जन्मघर जाँदा

-जगत नवोदित राई
लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडा सँगको मेरो भेट करिब एक दशक पछीको थियो यो। रहरलाग्दो टिन एजको अन्तिम खुट्किलामा म हिड्दै गर्दा हिंडेको थिए लाहुर यही बाटो भएर। त्यतिबेला छोडेका साना साना नानीहरु बढेर चिन्नै नसकिने भई सकेछन । तर धन्य प्रमिला बहिनिलाई मैले चिने, उन्ले पनि भुलेकी थिईनन रहेछ। “अबुइ! जगत दाजु एक्लै! खोइ त भाउजु ?” तिनले पहिलो नजरमै प्रश्न तेर्साइन। भन्ने हो भने यो प्रश्नको जवाफ मैले कतिलाई कसरी कसरी दिए आँफैलाई थाहा छैन । नढाटी भन्ने हो भने मैले जीवनमा सबसे धेरै फेस गरेको प्रश्न पनि यसै सँग सम्बन्धित छ। ठटेउली गर्दै भने-” कहाँ एक्लै हुने नि, मेरो साथ् बाबा हुनुहुन्छ, ठुलिदिदी नि हुनुहुन्छ अनी थाहा छ मेरो भान्जी नि छ। अब भाउजु नै खोजेको हो भने चाही उहा घरमा खाना पकाएर देवरको बाटो हेरीरहनु भको होला। ” मेरो कुराले उनी अवाक्क भईन शायद। अरु कुरा छोडेर हाम्रो लागि खाजा बनाउन पट्टी लागिन ।

प्रमिला बैनिको यो घर हाम्रो लागि होटेल जो लामिडाँडाको लागि एकदम प्रचलित थियो, अहिले पनि रहेछ । फरक यती पाए उतिबेला सासुमाले सम्हालेको जिम्मा अहिले बैनी जो घरको बुहारीमा आईपरेको रहेछ । खाजा खाएपछी हामीले लामिडाँडालाई चाडै छोड्नु थियो र लाग्नु थियो हलेशी महादेवको दर्शन गर्न।

हामीसँगै जानेमा थपिए फ्रेन्च नागरिक अन्ना र भारतीय नागरिक निकेश। हामीसँग यात्राको लागि दुइ किसिमका उपायहरु थिए। एक -साझा बसमा मौरे सम्म जानु र दिक्तेलबाट आउने हलेशी जाने साझा बस पर्खनु। दोस्रो- सोझै गाडी रिजर्ब गर्नु र आफ्नो गन्तब्यमा हुइकिनु। दोस्रो बाटो हामीले समात्ने निर्णय गर्यौ । तर दुर्छिमे ड्राइभर रमेश भाईले सुरुमा दोब्बर सुल्क सुनाएर मनै झन्डै परिवर्तन गराइदिए। जे होस् रमेश भाईले त्यही दिन हलेशी पुर्याएर दिक्तेल फर्काउने सर्त आठ हजार रुपयामा स्विकारे। त्यसपछी सुरु भो हाम्रो गाडीमा यात्रा । बाबा गाडीको अगाडि बस्नु भयो बाँकी हामी पछाडि बस्यौ। गाडीको पछाडि सिट्को एक साइडमा ठुल्दिदी इमान, भान्जी आईरिस र म अनी अर्को पट्टी अन्ना, निकेस र मौरेसम्म जाने बुइपाली दिदी हुनु हुन्थ्यो। गाडी गूड्न मात्र सुरु गरेको बेलामा खलाशी भाईले गाडी रोक्न ढोका ढक्ढक्यायो। नभन्दै एकजना राष्ट्रिय पोशाकमा सजिएका मोटो मान्छे आँखा अघी हाजिर थिए। उनले सरासर गाडीमा जिउलाई भित्राए। ठाउँ उसै पुरा भईसकेको त्यसमाथी मोटो ज्यानलाई कहाँ हुने खाली ठाउँ ? त्यही पनि कती अफटेरो नमानी मेरो छेउमा घुस्रिए ।” मलाई छोडेर कहाँ हिंड्न लागेको?” उल्टो ड्राइभर भाईमा खनिए उनी।ड्राइभर भाईले केही नबोली गाडी चलाउन सुरु गरे। मैले पनि केही बोल्ने मन गरिन। जसै गाडी चल्न सुरु भो हाम्रो ज्यान उफ्रन सुरु भो। खाल्डाखुल्डी, सागुरो, भिरालो र अत्यन्तै जोखिम खाल्को बाटो देखेर सब कुरा हराम भो। यस्तो असजिलो समयमा पनि उनले धेरै कुरा गर्न भ्याए। चिन्जान भो। उनले आफ्नो गाउँदेखी काठमाडौं सम्मको औकात सुनाए, केबल एक फोनको भरमा सब काम हुने बयान समेत बताउन भ्याए।यो सब कुरामा मलाई कती रुची थिएन। बस मनमा सोचिरहेथे- यिनको ज्यानले मलाई सकस नदिए यो लामो यात्रा अली जाती हुने थियो । दिदि पनि भान्जिलाई चेपेर असजिलो भईरहनुभको थियो। तर बोल्न चाँही केही बोल्नु भएको थिएन।

मौरेमा गाडी पुगेपछी बुइपाली दिदी ओर्लनु भो र ति महासय नि बिदै नमागी आफ्नो बाटो लागे। कसो कसो अनौठो लाग्यो। गाडी अगाडि गूड्न सुरु भए पछी रमेश भाईले भने-”के गर्नु अघी नि सितैमा चढेर गको। अस्ती हुदोको नि बाँकी छ। खाली सितैमा चडने बानी भको। सामन्ती प्रबितिका मान्छेहरु देखी कहिले मुक्ती नपाईने रहेछ। ”

देख्दाको महासयको बानी हेर्दा ड्राइभर भाईको कुरा पत्याउन लाएक थियो। तर मलाई बोल्न मन लागेन। हामी जती जती हलेशी तिर नजिकियौ, दिन उती उती रिसाउदै कालो हुँदै गयो। कुहिरोले ढाकेर बाटो छेक्न थाल्यो। घामले अनुहार कतै देखाउन सकेन। बाटो झन साह्रै भिरालो हुँदै आयो। ओ हो कस्तो साइत परेछ आज -मनमा नमिठो लागेर आयो। पानी पर्ला पर्लाको परिस्थिती भोग्दै हामी अघी गूडिरहयौ।

मालथुम्की डाँडाको छेउमा बाटो रहेछ भिर । त्यस माथी ढुङ्गाको पहाड फोडेर बाटो बनाइएको रहेछ। त्यस अफ्ठेरो ईलाकामै रमेश भाईले जिप रोके। सुरुमा त कारण थाहा नै भएन। एक्छिन पछी भने थाहा भो उनले हातमा धुपबत्ती बोकेर गाडी बाहिर निस्किए । बाटोको अली माथि उक्लिए, उनले नियमित पूजा गर्ने ठाउँ रहेछ त्यो । ड्राइभर भाईको प्रार्थना पुरा भए पछी भने हाम्रो यात्रा फेरी अघी बढ्यो।मालाथुम्की डाँडा काटेर अर्को डाँडा ननाग्दै हातमा किताब बोकेका केही स्कुले नानीहरुले बाटोको छेउमा उभिएर हात हल्लाइरहेका थिए । उनिहरुको सन्केत गाडी रोक्ने थियो । पानी आउनै लागेको त्यो बेला उनिहरुलाई छोड्नु हाम्रो मनले मानेन। चेपाचेप नै भए पनि हामी यात्रा गर्ने परिस्थितीमा पुग्यौ ।एस् एल सि को फलामे ढोका पार गर्न जाच दिरहेका ति तीन जना नानीहरुसँग ड्राइभर भाईको अली अली चिन्जान रहेछ । आखिर उनी पनि परे त्यही गाउँको ।

स्कुले नानीहरु सँग कुराकानी गर्दा थाहा लाग्यो अर्को दिनको परिक्षाको बिषय रहेछ- जन्सङ्ख्या र बातावरण । मलाई जिज्ञासा लाग्यो- साची अहिले नेपालको जनस्ङ्ख्या कती पो छ?
“खोइ हामीलाई त थाहा छैन दाई “- अली बोलक्कड बहिनिले बोलिन। “हैन यती प्रश्नको जवाफ नदिनेले भोली के परिक्षा दिन्छौ हौ ?”- ड्राइभर भाईले सोझै कुरा राखे।“उतर सबै जान्न जरुरी छैन दाजै,सरहरुले नै आएर सिकाउनु हुन्छ”- अर्की बैनिले नढाटी खाटी कुरा सुनाइन।

सरहरुले नै सिकाउने त्यस्तो परिक्षाको अर्थ र त्यसमा पास हुने बिधार्थीको महत्व कती होला मैले मन मनै सोचे |सरहरुको बारेमा नकारात्मक टिपणी गर्न नि सकिन कारण मलाई क,ख सिकाएर ३५ बर्ष शिक्षक जीवन गुजार्नु हुने मेरा पूजनिय बाबा हाम्रो सम्बाद सुनिरहनु भएको थियो। म बालक छदा बाबाले सिकाउनु भएको गुरुहरु प्रतिको श्रद्दा म कहिले भुल्न सक्दिन। जीवनको उज्यालो बाटो देखाउने गुरुहरु मेरो लागि सधैं नै आदर्णीय हुन्छन।

जब गाडी हलेशीथान नजिकै रोकियो तब सबै जना ओर्लियौ । स्कुले नानीहरु गाडीको भाडा तिर्न खोज्दै थिए। “लु!आजको यो भाडाले चाँही तिमीहरुले खाजा खानु है !अनी परिक्षा राम्रो गर्नु”- मैले बोले।उनिहरु धन्यवाद बोलेर बिदावारी भए । सहयात्री राकेश र एन्ना पनि एउटा फोटो खिचेर हामी बाट छुट्टिए । ड्राइभर भाई र उस्को साथीलाई एकै छिन छोडिराखेर हामी भने लाग्यौ भगवानको दर्शन गर्न। मुख्य द्वारको बाहिर पट्टी फूलपाती, धुपपाती बेच्नेको लाम रहेछ। भगवानको बास छेउमा उनिहरु बिच चल्ने ग्राहक तानातानको खेल हेर्न लाएक थियो।

रु १ दिएर ८० पैसा चानचुन पाइने रहेछ। गजब नै लाग्यो । मैले रु ५ को नोट दिएर ४ रुपया चानचुने पैसा बोकेर भगवान दर्शन गर्न छिरे। हलेशीथानलाई एक फन्को मारेर गाडी छेउ पुग्दा साँझले बास माग्न थालिसकेको थियो। हामीले हलेशी छोड्दा झमकै साँझ परिसकेको थियो। हामी जती जती दिक्तेल भेट्न अघी गूड्यौ रात उती उती रिसाउदै कालो कालो बन्दै आयो। रात आफु मात्र रिसाएर आएन आउँदा आफुसँग कालो बादल पनि लिएर आयो । मौरे छेउ पुग्ने बेलामा त असिनासँगै पानी पनि दर्कियो । खलासी भाईले हतार हतार छानाको झोला भित्र हुले। ड्राइभर भाई बोल्यो- “भगवानले नुहाउनु भो “, हामीले सहमती जनायौ ।

पानी दर्किरहयो र हाम्रो गाडीको पाङ्ग्रा पनि अनवरत चलिरहयो। मौरे पुग्दा पानी रोकियो तर बाटो पुरै हिलाम्य भई सकेको थियो। मौरेको जाडो रातमा तातो चियाको सुर्को तानेर हामी फेरी दिक्तेलको बाटो लाग्यौ। नुन्थलाको जङ्गल काटेर मुढे डाँडा पुग्दा दिक्तेल बजारमा टिल्पिल टिल्पिल बत्ती बलिरहेको देखियो। मन दङ भयो । आफ्नो जिल्लामा गाडी चढेर बिजुली बत्तीको उज्यालो देखेको यो पहिलो अवसर थियो मेरो । मन यसै फुरुङ भएर आयो । तर मुढे डाँडामा पहिले पहिले पिईने ईन्द्रकला बैनिको तातो चिया भने उस दिन पाईएन। कारण गाडीको बाटोले त उन्को दोकान नै बाइपास गर्दो रहेछ। हामी दिक्तेलको रत्नपार्कमा ओर्लदा घडीले १० बजेको सुचना दिसकेको थियो । त्यती अबेरसम्म पनि बाबा, भाई, बहिनी र भान्जिको मायाले दाई बाटो हेरेर बसिरहनु भको रहेछ। दाइले बासको प्रबन्ध होटेल फुयालमा मिलाउनु भको रहेछ। थाकेको ज्यानले सिर्फ आराम खोजिरहेको बेला राम्रो बिछयौनामा पल्टिना साथ् निन्द्राले छोपीहाल्यो।

रात बित्यो र समय क्रमसँग उज्यालो बोकेर बिहान् आयो । बिहानिसँगै मेरो दिक्तेल माया बोकेर आँखा अघी आयो । तर दिक्तेलको रुप पहिले जस्तो थिएन बिच बाटोको ताकिलहरु सब भत्काएर बिच बजारबाट गाडी हिंड्ने बाटो बनाइएको रहेछ ।

ठाउँ ठाउमा गाडीको पाङ्राले बनाएको गहिरो डोबले मलाई दिक्तेलको आङ भरी घाऊ नै घाऊ लागेको प्रतित भो ।दिक्तेलको रुप बद्लिए पनि मलाई माया गर्ने धेरैको मन बद्लिएको थिएन । बिहानिको चिया खाँदै गर्दा सागर दाईसँग भेट भो । माउन्ट एभरेस्ट जस्तो प्रतिष्ठित बोर्डिङ स्कुलको प्रिन्सिपल सागर दाई मलाई चिने देखी भाई झै व्यबहार गर्नु हुन्छ । त्यो व्यबहार दसबर्ष पछी पनि कतै बद्लेको थिएन। तर उहाको शरीर भने निक्कै बद्लिएछ । उ बेलाको लुते सागर दाई अब त मोटे सागर दाई हुनु भएछ। जिल्लाको धेरै बिषयमा उहासँग कुरा भयो, छोटो बसाईमा । दिउसो-बाबाको पुरानो नागरिकता नयाँ बनाउनु थियो । बाबालाई अघिल्लो दिन गाडीको उचाल्ने र पछार्ने यात्राले निक्कै गलाएको थियो , उसो भएर मैले नै उहाको काम गर्न जागरुक बने । सरकारी कार्यलयमा पुगेर सम्बन्धित कारीन्दासँग बुझ्दा त काम उसदिन हुन नसक्ने बुझियो । म यसो फर्कन लागेको दिदी चन्दा टुप्लुक्कै देखा पर्नु भो । चन्दा दिदी मेरो ठुल्दिदिको सहपाठी दिदी- मलाई सानै देखी माया गर्ने दिदी भेटेर खुशी लाग्यो । उहाको अनुहारमा पनि आस्चर्यको खुशी भाब देखे। दिदी त त्यही नै काम गर्ने कर्मचारी हुनुहुँदो रहेछ, भलाकुसारीमा उहालाई मेरो समस्या थाहा भो। तुरुन्त सम्बन्धित बिभागमा मेरो कामको लागि उहाले बोल्नु भयो। मेरो कामको फायल अघी बढ्यो ।दिदिले चिया मगाउनु भो। आफ्नो साथीहरुसँग चिनाउनु भो अनी यसो नि भन्नु भो – “मेरो भाई त लाहुरे भएर पनि जस्ताको त्यस्तै रहेछ। किन आज सम्म एक्लो ?” म सँग खाट्टी उतर थिएन सिर्फ मुस्कुराए। कुरा बुझ्दै जाँदा स्कुले साथी सिताराम र शान्ताकुमार पनि त्यही कर्मचारी रहेछन । एक किसिमको गर्ब भयो । “यहाँ हाम्रो हाकिम भएर बस्नु पर्ने मान्छे लाहुरे भएर किन गएको ?” सहपाठी सितारामले मनको कुरा खोले। फेरी पनि म सँग खास उतर थिएन । बस मुस्कुराए ।

सब चिन्जानको भएपछी त मेरो काम सोचे भन्दा धेरै नै छिटो भयो । काम सकी सबैसँग बिदा भएर होटेल फर्कदा मन्मनै सोचे- “नेपालमा कर्मचारी नचिनी काम सरासर हुने समय कहिले आउँला । सोझा सिधा जनताको लागि सरकारी काम कहिले सजिलो होला।”

होटेलमा पुग्दा शान्ता बैनी साथीहरुसंग भेट्न भनेर आएकी रहिछिन । नयाँ कवी,कवयित्रिहरु,पत्रकारहरुको सानो हुद्दासंगभेट हुँदा म नौलो अनुभुतीले छोइए। सिर्जन्सिल मनहरु मेरो लागि आँफै आफन्त लागेर आउछन । उनिहरुको उभार, जिज्ञासा र जागरुकता देखेर मेरो धराने दिनहरु जीवन्त भएर आए। उनिहरुसँग आत्मियता गासियो र फेरी भेट्ने गरी हामी छुटियौ ।

होटेलको कोठामा प्रबेश गर्दा थाहा भो बाबा र भेना मलाई कुरिरहनु भएको रहेछ । उस साँझ ठुल्दिदिको घर जानुपर्ने निम्तो थियो । निम्तो सकेर बिहान् होटेल फर्कदा रुपाकोट एफ एम का निर्देशक टङ्क थापा सँग भेट भो । उहा उमेर र अरुपनी कती कुराले म भन्दा जेठा भए पनि हामी बिच मित्रताको भावना सबसे बलियो छ । चिया खाँदै उहाले सामुदायिक रुपाकोट एफ एम को बारेमा धेरै जानकारी गराउनु भो।

नेपाल भरिको सामुदायीक एफ एम रेडियोहरुमध्ये उत्कृष्ट स्टेशनको रुपमा रुपाकोट एफ एम पुरस्क्रित भएको थाहा पाउदा मन खुशीले आल्हादित बन्यो। यो प्राप्तीसँग धेरैजनाको दु:ख जोडीए पनि मुख्य दु:ख स्टेसन म्यानेजर टङ्क थापाको देखे । उनी जस्तो सिर्जन्सिल युवाको अभाब आजको हाम्रो समाजलाई सबसे धेरै छ । दिउसो उही एफ एम मा अन्तर्वर्ताको लागि निम्तो गरेर टङ्कजी बिदावारी भए । फुयल दाइको त्यो होटेल भन्ने हो भने धेरैको जमघट हुने थलो रहेछ। अब होटेलमा जिल्लाका नाम चलेका नेताजीहरुको हुल आयो। हुल सँगै साहित्यकार बिष्णु आभुषण आउनु भो । धेरैको लागि उहा नेता भए पनि मेरो लागि चाँही साहित्यकार हो । हामी बिच साहित्यको नाताले नै दाजु भाईको दरिलो सम्बन्ध भएको छ। जिल्लाको साहित्यिक बातावरणको बारेमा बताउनुको साथै आगामी दिनको योजना समेत सुनाउनु भो । राष्ट्रिय बाङमय प्रतिस्ठानको लागि भवन निर्माण गर्ने उहाको सोच भने मलाई एकदम राम्रो लाग्यो।

मध्यदिन हुन पूर्व हाम्रो सल्लाह मुताबिक टङ्कजीसँग भेट भो शहिद मनोज जोशीको घर अगाडि अनी हामी हानियौ रत्नपार्क तिर। बाटोमा साथीहरु भेटिए र यसै क्रममा कबी जे पि फिरन्ते सोल्मा जाने बाटोको घुम्तिमा भेटिए । उनले साहित्यकारहरुको मीटिङका लागि निम्तो समेत दिए। टङ्कजी र म भने सबै सँगको भेट्लाई सक्दो कम गर्दै छिटो छिटो बाटो काट्ने प्रयासमा थियौ । टङ्कजी भन्दै हुनुहुन्थ्यो “अहिले बिजुली जान्छ अनी हाम्रो योजना नै पुरा हुन्न ।” साँच्चि नभन्दै हामी बिजुली गएकै समयमा रुपाकोट एफ एम को कार्यालयमा पुग्यौ । अन्तर्वार्ता लिन कार्यक्रम संचालक भिम राइ तयारी भएर बस्नु भको रहेछ तर बिजुली नै नभए पछी बेहुलाबेहुली बिनाको बिहे जस्तो भो । तर बिजुली नभको त्यो मौकामा अरु साथीहरु सँग कुरा गर्ने मौका मिल्यो । अर्की कार्यक्रम सन्चलिका बैनी सम्झना भुजेलले अतितमा रेडियो नेपालमा सुनेको मेरो अन्तर्वार्ताको सम्झनै सुनाउनु भो । रेडियो कार्यक्रम प्रती बहिनिको लगाब सुनेर लाग्यो तिनी रेडियो प्रस्तोताकै लागि सही मान्छे हुन।

भाग्य बलियो रहेछ हाम्रो आश मरेको बिजुली आयो अनी भटाभट अन्तर्वार्ता नि रेकर्ड भयो । भिमजीका प्रश्नहरु गर्हौ र सापेक्षिक थिए । म सक्दो हलुका नबनी सान्दर्भिक उतर बोले। अन्तर्वार्ता सकियो र बिजुली नि गयो, कस्तो सम्योग!

अन्तर्वार्ता सकेर होटेल पुग्दा बाबा आफ्नो जागिरे जीवनका सहयात्री बाबुराम सर सँग कुरामा मग्न हुनुहुँदो रहेछ। बाबुराम सर मेरो प्राथमिक कालको गुरु जस्लाई आफ्नो अघी पाएर म एक्चोटी फेरी बालक विद्यार्थी झै भए। उहाहरुको साथ म संलग्न हुँदै गर्दा नै बाहिर कसैले “जगत दाई” भनेर बोलाएको नारी स्वर सुने। ढोका बाहिर हेर्दा थाहा लाग्यो बहिनी बिमला केयर्लेस आएकी रहिछिन। बैनी एक्लै आईनन । उनी आउँदा पाईला भरी साहस, मन्भरी आट अनी आँखामा झरिलो विश्वाश बोकेर आइन।

“दाई आउनु हुने कुरा थाहै भएन । म त घर गएकी थिए । बल्ल अहिले आउँदै छु । ल कती दिन बस्नु हुन्छ? अब एउटा कार्यक्रम हामी आयोजना गर्छौ ।” बहिनिले एकाएक आत्मियता पोखिन ।”मेरो नि छोटो छुट्टी सबै कुरा गर्न भ्याको छैन। हप्ता दिनको लागि आको । तीन दिन त बिती सक्यो। खोइ!कार्यक्रम गर्न त समय मिल्ला र?”- मैले सङ्का गरे।

“किन नमिल्ने दाई । म सब ठीक गर्छु ।” – बहिनिको आवाजमा विश्वाश थियो । एउटा आगो जस्तो रापिलो जोश छोडेर बैनी बिदा भइन ।दाई बिहानै एस एल सि परिक्षा निरिक्षण गर्न उभोखोला लागि सक्नु भको थियो। बाबुराम सर पनि बिदा हुनुभए पछी बाबा र म घर हिंड्ने तर्खरमा थियौ । झोलितुम्ली बोक्न होटेलका काइला दाइले एउटा भाई खोजी दिनु भको रहेछ ।

घरको आगनी टेक्दा घामले मेवा खोलाको साघु तरेर सेरा खेतको आधी बाटो उकालो चडदै थियो । घरको चुला चौकामा मनले आमा खोज्यो । आमाको ठाउँ भाउजुले सक्दो आत्मियताले भर्दै जानु भएको रहेछ। आमाले रोपी जानु भएको सुन्तलाको रुखहरु पनि बुढो हुँदै गएछन । भाउजु भन्दै हुनुहुन्थ्यो- “यस्पाली त सुन्तला राम्रो फलेन ।” सबै भन्नु समय त रहेछ नि। कुनै बेला त्यही सुन्तला बोटै थेग्न नसक्ने गरी फल्थ्यो, अब बिस्तारि नफल्ने हुँदै गईराछ र समयको कुनै घडी सुन्तलाको त्यो बोट त्यहा हुने छैन ।

मनमा जता जतै आमाको अभाब खड्किए पनि स्वेच्छा र प्रज्ञा छोरीहरुले मेरो मनलाई सक्दो बहलाई रहे। स्वेच्छा कम बोल्ने भए पनि कान्छी प्रज्ञा त ठट्टा गर्न समेत सिपालु रहिछिन।भोली पल्ट गाउँ भरिका बाजेबजुहरु,बडाबडिहरु, काकाकाकिहरु, अनी स-साना नानीहरुलाई भेट्ने मौका मिल्यो । समकालिन दौतरीहरु गाउँमा बाँकी रहेनछन । कोही बिहे गरेर माइत गाउँ छोडेछन, कोही जागिर गर्न शहर पसेछन, धेरै चाँही ईलम खोज्दै पर्देश गएछन। गाउँ पहिले जस्तो रमाइलो लागेन मलाई ।
तर गाउँको औधी माया लागेर आयो । कहिले छोडेर नजाउ अनी गाउँमा केही गरु जस्तो पनि लागेर आयो। भोली पल्टको दिन घरमा गन्थन मै बित्यो । केही गाउँले दाजुभाईहरु सँग भलाकुसारी गर्दै अनी घरमा भाउजुले तयार गर्नु भको घर तरुल खाँदै चैत्र महिनाको त्यो अन्तिम दिन तिर हामीले माघे सन्क्रान्तिलाई सम्झियौ ।

भोली पल्ट टिकेट्को चाजो पाजो मिलाउन दाई र म दिक्तेल उक्लियौ । टिकट सेल गर्ने पसल पुग्नु अघी मेरो अतितको मिल्ने साथी दीपेन्द्रको पसल आयो । दीपेन्द्रको ड्याडी मेरो अंकल पसलमा बसी रहनु भको रहेछ । “अंकल नमस्ते! कस्तो छ तपाईंलाई? अनी खोइ त आन्टी ?” मैले धेरै प्रस्न गरे एकाएक। अंकल निधार खुम्चाएर एकाएक भाबुक भन्नु भयो । “आन्टी त यो संसारमा छैन बाबु !”
अनपक्षित अंकलको कुरा सुनेर म छक्क परे । एक प्रकारको गहिरो शोकले मन छोयो । कस्तो अभरो छ यो जीवन? अंकलले बोलेको कुरा झुटो भए हुन्थ्यो भएर आयो तर सत्य तितो थियो । दीपेन्द्र जीवनलाई पछाउदै जापान पुगेको त थाहा थियो तर उस्को जीवनको यो दु:खद दुर्घटना मलाई थाहा थिएन । आन्टिले कती चोटि स्कुल बाट भोकाएर आउँदा खाजा बनाएर खुवाएको, छोरालाई जस्तै माया गरेको खुब याद भयो । सोच्दै नसोचेको त्यो खबर सुनेपछी मन दुखी बन्यो । अंकलले चिया खाएर जाउ भन्नु हुँदै थियो, खाने सब इच्छा मरेर गयो ।टिकट काउन्टरमा जाँदा उस्तै मन अमिलो भयो । अर्को २ हप्ता दिन सम्मको लागि नियमित उडानको टिकट पाउने कुनै सम्भावना थिएन। । अब के गर्ने होला भनेर एक्छिन त म बिचार सुन्य नै भए। तर जसो तसो २ घण्टा सम्म कुर्दा चाटर्ड फ्लाइटको टिकेट मिल्ने भयो । दु:खको कुरा उडानको दिन भोली पल्ट थियो । केही अरु दिन बस्ने योजना भए पनि हामीसँग बिकल्प थिएन । यसैले दाजुभाई सल्लाह गरेर बाबा र मेरो लागि भोली पल्ट बिहानको लामिडाँडा काठमान्डौको लागि टिकेट लियौ।

बिमला बहिनी र साथीहरु बसेर साहित्यिक भलाकुसारी गर्न धेरै मन गरे पनि समय अभाबले गर्दा सकिएन। हतार गरेर दाई र म घर झर्यौ । तर झर्दाझर्दै सानैमा पढेको सारदा प्राथमिक स्कुलको प्राङ्गण टेकेर झर्यौ । स्कुलको नयाँ भवन बनेछ तर पुरानो भवन आधी भत्केछ । भत्किएको भवन कै सम्झना फोटो खिचेर हामी हतार घर झर्यौ ।

हामी चाडै फर्कने कुराले भाउजु कती पनि खुशी हुनु भएन।”यस्तो हतारो थियो त नआएकै बेस-” भाउजुको दुखेको मन बोल्यो।”म अर्को चोटि अली समय दिने गरी आउछु भाउजु । सानो मन नगर्नु न ल “- मैले सक्दो सम्झाए।

दिक्तेल देखी लामिडाँडाको लागि गाडीको ब्यबस्था भए पनि दिक्तेल सम्म त पुग्नु नै थियो। लामिडाँडाको ९ बजे एयरपोर्ट समयमा पुग्न दिक्तेल बिहान् ४ बजे नै पुग्नु थियो । यस्को लागि घर देखी २ बजे हिंड्नु थियो । बिहानै भाउजुले साइतको लोहोटा मुल्ढोकामा सजाउनु भएको थियो। हामीलाई दिक्तेल सम्म पुग्न अन्तरे काका, उहाकै छोरा दयाराम र दाजु ज्ञान साथै जानु भयो । दिक्तेलमा गाडी चढेर जब मुढेको उकालो लाग्यौ, मिर्मिरे उज्यालो भुइमा बिस्तारै झर्दै गयो ।

दिक्तेल आउँदा हामीलाई अध्यारो रातले घेरेको थियो अहिले दिक्तेल छोड्दै गर्दा उज्यालोले ढाक्दै आईरहेको थियो । समय कै खेल त रहेछ जीवन । धेरै काम भएर पनि अधुरो झै लगिरहेथ्यो मेरो जन्मघरको यात्रा । सम्झे – दोर्पामा मावली गाउँ जानै भ्याईन, कमला मेडमको घर जाने निम्तो पुरा गर्नै सकिन, सरस्वती स्कुलका सरहरुसँग भेट गर्ने मौकै मिलेन , बैंक चोकका कमल दाई सँग गफिने मौकै मिलेन आदी आदी । सोचे- ओ हो यो जीवन अपूर्ण छ , अधुरो छ । गाडी बिस्तारै मौरे तिर हाकिदै थियो । गाडीमा ड्राइभर दाईको रङरसे गीत घन्किरहेको थियो तर म भने मेरो भाउजु पुष्पालाई खुब मन पर्ने गीत सम्झीरहेको थिए । भाउजुले मलाई एक्चोटी गाएर नै यो गीत सुनाउनु भएको थियो -

” जिन्दगी यो फुल फुलको थुङा हुँदैन
उदाउने र अस्ताउनेको तुङ्गो हुँदैन”
गाडी हामीलाई बोकेर लामिडाँडा तिर हुइकिरहेको थियो, हुइकिरहेको थियो गाडी लामिडाँडातिर ……

पाँच रुबाई

विष्णु बैकुण्ठे
१.
केही नगर्ने कुरा जिवनभरीकै चाम्रो हुन्छ ।
विनाश्रृजना बाँझो बसे जिन्दगीकै काम्रो हुन्छ ।।
हत्या हिंसा र अहंकार छोडी सद्‍बुद्धी पाउन...
खाँट्टी कुरा चैं कमण्डलु बोके राम्रो हुन्छ ।।

२.
बार्हवर्ष जंगली भई बल्ल शहर छिरेका ।
नयाँ नेपाल बनाउन काँधमा बन्दुक भिरेका ।।
भएको त विगार्नेले के बनाउलान्‌ ? शं‍कै छ...
किनकी जुन जोगी आए पनि कानै चिरेका ।।

३.
बन हैन यहाँ घरको चरीलाई ।
धन छैन यहाँ अर्को थरीलाई ।।
गाँस भए बास हुन्छ जहाँ भए' नि...
तन गए यहाँ झर्को परीलाई ।।

४.
कहिले मनले फूलाउने त कहिले आफै फुल्ने डाली हुन्छ ।
प्रकृतिमा उतार चढाव भइरहनु सृष्टीकै बेहाली हुन्छ ।।
यहाँ सबै वेपकुफ भएकाछन् जहाँ म पनि ओभानो छैन...
चक्रमा कहिले सासूको त कहिले बुहारीको पाली हुन्छ ।।

५.
केराको हार मिलेका पूरै काहिँयो सजायौ केस्राले भएन ।
तन मन धन अनि गुनिलो रसिलो चाहियो फोस्राले भएन ।।
चाहेकैलाई सपनीमा देख्छौ तर विपनीमा अझै टाढा हुदैछौ....
अरु पनि त छन् नि यो दुनियाँमा तर तिमीलाई दोश्राले भएन ।।

सिंगापुर बस्ने छोरालाई नागार्जुनको पत्र

रबि भट्ट ‘रोषी’
दोहा, कतार
नेपालभूमिलाई रणभूमि बनाउन ठुलो योगदान दिने मेरो छोरो ।
तिमी सिंगापुर गएदेखि अलि अलि ढुक्क भएको मेरो मन फेरि केहि दिन देखि बिरक्तिन थालेको छ । नारायणहिटीमा ‘उ’ गरेपछि कपाल मुण्ड्याएर मेचमाथि बसेर श्रीपेच पहिरिएर म हजुरले तोपको सलामी खाँदै रैतीहरुबाट मोहर ग्रहण गरीबक्सेको हिजो जस्तै हो कि झैँ लागेर झलझली आँखामा नाचीरहन्छ । नारायणहिटीमा ‘उ’ गर्न त पछि परिएन भने प्रजातन्त्रलाई ‘कू’ गर्न के बाँकी राख्नु त नि भनेर ‘कु’ गरी टोपल्ने भएको १९ दिने जनआन्दोलनले त मलाई ‘चुँ’ पनि गर्न नदिईकन ‘फू’ गरेर घरको न घाटको बनाएर कन्तबिजोग बनाएर छोडिदियो । नागार्जुनदरबारको एट्याच बाथरुममा समेत आजकल त ‘सु’ गर्न पनि असुरक्षित अनुभव गरिरहेको छु ।

कहाँको नारायणहिटी दरबार कहाँको नागार्जुन घरबार । यो भन्दा त बरु बी.पी. लाई थुनेर राखेको सुन्दरीजल जेल नै राम्रो थियो होला । कम से कम त्यहाँ बी.पी. ले गौँथलीको चिरबिर सुनेर त अनेक काव्य रचना त गरेका थिए । यहाँ त बिहानै खालीपेटमा काग डुक्रिएर अशुभ प्रवाह गर्दै दिक्क बनाउन थालेको छ । फेरि पूर्व दरबार बाट के आदेश आउने हो भनेर मन त भक्याम्लाको डाली हल्लेझैँ हल्लिरहन्छ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्थे, अहिले त्यस्तै भईरहेको छ । जनताले सिंग फुकालेर ठूटो बनाईदिएपछि र दलहरुले पुच्छर निमोठेर ढुटो पारिदिएपछि पत्रकार साईंद्वाहरुले पनि हेपेर दिनदिनै पत्रिकाहरुमा मेरो ग्लानियुक्त रुन्चे र पिन्चे फोटो मात्रै छापीदिएर हैरान पार्न थालेका छन् ।

दशा पनि किस्ता किस्ता गरेर आए हुन्थ्यो नि लाम लागेर आउन थाल्यो । त्यो बेलामा कंस बनेर बंश पन्छाएर अंश हत्याएको एक रत्ति पनि फापेन नि मन्द बुद्धि छोरो । तुलसी बुढो संग त पुरानो अक्किल (अक्कल) छ भनेर श्रीलंका बाट झिकाएको उसले पनि केहि नापेन । शेर बहादुर पनि छोटो जिब्रोको मोरो गिलो बोल्ने, गिरीजालाई दुःख पोखेको त्यो त लोसे झन ढिलो बोल्ने, माधव नेपाल दरबार आउँदा ठिक्क बोल्ने दरबारमार्ग कट्ने बित्तिकै पेटको कुरो सबै खोल्ने । कमल थापालाई गृह जिल्ला मकवानपुरमा टिक्नै दिएन । तारानाथ रानाभाटलाई हात लिएको र..ट..ट र भ..ट..टले बिक्नै दिएन । मैनाली बन्धुलाई भित्र्याउन त खोजेको हो उ पनि बोलीको भर नभाको । नारायणसिंह पुनको हेलिकप्टरमा रातारात गरेर प्रचण्डलाई दरबार झिकाएर सहयोग मागेको त कुम उचालेर तिनिक्क तन्किदै ‘प्रजाले राजालाई के सहयोग गर्नु सरकार, जोगीको घरमा सन्यासी पाहुना भनेको जस्तो । पहिले तपाईं प्रजा बन्नुहोस् अनि बल्ल सहयोगको चाँजो पाँजो मिलाउनु पर्ला’ भनेर स्टार्ट बन्द हुन लागेको टेम्पु अन्तिम खेपमा बेस्सरी हल्ले झैँ हल्लिदै र हाँस्दै नाकको डाँडी माथिको चश्माको भाँटा धकेलेर टक्क अडियो । भट्टराई बुढोको के कुरा गर्नु गति पनि सकिएको मति पनि सकिएको बुङ्गो लाग्यो । प्रजातन्त्रलाई किन करणी गरेछु अहिले बल्ल दाँतमा ढुंगो लाग्यो ।

बाटुलो मोहोडा र त्रिपट बुद्धि भएको मेरो भङ्जाहा छोरो । नजानु सिंगापुर गईसकेपछि नेपाल आउने बेलामा धेरै सोच विचारेर मात्र आउने गर्नु । यसमा हामी बाबु छोरालाई नै फाईदा हुने देखेको छु । तिम्रो जस्तै मति विग्रिएको कसैले भेट्यो भने तिमी माथि पुरानो रीस साध्नलाई जे पनि हुन सक्छ । किनकी अब तिमीलाई एयरपोर्टमा झर्ने बित्तिकै जे पनि गर्न सक्छन् । इष्टदेवी माता काली र मनकामनाका ७ दिदी बहिनीका पूजारी खलक भनेर नारायणहिटी दरवारको प्रत्यक्षदर्शी त्यो मगर मोरोलाई ज्यान माफी दिएर जेल सजाय मात्र दिएको त यसको आद्योपान्त घटनाकर्मी अर्थात योजनाकार तिमी नै हो भनेर पत्रकारको अघि अस्ति नै कुरा खुस्काएर मलाई समेत अप्ठ्यारोमा पारेर तिम्रो बा बाजे र बराजुले हैकम चलाउँदै आएको नेपालराज्यमा दरबार हत्याकाण्डको रहस्य भुसको आगो झैँ भित्र भित्रै कुरा सल्किईसकेको थियो । धन्न तिम्रो जत्ति पनि बुद्धि नभएका बुद्धिहीन नेताहरुले केहि लछारोपाटो लाएनन् । तिम्री आमा अहिले त्यहि पीरले गर्दा खर्लप्प दुव्लाएर भकुण्डो जस्ती भएकी छे । अस्ति भर्खरको कुरा हो, भातरुममा भात पकाउँदै गर्दा तिम्री आमा चिप्लिएर बाथरुममा टाउको ठोक्किन पुग्दा घुँडामा चोट लागेर गोलीगाँठोबाट अत्याधिक रक्तस्राव हुन पुगी बीर अस्पतालमा लैजानु पर्यो भनेर एम्बुलेन्समा राखेको त त्यहाँ त तर्साउँछ जान्न भनेर एम्बुलेन्सबाट भक्लक्क हाम्फालिदिइन् । त्यसो भए सैनिक अस्पताल जाउँ न त भनेर भनेको त सैनिक अस्पतालको नाम लिने बित्तिकै अचेतमुद्रा ग्रहण गरेर आँखा माथि माथि हेर्न थालिन् । त्यो वेलामा उनको उपचारार्थ किर्तिपुरको गुभाजु बोलाएर नागार्जुन दरवारको दक्षिण ढोकाको मोहोडाको भुई तलामा नै राखेर तिम्री आमाको प्राग उपचार गराएर सञ्चो बनाएँ ।

हुन त मलाई तान्त्रिक तथा ज्योतिषीहरुको बिश्वाश एकरत्ति पनि लाग्न छोडिसकेको छ । मलाई कम जोक्कर बनाएनन् ती तान्त्रिक भनाउँदा साईंद्वाहरुले । त्यहि तान्त्रिक बजियाको लहैलहैमा लागेर तिम्रो ठूलोबा को जस्तो जुँगा हुर्काएर नाकमुनि टम्म पाल्यो भने पूर्व कुकृत्यबाट मोक्ष पाईन्छ भन्ने अर्ति ग्रहण पश्चात मैले पनि सद्याम हुसेनले झैँ जुँगा पाल्ने भएको मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन मच्छिन्द्रनाथको भोटो देखेर हाँसेका हुन् कि भनेको त मेरो जुँगा मोटो देखेर पो हाँसेका रहेछन् मेरा प्यारा देशवासीहरु । कम उपहासको पात्र बनाएनन् मलाई त्यो सालको भोटो जात्राको दिन । त्यहि लाजले गर्दा एक महिना सम्म त नारायणहिटीको खोपी बाट बाहिर निस्कन पनि सकिन । आजकल त मलाई बैराग्यले छोप्न थालेको छ । अहिले राजकाज र राजपाठबाट अवकाश पाएपछि मन बिरक्तिएर कहिले त राजा हरिश्चन्द्रको जस्तै सादगी जिन्दगी बिताउन पर्छ कि जस्तो लहडी बिचार मनमा उम्लन्छ । तर के गर्नु एउटा असल राजा बनेर शाशन गर्न त नसक्ने हुतिहाराले के हरिश्चन्द्र बन्ने श्वेतकल्पना मनमा पाल्नु र जस्तो लाग्छ ।

कान्तिपुर नगरीको पूर्व शाही महलमा औतार लिएर जन्मिने मेरो धुन्धुकारी छोरो, तिमीले सिंगापुर जाने निर्णय गर्दापनि म चाहिँ झिंगापुर नै बस्छु भनि नक्कली हठ देखाउँदै राष्ट्रप्रेमको गुलियो दलेर राष्ट्रभक्तिको झिंगेदाउ थाप्नु पनि बेकार नै भयो । राणाहरुको दर्जन (एम्वुस) मा परिन्छ कि भन्ने भयले तिम्रा हजुरबा का बा दिल्ली शरण लिन जाने क्रममा म मामा घरमा नै छुट्न पुगेकोले कट्टुको इँजार बान्न पनि नसक्ने उमेरमा राजा हुने सौभाग्य पाएको थिएँ । मान्छेको आहालो रगत खान पल्केको बाघले मान्छेको आहालो रगत नै खान मन पराए जस्तै फेरि राजा हुने सपनाले आज मलाई यो हविगतमा ल्याएर छोडिदियो । नेपालखण्डमा राजा हुन त भइयो छोरा अधकल्चो भईयो । कठैबरा छोरा तिम्रो त राजा हुने सपना पुरकल्चो नै रह्यो । हाम्रा सिलसिलाबद्ध योजना दिवंगत हुन पुग्यो छोरो । अहिले त मेरो हालत धनकुटा लखेटिएको देवशमशेरको जस्तै हुन पुगेको छ । तिम्रो हाम्रो अवस्था र ईज्जत कमिलो जत्रो भयो भनेर मन अमिलो नबनाउनु छोरो ।

कामीको पालो पुसमा भन्छन् । अव हामी गद्यीनसीन हुने दिन भने धेरै टाढा छैन बावु । हामी त्यसै राजा कहलाई बक्सिएका होइनौँ । हाम्रो खलकले एक्लैले शाशन चलाउँदै आएको नेपाल खण्डमा ६०१ जनाले चलाउन नसक्नु नै भोलि हाम्रो भोलिको दिन सुनौलो छ भन्ने आशाको झिल्को हो । अव मैले पनि मेची काली दौडबाट समर्थन बटुल्दै छु । हाम्रा दिन फिर्ने छन् । के गर्ने त ‘थोत्रो स्वेटर पुसैलाई, मुसाको छोरी मुसैलाई’ । बेलुका डेरामा आउँदा जाँड खाएर धतुङ्गाउँदै बुहारी कुट्ने र नाति नातिनालाई तर्साउने हैन । बानी सुधारे ।
तिम्रै इन्द्रियबिहिन बा ज्ञानेन्द्र
नागार्जुन बाट

अनपेक्षित भोगाई

pdm2003@yahoo.com
निष्कपट हुनुको पीडाले आज उस्लाई खुव सताइरहेछ । मनभरी आदर्श र स्वच्छ भावना बोक्नु पनि उस्का लागि जीवनको पीडामय गीत बन्यो । उस्ले सोची, 'मैले कहाँ गल्ती गरें - कसरी शुरु भयो पीडामय जिन्दगीको यात्रा -' यो मानसिक तनाव उस्ले भोग्नु नपर्ने हो । अति उदार चित्त हुनुको वेफाइदाहरु शायद यस्तै हुदो हो ।

उसो भए के फरक रह्यो र स्वार्थी भावना र निश्वार्थी भावनामा - यस्तै प्रश्न ओइरीरहेकाछन् उस्का मनभरी । भानुचोकको भीडमा आफुलाई नितान्त एक्लो यात्री सम्झेर एकपटक लामो सुस्केरा लगाउछे । सानो व्याग काँधमा झुण्डिएको छ । आँखाहरुले व्यस्त बजारमा कोही खोजी रहेछन् । तर, रित्तै र्फकन्छन् भावसून्य भएर । आफ्नो पछाडि कानै छेड्ने कर्कस आवाजमा हर्न बजाउदै धनकुटाबाट फलफूल बोकेर झरेको ट्रक आएको पनि थाहा पाउदिनन् । उस्का कानभरी आफ्नो वहिनी र लोग्नेको कर्कस आवाजमात्र गुञ्जिरहेको महसुस गर्छ ट्रकको आवाजलाई पनि ऊ लोग्ने र बहिनीको नमिठो, भद्दा र अश्लील गाली सम्झन्छे ।

तन्द्रा टुटे पछि पछाडि र्फकन्दा ट्रक चालक झयालबाट टाउको निकालेर नियमित बोलीमा गाली गरिरहेको हुन्छ, 'काल खोजेको हो की क्या हो - पागल आइमाई ।' ऊ चुपचाप पश्चिम तिर टेम्पो स्टेनमा हानिन्छे ।

अनेपक्षित भोगाइको पीडा सवैभन्दा खतरनाक हुदो रहेछ । विपरित परिणाम भोग्ने त उस्ले कल्पना पनि गरेकी थिइनन् । अहिलेको भोगाइ प्रति उस्ले पटक्कै चित्त बुझाउन सकिरहेकी छैनन् । घरी घरी त उस्लाई आफुले पाइरहेको पीडामय भोगाइप्रति विश्वास नै लाग्दैन । पश्चाताप पनि छैन । तर पीडा मनमा भने जारी छ । त्यसो भए लोग्नेको तिरस्कारलाई उस्ले पुरस्कार सम्झने त - आफ्नै वहिनीलाई अव फेरि कसरी सहयात्री सम्झने - जटिल, जटिल झन् जटिल बन्दै गएको छ उस्को मनोदश । ऊ टेम्पोबाट घर अगाडिको गेटछेउमा उत्रन्छे र पर्सबाट भाडा तिर्छ झमक्क साँझ परिसकेको छ ।

घरका सवै कोठा उज्याला छन् । तर उस्का कोठा अध्यारो छ । साँझमा बत्ति बाल्दा सवै कोठामा बाले के ब्रिग‍न्थ्यो र - ऊ त्यस कोठामा एक्लै बस्न थालेको धेरै भएको छैन । करिव चार वर्षजति भयो । तर, लोग्ने संग सम्बन्ध विच्छेद भएको पनि होइन । बहिनी संग कुनै अप्रिय झगडा पनि परेको छैन । अर्थात उस्ले अहिले सम्म प्रीयालाई ठूलो स्वरले अप्रीय लाग्ने गाली गरेकी छैनन् । यो मानेमा ऊ आफ्नो बहिनी संग झगडा भएको छैन ।

घरभित्र छिरेर स्वीच अन गर्छ कोठा भरि उज्यालो छरिन्छ । 'ममी ! ममी !! मलाई के ल्याइदिनु भयो, खोइ क्याटबेरी - क्याटबेरी दिनु हुन्न भने म भोलिदेखि स्कूल जान्न, नाइ के स्कूल जान्न ........ ।' - विवेक आजपनि सधैं भै झयामिन्दै आएर काखमा पल्टियो । साढे चारवर्षो विवेकले सवैभन्दा वढी माया गर्छे । यस्काकारण पनि ऊ आत्महत्या गर्नबाट धेरै पटक जोगिएकी छे ।

उस्लाई थाहा छ, घरमा पुग्ना साथ विवेकले केहि न केहि माग्छ भनेर । त्यसैले आजपनि क्याटबेरी किनेर ल्याइ दिएकी थिइ । उस्ले व्यागमा हात हालेर खोल्न पनि नभ्याई विवेकले निकाली सकेको थियो । 'अव तिमी भोलि स्कूल जान्छौ होइन -' बाल सुलभतालाई नियालेर टाउको मुसार्दै विस्तारै साउतीको भाषामा बोली । मुखभरी क्याटबेरी खाइरहेको विवेकले टाउको मात्र हल्लायो । आफ्नी ठूलीआमालाई मायालु पाराले हेर्दै ।

त्यसपछि विवेक उठेर गयो बाहिर गोजी भरि क्याटबेरी बोकेर । ऊ लुगा फेर्न थाली, खियालागेका टिनको दराजमा टाँसिएको फुटेको ऐना अगाडि उभिएर । 'यो ऐना जस्तै मेरो भाग्य पनि फुटेको रहेछ । र, यो टिनको दराज भन्दा के फरक रह्यो र मेरो जीन्दगी - दराजमा त्यसै खिया लागेको छ, र मेरो जीवनमा पनि विनाकारण खिया पीडा थपिएको छ ।'त्यस्तै सोच्दै ऐनामा उस्ले आफूलाई नियाछे ।

ऊ आफ्नो लोग्ने भन्दा चार वर्ष कान्छी र वहिनी भन्दा आठ वर्ष जेठी छे । अर्थात उस्को उमेर अहिले ३४ वर्ष पुगेको छ । तथापी बुढेसकालले छोए जस्तै ऊ परिपक्व अनुभवी शैलीमा जीवनलाई बुझने प्रयास गर्छे वाहिर अचानक विवेक रोइरहेको सुन्छ, उस्को रुवाईको कारण आवाज संगै प्रीयाको चर्को आवाज पनि सुन्छ, 'दुनिया सडकमा मधिसेले फिजाएको मिठाइ दिएर अव फेरि डाइरिया लगाइदिन आँटी मेरो विवेकलाई । अस्ति पनि खै के ल्याएर दिइ, रातभरी हनहनी ज्वरो आएर सुत्नै दिएन । तँलाई मैले कत्ति पटक भनि सकें तेरो ठूली आमाले दिएको मिठाइ नखा भनेर ।'

विवेकले चपाउदै गरेको क्याटबेरी चक्लेट खोसेर प्रीयाले अघि नै सुँगुरको खोरमा मिल्काइ दिएकी थिइन् । आफ्नै वहिनीको यस्तो व्यवहार प्रति ऊ अझै पनि अनभिज्ञ भएर सहि रहेकी छे । प्रीयाले किन आफ्नी दिदीलाई घृणाको पात्र बनाएकी हुन् उस्ले बुझेकी छैनन् ।

सत्र वर्ष अघि अप्रत्यासित रुपमा विमल संग सोनुको मागी विवाह भएको थियो । उस्ले दोस्रो छुट्टिमा आउदा विवाह गरेको थियो । किरात कुलको वैशालु विमल डिप्लोमा प्रथम वर्षसम्म पढेर वेलायती सेनामा छाती नापेर भर्ना भएको थियो । ऊ पेन्सन आए लगतै सोनुले प्रिया संग विवाह वन्धनमा वाँधि दिएको थियो । ती पहिलेका यादहरु अहिले उस्का मनका भित्ताभरी रंगिन चित्र झैं टाँगिएका छन् । कति गाह्रो परेको थियो प्रथम विछोड सहन । विराटनगर एयरपोर्टमा विमललाई अंगालो मारेर ऊ वेस्मारी रोएकी थिइन् । र, विमल पनि । आज दन्ते कथा बनेको छ उस्का लागि यी यादहरु । अविश्वसनीय लाग्छन् ।

एक्लो दिदीलाई सहयोग गर्न प्रिया भोजपुरबाट धरान आएकी थिइन् । र, सदन माविमा पढ्दै दिदीको साथी भएर समय संगै बग्दै थिइन् । सोनुले परिवारमा सवैभन्दा बढी माया गरेको मान्छे त्यसवेला आफ्नो लोग्ने विमल पछि प्रिया नै थिइन् । किनभने प्रिया आफ्नो दिदीको हरेक सुख दुखकी साथी वन्दै आएकी थिइन् । पहाडमा रहदापनि उनीहरु संग संगै घाँस दाउरा जान्थे, गट्टी खेल्थे । लुकामारी खेल्थे । अहिले यो सवै अतितको गर्भमा लुकेको छ ।

ऊ वहिनीको तीतो व्यवहारले गर्दा प्रत्येक पल अतितका सुखद क्षण संझेर सहने अभ्यास गर्दै आएकी छे । विवाह गरेको करिब सत्र वर्ष विति सक्दा सम्म पनि उस्ले गर्भधारण गर्न नसकेपछि लोग्नेको चित्त बुझाउन र आफ्नो मातृवात्सल्य इच्छा पूरा गर्न आफ्नै बहिनी संग विमलको विवाह गरिदिएका थिइन् । विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका गाइनोकोलोजिस्टले उनको पाठेघरमा खरावी भएको रिपोर्ट दिएपछि प्रिया र विमल वीच जोडी मिलाएकी थिइन् ।

खासगरी लोग्ने माथि तेस्रो व्यक्तिले नमिठो आक्षेप लगाए पछि उनको मन त्यसवेला कुँडिएको थियो । 'मर्द भए पो सन्तान जन्माउन सक्छ, नामर्द भएपछि कस्को के लाग्छ -' पहिलोपटक नजिकैको नम्बरी (साथी) ले नै यसो भने पछि सोनुलाई खपिनसक्नु पीडा भयो । आफ्नो पाठेघरको दोष प्राण प्रिय लोग्नेमाथि अनाहकमा लाग्दा कुन स्वास्नीको स्वाभिमानमा धक्का लाग्दैन - प्रत्येक स्वास्नीले समाजमा लोग्नेको बर्खिलाफ, र कुरा काटेको सुनेर बस्नै सक्दैनन् । चाहे जायज कुरामा होस्, चाहे नाजायज कुरामा । उस्ले रातभर सोची । र, विमललाई त्यहीं रात सम्झाई । र, निर्णय गरी 'लोग्नेलाई समाजमा मर्द भएको प्रमाणित गरेरै छाड्ने ।'

विमल र प्रियाको विवाहबाट कति पनि आफु असुरक्षित भएको महसुस गर्न पनि अपराध जस्तै ठान्थी । सन्तान नभए पनि पतिको लागि आदर्श पत्नी बनेर बस्ने उस्को मनको धोको मरेको थिएन । जे भएपनि एउटै आमाको गर्भबाट जन्मिएकी वहिनीलाई आफ्नै लोगने संग आफैले विवाह गरिदिदा जीवनको उत्तर्रार्धमा झन् सुरक्षित हुने मीठो सपना साँचेकी थिइन् ।

प्रत्येक बर्षो साकेला उभौलीको बेलामा विमलले उस्लाई संगै लिएर जाने गरेको थियो । प्रीयालाई विवाह गरेको केही बर्ष सम्म त तीनै जना सप्तरङ्गी पार्कमा रमाइलो साकेला मनाउने गरेका थिए । बहिनीको गर्भ राम्रो बसोस् भनेर उस्ले बुढासव्वा मन्दिरमा रातोभाले चढाएकी थिइन् । पुजारीले भालेको कलेजो हेरेर भनेको थियो, घरमा सुख शान्ति छाउने छ । दुखका ग्रहदशा सबै खत्तम हुने छन् ।

साच्चै नै विवेक जन्मदा सवै भन्दा खुशी त सोनुलाई भएको थियो । उस्ले तत्काल हल्ला गरेर सारा छिमेकीलाई सुनाएकी थिइन्, 'विमलको छोरा जन्मियो' भनेर । उस्ले अंगालोमा बाँधेकी थिई विमललाई हर्षे रुदै । निर्दोष मन, आदर्शले भरिएको थियो । ऊ अहिले यी सव कल्पना गर्नै सक्दिनन् ।

'निःसन्तान भएर के भोर - कान्छी वहिनी (सौता) पट्टि जन्मेको छोरा विवेक छदैछ नी ।' ऊ यस्तै सोचेर समयलाई लगाम लगाउने प्रयास गर्थी ।आमामा हुने सम्पूर्ण प्रेम उस्ले विवेक माथि खन्याएकी थिइन् । यही कारणले पनि विवेकले सोनुलाई संधै आमा, मम्मी भनेर सम्बोधन गर्दै आएकाे छ । र, प्रियालाई चाही 'प्रिया' नै भनेर बोलाउदै आएको छ ।

सोनु र विवेक वीचको आपसी मेलजोल हिजो आज प्रियालाई अप्रीय लाग्न थालेको छ । विवेक निकै सानो हुदा सोनुले साँच्चैको आमा वन्न नसक्नुको पीडा बोकेर कहिलै नगानिएका दुधहीन बाँझो स्तन विवेकलाई खुवाएर आफूलाई शान्त पार्ने प्रयास गरेकी थिइन् । 'शायद मेरो वच्चा भएको भए पनि यसरी नै मैले आफ्नो दुधको धाराले नुहाइदिन्थें.............।' ऊ यस्तै सोचेर विवेक प्रति जवर्जस्ती मातृवात्सल्य पोखाउथी । तर आमाको स्तनबाट अमृतरुपी दुध नआएपछि टाउको फर्काएर कयौं पटक रोएको क्षण संझदै विवेकलाई हेर्थी शुन्य मन र आँखाले ।

राती कोठामा एक्लै छदां ऊ आफ्नो पेट सुम्सुम्याउछे विस्तारै । त्यहाँ एउटा व्रमाण्ड भए पनि शुन्य मात्र पाउछे । गर्भधारण गर्न नसक्ने पेट र शुन्य व्रमाण्डमा केहि फरक छैनकी जस्तो गरेर कोल्टो फेर्छे चित्त बुझदैन । कुनै समय विमल सुत्ने गरेको न्यानो विस्तरा तिर हात फैलाउछे । तर चिसो र शुन्य मात्र पाउछे । साच्चै तनाव छाएको छ सोनुको मन मस्तिष्कमा आज राती । उस्को स्थान अहिले प्रियाले लिएकी छिन् । उस्ले पाउने माया प्रियाले पाएकी छिन् । यर्सथ पनि विमल उस्को अंगालोमा बाँधिन आउदैन । विमल आजकल नत पहिले जस्तो मायाको भोको आँखाले हेर्ने चेस्टा नै गर्छ । सहबास नगरोस् तर मायाको मीठो बचनले बोल्न त सक्थ्यो नी । एक प्रकारले सम्बन्ध बिच्छेद भएको जस्तै व्यबहार विमलले देखाउदा सोनुको मन खिन्न हुन्छ । संझन्छे, विमल संगका रमाइला दिन र रातहरु । हङ्कङ र बुरनाइ घुमेका क्षणहरु । चखेवा चखेवी झै यायावर बनेर माया प्रीति साट्दै घुमेका समयहरु ।

जति गर्दा पनि चित्त नबुझे पछि सोनु जुरुक्क उठ्छे विस्तराबाट र आफ्नो विस्तरा छेउमा रहेको फुटेको ठूलो ऐना अगाडि ठिङ्ग उभिन्छे, भित्तामा टाँगिएको टङस्टेन बत्ती बालेर ।

'गर्भधारण गर्ने क्षमता साच्चै म भित्र छैन - के म अनाकर्षक छु र - नारी शुलभता म भित्र रत्तिभर छैन -' ऊ आफुले आफैलाई मुल्याङन गर्दै जीन्दगीको कठघरामा उभ्याउछे ।

उमेर ढल्किएको छैन सोनुको । शारीरिक बनावट उत्तिकै चुस्त र कस्सिएको छ । तै पनि विमलको लागि ऊ बगरमा फालिएको कौडी सरह बनेकी छे । कोल्टे फेर्छे आँखाबाट नुनिलो आँसु चुहेर ओठ सम्म आउछ । मध्यरातमा तिर्खा लाग्छ । जुरुक्क उठेर पानी पिउछे तीर्खा मेट्न । पानीको तिर्खा त मेटिन्छ तर जीवनको तिर्खा र मायाको भोक मेट्ने उपाय नास्ती ।

जीवनको उडानलाई सुखद मैदानमा अवतरण गर्ने उपाय खेाजी रहेकी छे मनमनै । सदा भै मध्य रातमै विवेक आफ्नो आमा प्रीया र वावा विमलको वीचबाट उठेर आँखा मिच्दै सोनु भएको अर्को कोठामा 'मम्मी' भन्दै आएर काखमा लुटपुटिदै सुतेको छ । विबेकको उपस्थिति उस्का लागि अपूर्व खुशी र आनन्दको क्षण बन्छ । विहान विउझदा विवेकलाई आफूसंगै पाउछे । पति र वहिनीको माया नपाए पनि नजन्माएको छोराको अबोध माया पाउदा खुशीको आशु आँखाबाट अचानक खस्छन् । अर्को कोठामा विमल र प्रीया मस्त न्रि्रामा छन् । गलेर लखतरान भए झैं पल्टिएका छन् । तै पनि यस्तो दृष्यले उस्लाई कुनै इष्र्या जाग्दैन । मनमा वितिष्णा पलाउदैन ।

आजको यात्रा उस्ले फेरि शुरु गर्नु पर्छ, विवेकको अवोध मुस्कानबाट । यर्सथ पनि ऊ भित्र निराशा पलाएको छैन । तर मानसिक द्वन्द्व जारी छ । विवेकको मुस्कान, पति र आफैले सौता बनाएर भित्राएकी वहिनीको तिरस्कार वीच आफूलाई तुलना गर्दै यात्रा सुरु गर्छे वहानको सूर्योदय संगै ।

गजल (मोती जयन्ति विशेष)

-विष्णु बैकुण्ठे
श्रृजनामा पोखिएर लेखिन्छ गजल
युगौंदेखि लेखिएको देखिन्छ गजल

साहित्यको दुनियाँमा लहर छाउँदा
लय-भाव प्रसङ्गले चेपिन्छ गजल

सजाउनु सर्जकले काफिया रदिफ
नरहेका सेरहरु हेपिन्छ गजल

मोतीराम रचनामा मुहार झुल्किदा
बहुरुपी छन्दबद्ध भेटिन्छ गजल

सिकाउने उनै थिए बहर मिटर
संरक्षण नगर्ने 'भा मेटिन्छ गजल

केही मुक्तकहरु

-विष्णु बैकुण्ठे
१.
नभुक तिमी उसलाई मरिमेटेर. उसले तिमीलाई गन्दैन अब ।
३६५ दिनमा नि बनेन सं‍विधान फेरि भुके नि बन्दैन अब ।।
व्यर्थै क्षयरोगको शिकार किन हुन्छौ ? रक्षक बनि आराम गर...
ऊ कुर्सीमा बसेपछि तिमी रक्षकलाई "आचे" शुद्ध भन्दैन अब ।।

२.
मेरो मनको दुध्यारोमा दुध हाली ल्याएँ ।
दही बनाइ मोही खान्छु भन्दै आली लाएँ ।।
दुध्यारो नै गायव भएछ म त चकित परेँ...
छाली खाइछन् प्रियाले र'पो भाँडो खाली पाएँ ।।

३.
तिमी अलि छुच्ची छौ र छिट्टै कड्किन्छौ ।
केही सोध्दा मकै भुट्या जस्तै गरी पड्किन्छौ ।।
के थाहा उनलाई.. तिम्रो प्रेमको बलिदान दिने साहस....
उनले सोचे- प्रष्ट भन्दा कतै तिमी नै पो भड्किन्छौ !!!

गजल (जगाउँदै गएँ)

विष्णु बैकुण्ठे

एउटै थियो इच्छा जगाउँदै गएँ
जिवन भर उनी सजाउँदै गएँ

सपना भित्र मेरो वर्तमान रेखा
कोरेथें आफैं सधैं लगाउँदै गएँ

साटेर माया दुबै रमाउँदै थियौं
सुक्दैन भन्दै अझ बगाउँदै गएँ

समाज उठ्यो हाम्रो बदनाम गर्न
समस्या आयो मैले भगाउँदै गएँ

आखिर टुट्यो प्रेम सम्झनामा मात्र
तुहियो त्यसै मैले दवाउँदै गएँ
***********************