'पहिलो भाषण गर्दा खगेन्द्र संग्रौला तेह्र वर्षका थिए । आफ्ना बाको सट्टा बोल्न पुगेका उनले गाउँको चौतारामा उभिएर पिँडुला कमाउँदै बोले । नेपालका राम्रा वक्तामा गनिने संग्रौलाका भाषण-कलामाथि केही विचार र अनुभूतिः
खगेन्द्र संग्रौला जति 'कडा' लेखक हुन्, त्यत्तिकै राम्रा वक्ता पनि हुन् । उनको लेखन मन नपराउनेहरू समेत उनको प्रभावशाली वक्तृत्वबाट कायल हुन्छन् । उनको भाषण मन पराउनेहरूको 'अनौपचारिक' रेटिङमा उनी नेपालका पाँच उत्कृष्ट पब्लिक स्पिकरमध्ये पर्छन् । भाषा, शैली, प्रवाह, समय-सीमाको चेतना उनका भाषणका विशिष्टता हुन् । उनका बारेमा भन्ने गरिन्छ, 'उनी दिइएको समयमा एक शब्द घटबढ नगरी भन्नुपर्ने कुरा भन्छन् ।'
संग्रौलाको भाषण-इतिहास कम्ती पुरानो छैन । पहिलो भाषण गर्दा उनी तेह्र वर्षका थिए । उनको गाउँमा भर्खरै विद्यालय खुलेको थियो । सञ्चालक समिति सभापति थिए उनका बा, जो कहलिएका ज्योतिषी थिए । 'विद्यालय सञ्चालक समितिको बैठक थियो सायद,' उनी सम्झन्छन्, 'वरपीपलको सिँढीदार चौतारीमा २५/३० जना भेला भएका थिए । मलाई साह्रै माया गर्ने शिक्षक लीला सिवाकोटी उद्घोषक हुनुहुन्थ्यो । उहाँले मेरा सभापति बालाई मन्तव्य राख्न अनुरोध गर्नुभयो । बाले 'म उभिएर बोल्न सक्दिनँ । मेरो छोरो तीखो छ, यसले बोल्छ' भनेर मलाई घानमा पारिदिनुभयो । लीला सर नयाँ कुरा प्रयोग गर्न/गराउन खप्पीस हुनुहुन्थ्यो । उहाँले मलाई हौस्याउनुभयो । म बोल्न तयार भएँ ।' भाषणको मैदानमा यसरी उत्रिएका किशोर खगेन्द्रले बेहोरेको स्टेज फ्लाइट (मञ्च भय) यसप्रकार छ, 'म होचो मान्छे । चौतारोको अग्लो सिँढीमा उभिएर बोल्न थालेँ । पिँडुला थर्थरी कामिरहेका थिए । लाज र भयले अनुहार रातो-पीरो भएको थियो ।' बाबुको सट्टा बोलेका खगेन्द्रले मुस्किलले पाँच-सात मिनेट बोले । 'के बोलेँ पूरै सम्झना त छैन,' उनी भन्छन्, 'तर, पहिलो भाषणमा मैले बोलेको यतिचाहिँ सम्झन्छु- शिक्षा भनेको बत्ती हो, बत्तीले ज्ञान फैलाउँछ, ज्ञानले पैसा ल्याउँछ, पैसाले सुख ल्याउँछ ।' शैक्षिक, आर्थिक, दार्शनिक पक्षयुक्त घच्चिको पन्चलाइन ठोकिदिएका खगेन्द्रले भाषणपछि घनघोर वाहवाही बटुले । 'सबैले केटाले क्या गजब बोल्यो भनेर फुक्र्याए,' उनी सम्झन्छन् ।
स्टेज फ्लाइटलाई भाषण-कलाको सबभन्दा ठूलो शत्रु मानिन्छ । यसलाई मोबोफोबिया (भीडसँगको डर) को एक स्वरूप मान्न सकिन्छ । कसै-कसैले त जीवनभरि स्टेज फ्लाइटबाट मुक्ति पाउँदैनन् । वाणी-प्रवीणहरूमा गनिने खगेन्द्रलाई पनि कहिलेकाहीँ स्टेज फ्लाइट हुँदोरहेछ । 'विषयमा दख्खल नभएको वेला, मनोदशा शान्त नभएको वेला बोल्नुपर्दा मेरा खुट्टा काम्छन् । डर लाग्छ,' उनी भन्छन् ।
बोल्दा सबभन्दा महत्त्वपूर्ण कुरा हो- आत्मविश्वास । 'सबभन्दा जान्ने मै हँ, यी सबै मलाई सुन्न आएका हुन् भन्ने आत्मविश्वाससाथ माइक समात्नुपर्छ,' पब्लिक स्पिकिङको चुरो नै यही भएको बताउँछन् खगेन्द्र । यसले श्रोतादेखि हुने भयलाई परास्त गर्न सहयोग पुर्याउँछ । तर, यसको मतलब यसप्रकारको 'भयानक' घमन्डले राम्रो वक्ता बनाउँछ भन्ने कदापि होइन । 'यो स्टेज फ्लाइटबाट मुक्त हुने एक उपाय मात्र हो,' खगेन्द्र भन्छन्, 'वक्ताले आफ्नो तह र स्तर राम्ररी बुझ्नुपर्छ । मै हुँ भन्ने अभिमान र विनयशीलताको सन्तुलन अपरिहार्य छ । मैले जानिसकेँ भन्नु स्वर्गीय हुनु हो ।'
मन्तव्य र भाषणमा कहिल्यै लोकसेवा आयोग लागू हुँदैन भन्छन् उनी । अर्थात्, बोल्नु कला हो । न यसका निर्दिष्ट नियम हुन्छन्, न कुनै परीक्षाले यसको स्तर तय गर्न सक्छ ।
राम्रो वक्ताले आफूलाई बोल्न दिएको समयको राम्रो हेक्का राख्छ र त्यहीअनुसारको तयारी गर्छ । खगेन्द्र आफूले बोल्ने कार्यक्रमका आयोजकलाई पहिल्यै सोध्छन्, 'मैले कति समय बोल्नुपर्छ ?' बोल्ने समयावधि ज्ञात भएपछि उनी तयारी गर्छन् । बोल्ने विषयका मसिना बुँदा बनाउँछन् । उपमा, प्रतीक, दृष्टान्त, हस्यौली आदि कहाँ-कहाँ प्रयोग गर्ने, त्यसबारे सोच्छन् र क्रमबद्ध बोल्छन् । उनका यी भाषण टिप्स सबैलाई उपयोगी हुन सक्छन् । विशेषगरी, मन्त्रीहरूलाई । हाम्रा मन्त्रीहरू आफ्ना करकमलले उद्घाटन गर्न र मुखारविन्दबाट शब्दवर्षा गर्न जहाँ पनि पुग्छन् । जुन विषयमा विज्ञताशून्य र अनुभवशून्य हुन्छन्, त्यही विषयमा बोल्न हुर्दुराउँदै पुगेका हुन्छन् । मन्त्रीहरूको यो भुइँफुट्टापन थप प्रस्ट्याउन खगेन्द्रले दिएको एक दृष्टान्त सुन्न लायक छ । 'किताब विमोचन गर्न जान्छ मन्त्री,' उनी भन्छन्, 'र भन्छ- मैले यो किताब पढ्न भ्याएको छैन, तर मलाई विश्वास छ कि यो तगडा किताब हो । पढ्दै नपढीकन कुनै किताबप्रति धारणा बनाउनु घोर बेइमानी हो ।'
मन्त्रीहरूको 'भाषण-कला'लाई नांगेझार पारिदिने एउटा जोक छ । एकताका खुब चलेको जोक । पञ्चायतकालमा कुनै कार्यक्रममा एक मन्त्रीलाई नेपालमा राजतन्त्रको अपरिहार्यतामाथि बोल्न आमन्त्रण गरिएछ । उसले नेपालमा राजतन्त्र युगौँसम्म किन चाहिन्छ, त्यसको तर्क यसरी दिएछ- 'राजा नभई देश चल्दैन । भारतमा पनि राजा नभई नहुने हुनाले राष्ट्रपति राखिएको हो ।'
भाषणअघि तयारी एकदम जरुरी छ । वक्ता ज्ञानको समुद्रै किन नहोस्, तयारी भएन भने उसको धोती खुस्किन्छ । जति कम बोल्ने हो, त्यति धेरै तयारी हुनपर्छ भन्छन् पब्लिक स्पिकिङका पण्डितहरू । उनीहरूका अनुसार एक घन्टा बोल्नका लागि दुई दिन तयारी गर्ने हो भने पाँच मिनेट बोल्नका लागि एक हप्ता तयारी गर्नुपर्छ । संग्रौला रातभरि रट्ने, घोक्नेखालका वक्ता पनि होइनन् र माइक समातेपछि तत्क्षणमा जे-जे फुर्छ, त्यही त्यही बोलेर टाप ठोक्ने वक्ता पनि होइनन् । तर, आफूलाई दख्खल नभएको विषयमा जथाभावी मुख जोत्न जानु उनलाई कदापि मन्जुर छैन । यस स्वभावले पनि उनलाई प्रभावशाली वक्ता बनाएको हो ।
वक्ता जति नै प्रकाण्ड विद्वान् होस्, जति नै प्रसिद्ध होस्, मुखमै सरस्वती विराजमान भएको होस्, श्रोता जागरुक भएनन् भने उसले राम्रो भाषण गर्न सक्दैन । 'जागरुक र उत्सुक श्रोता भएन भने बेजोड वक्ताले पनि राम्रो बोल्न सक्दैन,' उनी भन्छन् ।
आफूले गरेका भाषणमा उनी सबभन्दा सन्तुष्ट भएको घोडा, ईश्वर र मेरा बा निबन्धसंग्रहको विमोचन कार्यक्रममा हो । 'सन्ताउन्न सालतिर होला, होटेल अशोकामा भएको विमोचन कार्यक्रममा म किन लेख्छु भन्नेबारे बोलेको थिएँ । आफूले बोलेमध्ये सबभन्दा राम्रो बोलेको त्यही वेला हो जस्तो लाग्छ,' उनी भन्छन् । अनि सबभन्दा झुर नि ? 'सिके लालको शोधपत्र राष्ट्रियताको नयाँ परिभाषामाथि तीन-चार ठाउँमा टिप्पणी गर्न पुगेको थिएँ,' उनी बताउँछन्, 'यही क्रममा रौतहटको गौर पुगेको थिएँ । गर्मी र थकानले लोत परेको थिएँ । श्रोतामा पनि त्यति उत्सुकता थिएन । गौरमा मैले झुर बोलेँ जस्तो लाग्छ ।'
खगेन्द्र संग्रौला अंग्रेजीका राम्रा विद्यार्थी हुन् । कुनै वेला अंग्रेजी नै उनको पेट पाल्ने माध्यम थियो । उनी अंग्रेजी पढाउँथे, अंग्रेजीका किताब अनुवाद गर्थे । अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने संग्रौला अंग्रेजी 'राम्रो' बोल्नचाहिँ सक्दैनन् रे । उनले अंग्रेजीमा एउटा मात्रै भाषण दिएका छन् । त्यो पनि करकापले । 'महिना दिनअघि न्युयोर्कबाट १० विद्यार्थीको प्रतिनिधिमण्डल नेपाल आएको थियो,' उनी बताउँछन्, 'समकालीन नेपाली राजनीतिमा मलाई केही बोल्न लगाइयो । मैले सिके लालजीलाई अंग्रेजीमा बोल्नुपर्यो भने म आफूले भन्न चाहेको कुरा राम्ररी राख्न सक्दिनँ भनेँ । तर, उहाँले भाषिक शुद्धता कसले हेरिराख्छ र भनेर मलाई बोल्न लगाउनुभयो । उनीहरूले राम्रै बोल्नुभयो भने पनि मलाई आफूले त्यति गतिलो बोलेजस्तो लागेन ।' उनी थप्छन्, 'संभवतः यो मेरो पहिलो र अन्तिम अंग्रेजी भाषण हो ।'
उनलाई डा. हर्क गुरुङ, प्रदीप गिरी, डिपी भण्डारी, अभि सुवेदी र सिके लाल बेजोड वक्ता लाग्छन् । अझ हर्क गुरुङको वक्तृत्वबाट त उनी हदै प्रभावित थिए । भन्छन्, 'उनी अंग्रेजी र नेपाली दुवै भाषामा बिछट्टै राम्रो बोल्थे ।'
नयाँ पत्रिकाबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।