमाथि अनाहकमा लाग्दा कुन स्वास्नीको स्वाभिमानमा धक्का लाग्दैन - प्रत्येक स्वास्नीले समाजमा लोग्नेको बर्खिलाफ, र कुरा काटेको सुनेर बस्नै सक्दैनन् । चाहे जायज कुरामा होस्, चाहे नाजायज कुरामा । उस्ले रातभर सोची । र, विमललाई त्यहीं रात सम्झाई । र, निर्णय गरी 'लोग्नेलाई समाजमा मर्द भएको प्रमाणित गरेरै छाड्ने ।'

विमल र प्रियाको विवाहबाट कति पनि आफु असुरक्षित भएको महसुस गर्न पनि अपराध जस्तै ठान्थी । सन्तान नभए पनि पतिको लागि आदर्श पत्नी बनेर बस्ने उस्को मनको धोको मरेको थिएन । जे भएपनि एउटै आमाको गर्भबाट जन्मिएकी वहिनीलाई आफ्नै लोगने संग आफैले विवाह गरिदिदा जीवनको उत्तर्रार्धमा झन् सुरक्षित हुने मीठो सपना साँचेकी थिइन् ।

प्रत्येक बर्षो साकेला उभौलीको बेलामा विमलले उस्लाई संगै लिएर जाने गरेको थियो । प्रीयालाई विवाह गरेको केही बर्ष सम्म त तीनै जना सप्तरङ्गी पार्कमा रमाइलो साकेला मनाउने गरेका थिए । बहिनीको गर्भ राम्रो बसोस् भनेर उस्ले बुढासव्वा मन्दिरमा रातोभाले चढाएकी थिइन् । पुजारीले भालेको कलेजो हेरेर भनेको थियो, घरमा सुख शान्ति छाउने छ । दुखका ग्रहदशा सबै खत्तम हुने छन् ।

साच्चै नै विवेक जन्मदा सवै भन्दा खुशी त सोनुलाई भएको थियो । उस्ले तत्काल हल्ला गरेर सारा छिमेकीलाई सुनाएकी थिइन्, 'विमलको छोरा जन्मियो' भनेर । उस्ले अंगालोमा बाँधेकी थिई विमललाई हर्षे रुदै । निर्दोष मन, आदर्शले भरिएको थियो । ऊ अहिले यी सव कल्पना गर्नै सक्दिनन् ।

'निःसन्तान भएर के भोर - कान्छी वहिनी (सौता) पट्टि जन्मेको छोरा विवेक छदैछ नी ।' ऊ यस्तै सोचेर समयलाई लगाम लगाउने प्रयास गर्थी ।आमामा हुने सम्पूर्ण प्रेम उस्ले विवेक माथि खन्याएकी थिइन् । यही कारणले पनि विवेकले सोनुलाई संधै आमा, मम्मी भनेर सम्बोधन गर्दै आएकाे छ । र, प्रियालाई चाही 'प्रिया' नै भनेर बोलाउदै आएको छ ।

सोनु र विवेक वीचको आपसी मेलजोल हिजो आज प्रियालाई अप्रीय लाग्न थालेको छ । विवेक निकै सानो हुदा सोनुले साँच्चैको आमा वन्न नसक्नुको पीडा बोकेर कहिलै नगानिएका दुधहीन बाँझो स्तन विवेकलाई खुवाएर आफूलाई शान्त पार्ने प्रयास गरेकी थिइन् । 'शायद मेरो वच्चा भएको भए पनि यसरी नै मैले आफ्नो दुधको धाराले नुहाइदिन्थें.............।' ऊ यस्तै सोचेर विवेक प्रति जवर्जस्ती मातृवात्सल्य पोखाउथी । तर आमाको स्तनबाट अमृतरुपी दुध नआएपछि टाउको फर्काएर कयौं पटक रोएको क्षण संझदै विवेकलाई हेर्थी शुन्य मन र आँखाले ।

राती कोठामा एक्लै छदां ऊ आफ्नो पेट सुम्सुम्याउछे विस्तारै । त्यहाँ एउटा व्रमाण्ड भए पनि शुन्य मात्र पाउछे । गर्भधारण गर्न नसक्ने पेट र शुन्य व्रमाण्डमा केहि फरक छैनकी जस्तो गरेर कोल्टो फेर्छे चित्त बुझदैन । कुनै समय विमल सुत्ने गरेको न्यानो विस्तरा तिर हात फैलाउछे । तर चिसो र शुन्य मात्र पाउछे । साच्चै तनाव छाएको छ सोनुको मन मस्तिष्कमा आज राती । उस्को स्थान अहिले प्रियाले लिएकी छिन् । उस्ले पाउने माया प्रियाले पाएकी छिन् । यर्सथ पनि विमल उस्को अंगालोमा बाँधिन आउदैन । विमल आजकल नत पहिले जस्तो मायाको भोको आँखाले हेर्ने चेस्टा नै गर्छ । सहबास नगरोस् तर मायाको मीठो बचनले बोल्न त सक्थ्यो नी । एक प्रकारले सम्बन्ध बिच्छेद भएको जस्तै व्यबहार विमलले देखाउदा सोनुको मन खिन्न हुन्छ । संझन्छे, विमल संगका रमाइला दिन र रातहरु । हङ्कङ र बुरनाइ घुमेका क्षणहरु । चखेवा चखेवी झै यायावर बनेर माया प्रीति साट्दै घुमेका समयहरु ।

जति गर्दा पनि चित्त नबुझे पछि सोनु जुरुक्क उठ्छे विस्तराबाट र आफ्नो विस्तरा छेउमा रहेको फुटेको ठूलो ऐना अगाडि ठिङ्ग उभिन्छे, भित्तामा टाँगिएको टङस्टेन बत्ती बालेर ।

'गर्भधारण गर्ने क्षमता साच्चै म भित्र छैन - के म अनाकर्षक छु र - नारी शुलभता म भित्र रत्तिभर छैन -' ऊ आफुले आफैलाई मुल्याङन गर्दै जीन्दगीको कठघरामा उभ्याउछे ।

उमेर ढल्किएको छैन सोनुको । शारीरिक बनावट उत्तिकै चुस्त र कस्सिएको छ । तै पनि विमलको लागि ऊ बगरमा फालिएको कौडी सरह बनेकी छे । कोल्टे फेर्छे आँखाबाट नुनिलो आँसु चुहेर ओठ सम्म आउछ । मध्यरातमा तिर्खा लाग्छ । जुरुक्क उठेर पानी पिउछे तीर्खा मेट्न । पानीको तिर्खा त मेटिन्छ तर जीवनको तिर्खा र मायाको भोक मेट्ने उपाय नास्ती ।

जीवनको उडानलाई सुखद मैदानमा अवतरण गर्ने उपाय खेाजी रहेकी छे मनमनै । सदा भै मध्य रातमै विवेक आफ्नो आमा प्रीया र वावा विमलको वीचबाट उठेर आँखा मिच्दै सोनु भएको अर्को कोठामा 'मम्मी' भन्दै आएर काखमा लुटपुटिदै सुतेको छ । विबेकको उपस्थिति उस्का लागि अपूर्व खुशी र आनन्दको क्षण बन्छ । विहान विउझदा विवेकलाई आफूसंगै पाउछे । पति र वहिनीको माया नपाए पनि नजन्माएको छोराको अबोध माया पाउदा खुशीको आशु आँखाबाट अचानक खस्छन् । अर्को कोठामा विमल र प्रीया मस्त न्रि्रामा छन् । गलेर लखतरान भए झैं पल्टिएका छन् । तै पनि यस्तो दृष्यले उस्लाई कुनै इष्र्या जाग्दैन । मनमा वितिष्णा पलाउदैन ।

आजको यात्रा उस्ले फेरि शुरु गर्नु पर्छ, विवेकको अवोध मुस्कानबाट । यर्सथ पनि ऊ भित्र निराशा पलाएको छैन । तर मानसिक द्वन्द्व जारी छ । विवेकको मुस्कान, पति र आफैले सौता बनाएर भित्राएकी वहिनीको तिरस्कार वीच आफूलाई तुलना गर्दै यात्रा सुरु गर्छे वहानको सूर्योदय संगै ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।