केही रुवाईहरु

विष्णु बैकुण्ठे
१.
तिम्रो मुहान सधैं सुक्छ रसाउने कहिल्यै हैन ।
गैरीखेतमा बेठीलाउन तिमीले अझै जानेको छैन ।।
अब चुप लागेर बसे हुन्छ हाम्रै फेसबुकमा...
जत्ति पाइन्छन् यहाँ छिमेकी. कसैले केही गर्दैन ।।

२.
असल सरकार भइदिए दैनिक रुपमा औषधि छर्दथे ।
दुर्घन्ध एसीबाट छिर्ने भए सबैले एसी बन्द गर्दथे ।
नेताहरुलाई थाहा रहेनछ गन्ध कहाँबाट छिर्छ भनेर...
नाकबाट छिर्छ गन्ध. सधैं बन्द गरे तत्कालै मान्छे मर्दथे ।।

३.
भिरालो परेको ठाउँमा बाबियोको सुत्ला भेटिन्छ ।
ओरालो लागेको मृगलाई बाछाले खेदेको देखिन्छ ।
समय प्रतिकुल परेपछि साथी तपाई हेर्दै जानुस् ...
मानिसलाई कसैले खेद्‍ने छैन ऊ आफै लखेटिन्छ ।।

४.
तिमीले उसलाई हसाउन सकिनौ ।
कहिल्यै कलम रसाउन नि सकिनौ ।।
नसकेर नै होला आज हुतिहारा झैं भएछौ...
अब आफैं हाँस बस् ! आफै आँशु खसाउन सकिनौ ।।

५.
‎'रिस' र 'माया' दुबै हृदयबाट निस्कन्छ ।
सोचेकोलाई म्वाई खाँदा नसोचेको चै ठुस्कन्छ ।।
मन परे माया लायौ कि नपरे रिस खायौ ....
संयोग नै मान्नुपर्छ यो विष्णु यसरी जिस्कन्छ ।।

६.
मन्त्री बन्न नसक्नेले के नाम लेखाउनु ।
पाँचपटक हार्नेले अब दाँत नि नदेखाउनु ।।
ज्योतिषिले भाग्य नहेर्दा अक्टोपसलाई भनेनौ...
सातपुस्ताको भाग्य खोज्न विष्णुको गाइजात्रामा आउनु ।

गाइजात्रा विशेष

- विष्णु प्रसाद चापागाईं
अग्नी एयरको जहाज पाइलटले उडायो ।
मकवानपुरको पहाडमाथि अग्नीले नै डढायो
"मौषम खराबीले दुर्घटना" उद्दारसुत्रले बोल्यो
सवार चौधजना यात्रु सबैलाई नै पोल्यो ।।
************************
पोल्नु पर्ने मान्छेलाई पोल्नै सक्दैनन् ।
उद्दार गर्न जाउ भन्दा बोल्नै सक्दैनन् ।।
उठ्नै नसक्ने गरी घुष धेरै खान्छन् ।
ओकले जाति हुन्थ्यो तर ओकल्नै सक्दैनन्
************************
नेता राम्रा थिए भने श्वास राम्रो हुन्थ्यो ।
शुद्ध हावा, डाँडा माथि खुलेर जहाज घुम्थ्यो
राम्रा कामको हाम्रा आसमा सुनाखरी छाउँथे।
हाम्रा काम हेर्न जहाज घर-घरमै आउँथे ।।
*************************
राम्रो इन्जिनको मेसिनले धुवाँ थोरै फाल्छ ।
देश विगार्ने मानिसले जुँगा धेरै पाल्छ ।।
जुँगा मसार्दै धम्कि लडाउँदै कुरा गर्न थाल्छ
उसका विचार उधिन्नेलाई खुरु-खुरु ढाल्छ ।।
*************************
भ्रष्ट नेता बढेपछि जनता काला भए ।
काला जनको रन्को पनि महा-काला भए
धेरै कालो भएपछि मौषम विग्रियो ।
त्यसैले त मकवानपुरमा जहाज बज्रियो ।।
*************************
पैसा अझै धेरै खान पाचौ चुनाव गरे ।
खान जो-जो उठेका थे सबैले नै हारे ।।
राम्रो बनाउन खोज्नेलाई अर्कोले खुट्टा तान्छ ।
मान्छे राम्रा भए पो मौषम राम्रो बन्छ ।।
****************************
श्रद्धाञ्जली भन्दा अरु बोल्नै जान्दैनन् ।
पीडीतसँग प्रष्ट विचार खोल्नै मान्दैनन् ।।
विचार खोल्दा ईंजार खोलेजस्तै हुन्छ रे।
त्यसैले त हाम्रा नेता कट्टु लाउनै भूल्छन् रे ।।
****************************
अफिस खुल्ला भित्र छिर्दा विचित्र हौ साथी ।
कट्टु छैन कन्दनीमा खुट्टा टेबलमाथि ।।
आँखा छोप्दै ख्वाक्क खोक्दै कुलेलाम ठोकें ।
मन्त्रीज्यूको हालत यो मनभरी बोकें ।।
****************************
आफु नांगो भनेको त ऊ पो नांगो रहेछ ।
कुरा गरौं कसलाई भनौ मुखै बांगो भएछ ।।
चुपचाप बसें म त कुरी-कुरी मान्दै ।
पौरखी छु इज्जति छु मै गतिलो ठान्दै ।।
****************************
इज्जत आफ्नो जोगाउन मलाई धौ धौ पर्यो ।
प्रकाश भो हालत उसको मेरो धौ धौ टर्यो ।।
म गतिलो कि मन्त्री गतिलो तपाई आफैं सोच्नुस् ।
के हुन्छ निष्कर्ष यो गाइजात्रामा ठोक्नुस् ।।
****************************
साउदी अरेवियाबाट

पिलपिल [लाइभ]

- बुद्धिसागर
सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ एउटा दोकानको कुर्सीमा उपरखुट्टी लाएर केही पढिरहेकी थिई। मलाई अघि बढ्नै मन लागेन। भित्तामा छेलिएर उसलाई हेरिरहेँ। थाइकट कपाल। निलो जिन्स पाइन्ट। छातीनेर बुट्टा भएको फिक्का हरियो टिसर्ट। काउन्टरमाथि हल्लिरहेका उसका पैताला नौनीले धोएजस्ता थिए। एकदम कोमल। हिँड्दै नहिँडेर जोगाएजस्ता।

उसलाई लेख्नासाथ मलाई लाज लाग्यो। शरीरभरि मिठो काउकुति फैलियो। चिसो बतासले पनि होला।
मलाई के गरूँ के गरूँ भो।

आफैंलाई नियालेँ, रुझेको जंगली बिरालोजस्तो लाग्यो। दिक्कलाग्दो झरी मलाई अचानक रमाइलो लाग्न थालेको थियो।

म घरतिर दगुरेँ।

'फेरि भिजेर आएछ,' आमा बम्किनुभो, 'पख्, तेरा कपडा म धुन्न।'
म बोलिनँ। कोठामा गएँ। हतारहतार सबैभन्दा राम्रा लुगा लाएँ।

'बौलाइस् कि क्या हो?' आमाले अचम्म मान्दै हेर्नुभो, 'यस्तो झरीमा नयाँ लुगा लाएर हिँड्छस्?'
म हाँसेँ। छाता समाएर फुत्त निस्केँ।

मलाई एकपल्ट फेरि उसैलाई हेर्ने रहर जागेको थियो। ऊ हाम्रो दोकानभन्दा छ दोकान उता थिई। हामी मान्म आएको एकवर्ष पनि भएको थिएन। वर्षदिनमा पहिलोपल्ट उसलाई देखेको थिएँ।

एकपल्ट उसकै अघिबाट फुत्त निस्कन्छु, मैले सोचेँ। तर, नजिकै पुग्ने बेला आँट भत्क्यो। सुत्त भित्तामा छेलिएँ। गर्दन तन्काउँदै दोकानतिर हेरेँ। ऊ देखिइन। अझै तन्काएँ। देखिइन । तन्किँदा-तन्किँदै म त सडकमै पुगेछु। फटाफट दोकान अघिल्तिरबाट प्रतिमातिर लम्केँ। उसको दोकानतिर सोझा आँखाले हेर्न सके त मरीजाऊँ। पहिलोपल्ट त्यो दोकान अघिबाट हिँड्दा मेरो ढुकढुकी बढिरहेको थियो। प्रतिमा पुगेँ। र, फर्किहालेँ।

फेरि दोकाननेर पुग्ने बेला सास बढ्यो। जे पर्ला पर्ला भनेर दोकानतिर हेरेँ, ऊ रैनछ।
'ममी,' माथितिरबाट आवाज आयो, 'माथि आउनू।'

मैले स्वाट्ट हेरेँ। लौ, आँखा त ठोक्किहाले। छाता पछाडि ढल्किँदा पानी मेरो निधारमा तप्तप् खसिरह्यो। उसले वास्तै गरिन। फेरि बार्दलीबाट तल निहुरेर कराई।

'हैरान नपार त,' अल्लि वर आएपछि मैले उसकी आमाको आवाज सुनेँ।

रमेश त मान्म आएको पाँच वर्ष भएको थियो। उसैलाई थाहा होला उसका बारेमा, सोध्नुपर्ला।
मैले भोलिपल्ट रमेशलाई सोधिहालेँ।

'प्रिया हो नाम,' उसले भन्यो, 'झरी बिदामा सधैं आउँछे। नेपालगन्ज बोर्डिङमा पढ्छे।'

हामी ठूलो रानीढुंगामा बसेर पर˜˜ कुम जुधाएर बसेका अछामतिरका पहाड हेरिरहेका थियौं। मसिनो कर्नाली पहाड घुँडानेर टलक्क टल्किरहेको थियो।

'किन सोधेको?' रमेशले मलाई नियाल्यो।
'त्यस्सै,' म रातो भएँ।

'लभ पर्‍यो?' उसले मेरो कुममा प्याट्ट हिर्कायो, 'ऊ त साउन सक्केपछि गइहाल्छे।'
मेरो अनुहार अँध्यारो भो।
*****************************
भोलिपल्टै सुन्दर नाइको सैलुनमा कपाल काटेँ। चिटिक्क परेर हिँड्न थालेँ। प्रियाको दोकानकै छेउमा केटाहरू क्यारेम खेल्थे। मलाई त खेल्नै नआउने। प्रियालाई हेर्न पाइन्छ कि भन्ने लोभमा क्यारेम हेरेको बहाना गर्थें। रेडियोमा बज्ने 'फुलौसा चेहरा तेरा' गीत उसैका लागि लेखेजस्तो लाग्थ्यो।

कहिलेकाहीँ प्रिया बार्दलीमा बसेर क्यारेम हेर्थी। कसैको पक्षमा हुटिङ गर्थी। त्यो बेला मलाई लात्तले क्यारेम बोर्ड फोडिदिऊँजस्तो लाग्थ्यो। तर के गर्नु, आफ्नै नुर गिरेजस्तो लाग्थ्यो। म नजर झुकाउँदै उभिरहन्थेँ।

अझै यत्तिले पुगेन।
पुलिसहरू पनि उसैलाई हेरेर हिँड्थे। मुसुक्क हाँस्थे। एउटा कालो न कालो पुलिस सधंै उसको दोकानबाट चकलेट किन्थ्यो। त्यो देखेँ भने त छाती नै चरक्क भएजस्तो लाग्थ्यो।

'खाऊ मैया मेरो तर्फबाट,' कहिलेकाहीँ ऊ चकलेट दिँदै हाँस्थ्यो। हाँस्दा त दाँतमात्र देखिन्थे।

'उल्टो हाँडीलाई गोद्दिऊँजस्तो लाग्छ,' हतास मैले एकदिन रमेशलाई भनेको थिएँ।

आखिर के गर्नु? लुरुक्क परेर क्यारेम हेरेको बहानामा प्रियालाई हेर्न जान्थेँ। आफूलाई खेल्न नआएकोमा मनमनै मुर्मुरिन्थेँ।

एकदिन उसले गीत गाएको पनि सुनेँ-
रुक रुक रुक अरे बाबा रुक, ओ माइ डार्लिङ गिभ मि अ लुक

त्यो गीत सुन्न मैले धेरैपल्ट रेडियो सर्टवेभमा घुमाएँ तर भाग्यले साथ दिएन। भाग्य त अर्कै कुरामा रैछ। एकदिन भुटुटुटु हेलिकप्टरले सदरमुकाममा फन्का लगायो। सामान आयो कि भनेर म हेलिप्याडतिर दगुरेँ।

'बाबु, सुन त,' प्रियाकी आमाको आवाज आयो, 'हाम्रो सामान पनि आयो कि, हेर्दिनू।'
म नाइँ भनूँला त?

'हस्,' मैले ठूलो आवाजमा भनेँ र घोडाझैं दगुरेँ। हेलिप्याड पुग्दा हेलिकप्टरबाट सामान झरिसकेको थियो। मैले आफ्नो समानभन्दा प्रियाको सामान खोजेँ। भेटिएन।
'सामान आछैन?'

म पछाडि फर्किएँ। प्रिया पो उभेकी रैछ।
एकछिन त आवाजै आएन। मुख प्याक्प्याक् भयो। मैले कन्दै भनेँ, 'मैले हेरेँ, आको रैनछ।'
'हेलिकप्टरले उडाको धुलो मन पर्दैन मलाई त,' प्रिया हाँसी, 'जाम्।'

म गर्वले पछि लागेँ। अल्लि वरै आएपछि फुलेका तितेपातीको बीचमा उभेर उसले भनी, 'दगुर्ने हो? कस्ले जित्छ है त!'

म हिस्स हाँसेँ।

'वन टु थ्री,' ऊ कराई र बेस्मारी दगुरी। ओरालो लाग्यो, उसैले उछिनिरही। मैले पछ्याइरहेँ। उसलाई जितेर मलाई अगाडि पुग्न मन लागेन। प्रतिमानेर पुग्दा हामी असिनपसिन भइसकेका थियौं। प्रतिमाछेउ एउटा बुढाले डोकोभरि सुन्तला बेच्न राखेको थियो।

'पैसा छ?' उसले निधारको पसिना पुछ्दै भनी।

उसका ओठमाथि बिमिराझैं उम्रेका पसिना हेर्दै म रमाइरहेको थिएँ। पैसा त भए पो! मैले लजाउँदै दायाँबायाँ टाउको हल्लाएँ।

'हुस्सु, दस रुप्याँ पनि छैन?' ऊ हाँसी।
म वाल्ल परेँ।

'कटासे साउजीका छोरा हैनौ?' बुढाले भन्यो, 'लैजाऊ, पछि दिनू।'
बुढो त भगवान रैछ।

प्रियाले एउटा सुन्तला गोजीमा हाली, एउटा मलाई दिई। एउटाको बोक्रा खोल्साउन थाली। सुन्तलाको केस्रा मुखमा राखेर ऊ फेरि दगुरी। मैले पछ्याएँ। मलाई यसरी दगुर्न खुब रमाइलो लागिरहेको थियो। ऊ दोकानमा पुगेर भित्र पसी। म बाहिर उभिरहेँ। बोलाउँछे कि भन्ने आस थियो। बोलाइन।

लुरुलुरु घर फर्कें।
एकैछिनमा ऊ टुप्लुक्क मेरो दोकान अगाडि देखा परी।
'पैसा तिर्न जाम्,' उसले भनी।

बाले छक्क पर्दै हेर्नुभो तर बोल्नुभएन। म दस रुपियाँ हात मार्ने दाउमा थिएँ। उसका पछि लागेँ। ऊ दगुरी। प्रतिमा पुगेर बुढोलाई पैसा दिई। बुढाले हाँस्दै लियो।

त्यसपछि त कैयौं दिन यसरी बजारमा दगुर्दा-दगुर्दै बिते। एकदिन आमाले मलाई हप्काउनुभएको थियो, 'किन दगुर्छस् त्यसरी मुटु चुँडिने गरी?'

एकपल्ट ऊ र म घुम्दै पिपलचौतारी पुगेका थियौं। त्यही छेउमा थियो- जिल्ला प्रहरी कार्यालय। काले पुलिस ड्युटीमा रैछ। उसले सोध्यो, 'तिमीहरू दाजुबैनी हौ?'

म झर्किएँ, 'होइन, किन?'
'अनुहार उस्तै लागेर,' ऊ हाँस्यो।
म भने भित्रभित्रै भुंग्रोझैं डढिरहेँ। दाजुबैनी पो भन्दो रैछ ए!
**********************
प्रिया पनि अचम्मकी। कहिले घुम्न जाऊँ भनेर मेरो दोकानमै आउँथी त कहिले मलाई नचिनेझैं गर्थी। दुईतीन दिन त त्यस्सै बोल्दिनथी। बजारमा जम्काभेट भइहाल्यो भने म हाँस्दै सोध्थेँ, 'कता हिँडेको?'

'कतै होइन,' त्यस्सै ठुस्किन्थी।
त्यस्तो भएपछि मेरो त निदै हराम। म रातभरि छट्पटिन्थेँ, अब त बोल्दिन कि क्या हो? मैले केही नराम्रो पो भनेँ कि भनेर सोच्दा दिमाग टनटनी दुख्थ्यो।

एकपल्ट दिनभरि उसको र मेरो कुरा भएन। त्यसदिन उसको आफ्नी आमासित झगडा भएको रैछ। ऊ एक्लै जंगल घुम्न निस्केकी रैछ। जब ऊ बजारतिर उक्लिरहेकी थिई। मैले देखेँ। ओरालोको मुख्खैमा ढेडुझैं टुक्रुक्क बसेँ। उसले उकालो उक्लिँदै दुईपल्ट मलाई हेरी तर हाँसिन। उसका हातभरि फूल थिए। जब ऊ नजिक आई, मैले सोधिहालेँ, 'के ल्याको?'

'लौनू,' उसले एउटा फूल मेरो हातमा राखेर हिँडी। पछाडि फर्केर हेर्छे कि भनेको त हेर्दा पनि हेरिन। म पिलपिल भएँ। रातभरि निदाउन सकिनँ।

भोलिपल्ट त उसको अनुहारभरि फूल फक्रिए। ऊ हाँस्दै मेरो दोकानमा आई। सुटुक्क बोलाई। घरपछाडि लगी र गीत गुन्गुनाउँदै नाची। नाच्न पनि गजबै रैछ।

मेरो बजारका केटासित संगत छुट्दै गइरहेको थियो। रमेश पनि ठुस्स परेको थियो। प्रिया आएदेखि म एकदमै फरक हुँदै गएको थिएँ। उसले बोलाए, घुम्न निस्किन्थेँ। नत्र, दिनभरि रेडियो सुन्दै दोकानमै बस्थेँ।

मध्यसाउन नहुँदै धेरैपल्ट पानी पर्‍यो, घाम लाग्यो। ऊ फर्किने दिन पनि आइसकेको थियो। ऊबिनाको मान्म कल्पना गरेर म अत्तालिन्थेँ। निद्रामै झस्किएर उठ्थेँ। झ्यालबाट बाहिर हेर्थें, तारा देखिए भने रमाउँथेँ। किनभने, प्रियालाई राति तारा हेर्न मजा लाग्थ्यो।

आखिर साउन १५ लाग्यो। स्कुल खुल्ने बेला भइसकेको थियो। ऊ फर्किने भई। भोलिपल्ट हेलिकप्टर आउने भइसकेको थियो। हेलिकप्टर चढ्नेको लिस्टमा उसको नाम टिपिइसकेको थियो। ऊ दिनभरि आमासित झगडा गरेर बसिरही। खुब रोई। 'म यतै पढ्छु' भनेर बिन्तिभाउ गरी। तर आमाचैंले मानिनन्।

त्यसदिन म ऊसित धेरै कुरा गर्न चाहन्थेँ तर ऊ घरबाट बाहिरै निस्किन। मैले कैयौंपल्ट उसको दोकानअगाडि फन्का लगाइरहेँ।

राति अबेरसम्म निदाउन सकिनँ।
बिहानै दस बजे हेलिकप्टरले फन्का लगायो। म अत्तालिएँ। उसको दोकानअगाडि पुगेँ, ऊ त झोला बोकेर तयार भइसकेकी रैछ। हतार थियो- मतिर हेर्दा पनि हेरिन। म उभिरहेँ।

अनि, उसकी आमा र ऊ हेलिप्याडतिर दगुरे। मैले पछ्याएँ। हेलिकप्टर चढ्ने बेला ऊ फेरि रोई। उसका आँखा राता भएका थिएँ। उसले आँसु पुछी। बल्ल मलाई देखी। म छेउमै उभेको थिएँ। हेलिकप्टरतिर लाग्ने बेला उसले खिस्स हाँस्दै भनी, 'हेलिकप्टर उडेपछि बाई गर्नू है!'

मेरो आवाज निस्किएन।
भटटट हेलिकप्टर आकाशतिर उक्लियो। सबैले हात हल्लाए। मलाई त के भो, के भो हातै हल्लाउन सकिनँ। बिस्तारै हेलिकप्टर चरा भयो।

*****************************
अनि त मलाई के भाको?
प्रियाको सम्झनामा टोलाको टोलायै। रेडियो काखमा राखेर गीत सुन्दै पिलपिल। 'तिमी नै भनिदेऊ ए जाने निठुरी' सुन्यो कि रुन आउँथ्यो। बजारका धेरै मान्छे मेरो ताल देखेर छक्क पर्थे। एकदिन आमाले देखेर भन्नुभो, 'के भो तँलाई, रूँलाझैं गर्छस् त!'

आमाले यत्ति के भन्नुभएको थियो, म त ग्वाँ˜˜ रोइहालेँ।

एकदिन प्रियाको खुबै सम्झना आयो। चिठी लेखेँ- 'तिमीबिना बाँच्न सक्दिनँ आई लभ यु' भनेर। उसको स्कुलको ठेगाना मलाई थाहा थियो। चिठी तयार पारेँ। रजिस्ट्री गर्‍यो भने हातमै पुग्छ भन्ने पनि थाहा थियो। तर, हुलाकसम्म जाने आँट आएन। हुलाकका मान्छेले के भन्लान् भन्ने लाग्यो।
'नाइँ, म त जान्नँ,' रमेशले पनि मानेन।

दस रुप्याँ घुस दिन्छु भनेपछि उसले मान्यो। मोरो त हुलाक गएर हुलाकीको टेबुलमा रुपियाँ र चिठी फालेर भागेछ। त्यसदिन म अछामतिर जोल्ठिएका पहाड हेर्दै टोलाइरहेँ। कहिले पुग्ला चिठी?
त्यसको बीस-एक्काइस दिनपछि प्रियाकी आमा दोकानै आइन्। म मात्रै थिएँ।

'तिम्ले चिठी लेखेको हो?' उनले सोधिन्।
मैले शिर निहुराएँ।

'त्यस्तो पनि गर्ने हो?' उनी बम्किइन्, 'बिचरीले रुँदै फोन गरेकी थिई। मिसले चिठी नपढी दिनुभो। पढेको भए त रेस्टिकेट हुन्थेँ भनेर रोई। अब यस्तो गर्छौ?'
'नाइँ,' मेरो मरेको आवाज आयो।

त्यसपछि त म झन् पिलपिल। एकदिन मेरो ताल देखेर बा बम्किनुभो, 'पढ्नु लेख्नु छैन। पिलपिल पिलपिल गर्‍या छ। एक मुक्का हान्छु अनि।'
*******************************
अर्को असार आयो तर प्रिया आइन। म धेरैदिन छट्पटिएँ। बजारमा हिँड्दा पनि ऊसित दगुरेको याद आइरहन्थ्यो। अर्को असार आयो। मलाई लाग्यो, यसपालि पनि प्रिया आउन्न। एकसाँझ ठुल्ठुलो भारी बोकेका दुईजना मान्छेसित आइछ। हेलिकप्टर पाइनछ। दुईतीन दिन घरबाट निस्किइन। निस्के पनि के, मसित त बोल्दा पनि बोलिन। मलाई बोलाउने आँट पनि आएन। यसपालि ऊ दस दिन घर बसेर फर्किने भई। थाहा पाएँ तर मैले 'सरी' पनि भन्न सकिनँ।

ऊ फर्किने दिन म उसलाई पछ्याउँदै हेलिप्याडसम्म पुगेँ। ऊ हेलिकप्टर चढ्ने बेला रोइन। खुरुक्क गई। मलाई त्यहीँ मुर्छा परेर ढल्छुझैं लाग्यो।

भटटट हेलिकप्टर आकाश उक्लियो। सबैले हात हल्लाए। मैले पनि खुसुक्क कसैले नदेख्ने गरी हात हल्लाएँ।
सायद त्यो अन्तिम 'टाटा' थियो।
*************************
त्यसपछि मैले उसलाई कहिल्यै कतै दखेको छैन। चार-पाँच वर्षअघि मैले सुनेकोथेँ- ऊ अचेल काठमान्डु छ रे। भेट भएको छैन। के उसले यो पढी भने भेट्न आउली?
उसले दिएको फूल सुक्नै लागेको छ।
नागरिकबाट

फुटबलको गोर्खाली इतिहास

- मनोज गजुरेल
अमेरिकामै 'फुटबल' चिन्दैनन् 'सकर' भन्नु पर्दछ- भने फुटबलको जन्म अंग्रेजले गरे भनेर कसरी पत्याउने ! मलाई लाग्छ 'फुटबल' विशुद्ध नेपाली खेल हो र कुनै नेपाली भाषीले नै यसको नामाकरण गरेको हुनु पर्दछ । यदी बेलायतबाटै यसको शुरुवात भएको मान्ने हो भनेपनि श्री ३ जंगबहादुर लण्डन गएको बेला पहिलो पटक उनकै मुखबाट यसको उच्चारण र तिनकै हातबाट खेलको उद्घाटन भएको हुनुपर्दछ- अस्पष्ट इतिहासकार श्री हनुमान शाहको अनुमान छ !

श्री हनुमानको अनुमान अनुसार जंगबहादुरलाई बेलायतकी महारानीले एउटा भकुण्डो उपहार दिएकी थिइन् । त्यसको प्रतिकृयामा जंगबहादुरले 'थ्यांक्यू गुडगर्ल !' भन्न खोज्दा कमजोर अंग्रजीज्ञानका कारण 'ठ्यांक्यू फुटबल !' भने होलान् । त्यसैदिनदेखी महारानीले त्यो बेनामे भकुण्डोको नाम 'फुटबल' राख्न आदेश दिएको हुनसक्छ । उनको अर्को अनुमान अनुसार बकिम्घम प्यालेसले आयोजना गरेको एउटा खेलमा जंगबहादुर स्वयम् खेलाडी बनेका थिए । उनले जमाएर हानेको भकुण्डो पर्खालमा बज्रियेपछि आत्तिएका उनको मुखबाट निस्किएको शब्द 'ला, फुट्यो वाल!' सुनेर रेफ्रीले त्यसबेलासम्मको उक्त बेनामे खेलाको नाम 'फुटबल' राखेको हैन भन्ने आधारपनि छैन !

'Foot, फुट' फुटमाने पैताला । पैतालालेमात्रै खेल्ने भए पो यॊ अंग्रेजीबाटै आएको हो भनेर बिश्वास गर्नु ! टाउकोको 'हेडिङ'देखी कुर्कुच्चाको 'किकिङ्ग्'सम्म यस खेलमा नियमससङ्गत मानिन्छ ! ढाडले रोक्नेपनि सही, छातीले छेक्नेपनि सही, हातबाहेक शरीरका अधिकांस अंग चलाएमान हुने खेल कसरी 'फुटबल'मात्र भयो यो त 'सर्वांगबल' पो भयो त'- श्री हनुमानको अनुमान छ । यदी यो शब्द अंग्रेजीबाट आएको हो भने फुटबल हैन 'फुडबल' हुनुपर्छ । सम्पन्नहरुले खाना पचाउन खेलिने भएकोले अथवा बिपन्नहरुले खाना जुटाउन प्रतिपर्धामा उत्रिने कारणले यसखेललाई 'Foodसङ्ग जोडेर 'फुडबल' भनिएको हनुमानको अनुमानलाई पनि अन्यथा मान्दैनन् ।

हनुमानमात्रै किन, अनुमान त जसको मनले गरेपनि भयो । खप्परध्वजको तर्क छ- आमा अर्जेन्टिनाको पक्षमा, बाबु ब्राजिलको बिपक्षमा ! दिदी डेनमार्कतिर, भिनाजु भेनेजुयलातिर !छोरी पाराग्वेले जिते लुत्रिने, बुहारी बेलायतको बिजयमा उफ्रिने ! कोही कोरियाको हारमा कराउने, कोही जर्मनीको जीतमा डराउने ! खेललाई खेलमात्रै नमान्ने, जिन्दगीको रेल नै ठानेर झुण्डिइ रहने !युरोपका बिरुद्ध एसिया लडाउने, अफ्रिका भर्सेज अमेरिका भिँडाउने ! मान्छेको एकाग्रता टुटाउने, परिवारिक एकता मेटाउने, जितमा श्रीसंपती लुटाउने, हारमा आफ्नै टाउको फुटाउनेजस्ता कारणले यो खेलको नाम 'फुट बल' रहन गएको हो !

खुला अर्थतन्त्रको सुपरमार्केटमा आफ्नो तर्कको बजार थाप्न सबै स्वतन्त्र छन् । खप्परध्वजको माथीको तर्कसंग मेरो तर्क प्रतिपर्धामा उत्रन चाहान्छ । फुटबलले फुटाउने हैन, जुटाउने गर्दछ । युद्धमा हराउनेसरदार राष्ट्रहरुदेखी बुद्धमा रमाउने सदाबहार राष्ट्रहरुसम्मलाई बिश्वकपले एकै ठाउंमा जुटाइ दिएको छ । 'कमनिष्ठा' दक्षिण कोरियाहुदै 'कम्युनिष्ट' उत्तर कोरिया समेत एउटै मैदानमा लात्ती बजार्दैछन् । म त भन्छु- यो खेलको नाम फुटबल हैन 'जुटबल' राख्नु पर्दथ्यो ।

'जुटबल'लाई किन 'फुटबल' भनिएको होला- तर्कका उत्पादकहरु नयां नयां माल निकाल्लान् । कोही भन्लान्- यो न फुटबल हो, नत 'जुटबल' ! यो त 'लुटबल' हो ! सबैजना फुटबल हेर्न टिभीमा टांसिइरहेको बेला उता सबै सामान चोर फटाहाहरुबाट लुटिएकाहरुलाई यो तर्क पनि ठिकै लाग्दो हो । सनकी खेलाडीको कुटाइ खाएर मैदानमै ढलेका रेफ्रीहरुले यो खेल फुटबल हैन यो त 'कुटबल' रहेछ भनेपछि 'हो' 'हो' भन्न करै लाग्यो । बल खेलेर भ्यात्ते जिउपनि सिन्काजस्तो स्लिम बनाउनेहरुले के को फुटबल, यो 'गुडबल' रहेछ भन्दाखेरी पनि मान्नै पर्यो । मैदानमै खेलाडीले खेलाडीलाई गोरु चुटाइ चुटेको देख्दा 'चुटबल' पो रहेछ भन्ने त सबैलाई लागी हाल्दछ !

मनपर्दो खेल हेर्न छुटाउनेहरुका नजरमा यो 'छुटबल' होला, आधाखेलमै निदाउंनेहरुहरुका लागि 'टुटबल' होला ! खेलै मन नपराउनेहरु 'ऊंटबल' भन्लान्, ब्रेन बिग्रएकाहरु 'सुटबल' भन्लान् र मैदानमै आतंक मच्चाउंदा होलान् ! अगाडीको फुट, छुट, जुट, चुट,आदीमा गनगन भएपनि पछाडीका 'बल'मा भने सबैको बिचार मिलेको देखिन्छ । तर बल भएरमात्रै हुदैन, त्यसमा हावाको बुद्धीपनि भर्नुपर्छ । बलमा बुद्धी भयो भने संसारलाई एक ठाउंमा ल्याउन सकिँदो रहेछ भन्ने कुरा विश्वकपले विश्वास दिलायो त !

मेरो गौरवखाली खप्पर पार्टीको ठम्याइ छ- कैलेकाहीं क्रिकेटको बल फुट्न सक्छ- बरु त्यसलाई 'फुटबल' भनौं । बलजत्रो हांडी फुटाउने खेलपनि एकखाले 'फुटबल' नै हो । किक र काता प्रहारले खेलाडीका बलजत्रा खप्परहरु फुटेको देख्दा मलाई त 'जुडो करांते'पनी फुटबलजस्तो लाग्छ ! मुख्य फुट्बल त राजनैतिक शक्तिहरु हुन जसले समाजलाई टुटाउने र फुटाउने गर्दछन ।
अत:संसार जुटेर खेलिरहेको, हेरिरहेको 'जुटबल' लाई 'फुटबल' भन्नु चाँही अर्थ न बर्थ गोबिन्द गाई भुंडीमा मुसा घांटीमा टाईजस्तो भयो । कि कसो !!

बाउको सट्टा मैले भाषण गरेँ

'पहिलो भाषण गर्दा खगेन्द्र संग्रौला तेह्र वर्षका थिए । आफ्ना बाको सट्टा बोल्न पुगेका उनले गाउँको चौतारामा उभिएर पिँडुला कमाउँदै बोले । नेपालका राम्रा वक्तामा गनिने संग्रौलाका भाषण-कलामाथि केही विचार र अनुभूतिः

खगेन्द्र संग्रौला जति 'कडा' लेखक हुन्, त्यत्तिकै राम्रा वक्ता पनि हुन् । उनको लेखन मन नपराउनेहरू समेत उनको प्रभावशाली वक्तृत्वबाट कायल हुन्छन् । उनको भाषण मन पराउनेहरूको 'अनौपचारिक' रेटिङमा उनी नेपालका पाँच उत्कृष्ट पब्लिक स्पिकरमध्ये पर्छन् । भाषा, शैली, प्रवाह, समय-सीमाको चेतना उनका भाषणका विशिष्टता हुन् । उनका बारेमा भन्ने गरिन्छ, 'उनी दिइएको समयमा एक शब्द घटबढ नगरी भन्नुपर्ने कुरा भन्छन् ।'

संग्रौलाको भाषण-इतिहास कम्ती पुरानो छैन । पहिलो भाषण गर्दा उनी तेह्र वर्षका थिए । उनको गाउँमा भर्खरै विद्यालय खुलेको थियो । सञ्चालक समिति सभापति थिए उनका बा, जो कहलिएका ज्योतिषी थिए । 'विद्यालय सञ्चालक समितिको बैठक थियो सायद,' उनी सम्झन्छन्, 'वरपीपलको सिँढीदार चौतारीमा २५/३० जना भेला भएका थिए । मलाई साह्रै माया गर्ने शिक्षक लीला सिवाकोटी उद्घोषक हुनुहुन्थ्यो । उहाँले मेरा सभापति बालाई मन्तव्य राख्न अनुरोध गर्नुभयो । बाले 'म उभिएर बोल्न सक्दिनँ । मेरो छोरो तीखो छ, यसले बोल्छ' भनेर मलाई घानमा पारिदिनुभयो । लीला सर नयाँ कुरा प्रयोग गर्न/गराउन खप्पीस हुनुहुन्थ्यो । उहाँले मलाई हौस्याउनुभयो । म बोल्न तयार भएँ ।' भाषणको मैदानमा यसरी उत्रिएका किशोर खगेन्द्रले बेहोरेको स्टेज फ्लाइट (मञ्च भय) यसप्रकार छ, 'म होचो मान्छे । चौतारोको अग्लो सिँढीमा उभिएर बोल्न थालेँ । पिँडुला थर्थरी कामिरहेका थिए । लाज र भयले अनुहार रातो-पीरो भएको थियो ।' बाबुको सट्टा बोलेका खगेन्द्रले मुस्किलले पाँच-सात मिनेट बोले । 'के बोलेँ पूरै सम्झना त छैन,' उनी भन्छन्, 'तर, पहिलो भाषणमा मैले बोलेको यतिचाहिँ सम्झन्छु- शिक्षा भनेको बत्ती हो, बत्तीले ज्ञान फैलाउँछ, ज्ञानले पैसा ल्याउँछ, पैसाले सुख ल्याउँछ ।' शैक्षिक, आर्थिक, दार्शनिक पक्षयुक्त घच्चिको पन्चलाइन ठोकिदिएका खगेन्द्रले भाषणपछि घनघोर वाहवाही बटुले । 'सबैले केटाले क्या गजब बोल्यो भनेर फुक्र्याए,' उनी सम्झन्छन् ।

स्टेज फ्लाइटलाई भाषण-कलाको सबभन्दा ठूलो शत्रु मानिन्छ । यसलाई मोबोफोबिया (भीडसँगको डर) को एक स्वरूप मान्न सकिन्छ । कसै-कसैले त जीवनभरि स्टेज फ्लाइटबाट मुक्ति पाउँदैनन् । वाणी-प्रवीणहरूमा गनिने खगेन्द्रलाई पनि कहिलेकाहीँ स्टेज फ्लाइट हुँदोरहेछ । 'विषयमा दख्खल नभएको वेला, मनोदशा शान्त नभएको वेला बोल्नुपर्दा मेरा खुट्टा काम्छन् । डर लाग्छ,' उनी भन्छन् ।

बोल्दा सबभन्दा महत्त्वपूर्ण कुरा हो- आत्मविश्वास । 'सबभन्दा जान्ने मै हँ, यी सबै मलाई सुन्न आएका हुन् भन्ने आत्मविश्वाससाथ माइक समात्नुपर्छ,' पब्लिक स्पिकिङको चुरो नै यही भएको बताउँछन् खगेन्द्र । यसले श्रोतादेखि हुने भयलाई परास्त गर्न सहयोग पुर्‍याउँछ । तर, यसको मतलब यसप्रकारको 'भयानक' घमन्डले राम्रो वक्ता बनाउँछ भन्ने कदापि होइन । 'यो स्टेज फ्लाइटबाट मुक्त हुने एक उपाय मात्र हो,' खगेन्द्र भन्छन्, 'वक्ताले आफ्नो तह र स्तर राम्ररी बुझ्नुपर्छ । मै हुँ भन्ने अभिमान र विनयशीलताको सन्तुलन अपरिहार्य छ । मैले जानिसकेँ भन्नु स्वर्गीय हुनु हो ।'

मन्तव्य र भाषणमा कहिल्यै लोकसेवा आयोग लागू हुँदैन भन्छन् उनी । अर्थात्, बोल्नु कला हो । न यसका निर्दिष्ट नियम हुन्छन्, न कुनै परीक्षाले यसको स्तर तय गर्न सक्छ ।

राम्रो वक्ताले आफूलाई बोल्न दिएको समयको राम्रो हेक्का राख्छ र त्यहीअनुसारको तयारी गर्छ । खगेन्द्र आफूले बोल्ने कार्यक्रमका आयोजकलाई पहिल्यै सोध्छन्, 'मैले कति समय बोल्नुपर्छ ?' बोल्ने समयावधि ज्ञात भएपछि उनी तयारी गर्छन् । बोल्ने विषयका मसिना बुँदा बनाउँछन् । उपमा, प्रतीक, दृष्टान्त, हस्यौली आदि कहाँ-कहाँ प्रयोग गर्ने, त्यसबारे सोच्छन् र क्रमबद्ध बोल्छन् । उनका यी भाषण टिप्स सबैलाई उपयोगी हुन सक्छन् । विशेषगरी, मन्त्रीहरूलाई । हाम्रा मन्त्रीहरू आफ्ना करकमलले उद्घाटन गर्न र मुखारविन्दबाट शब्दवर्षा गर्न जहाँ पनि पुग्छन् । जुन विषयमा विज्ञताशून्य र अनुभवशून्य हुन्छन्, त्यही विषयमा बोल्न हुर्दुराउँदै पुगेका हुन्छन् । मन्त्रीहरूको यो भुइँफुट्टापन थप प्रस्ट्याउन खगेन्द्रले दिएको एक दृष्टान्त सुन्न लायक छ । 'किताब विमोचन गर्न जान्छ मन्त्री,' उनी भन्छन्, 'र भन्छ- मैले यो किताब पढ्न भ्याएको छैन, तर मलाई विश्वास छ कि यो तगडा किताब हो । पढ्दै नपढीकन कुनै किताबप्रति धारणा बनाउनु घोर बेइमानी हो ।'

मन्त्रीहरूको 'भाषण-कला'लाई नांगेझार पारिदिने एउटा जोक छ । एकताका खुब चलेको जोक । पञ्चायतकालमा कुनै कार्यक्रममा एक मन्त्रीलाई नेपालमा राजतन्त्रको अपरिहार्यतामाथि बोल्न आमन्त्रण गरिएछ । उसले नेपालमा राजतन्त्र युगौँसम्म किन चाहिन्छ, त्यसको तर्क यसरी दिएछ- 'राजा नभई देश चल्दैन । भारतमा पनि राजा नभई नहुने हुनाले राष्ट्रपति राखिएको हो ।'

भाषणअघि तयारी एकदम जरुरी छ । वक्ता ज्ञानको समुद्रै किन नहोस्, तयारी भएन भने उसको धोती खुस्किन्छ । जति कम बोल्ने हो, त्यति धेरै तयारी हुनपर्छ भन्छन् पब्लिक स्पिकिङका पण्डितहरू । उनीहरूका अनुसार एक घन्टा बोल्नका लागि दुई दिन तयारी गर्ने हो भने पाँच मिनेट बोल्नका लागि एक हप्ता तयारी गर्नुपर्छ । संग्रौला रातभरि रट्ने, घोक्नेखालका वक्ता पनि होइनन् र माइक समातेपछि तत्क्षणमा जे-जे फुर्छ, त्यही त्यही बोलेर टाप ठोक्ने वक्ता पनि होइनन् । तर, आफूलाई दख्खल नभएको विषयमा जथाभावी मुख जोत्न जानु उनलाई कदापि मन्जुर छैन । यस स्वभावले पनि उनलाई प्रभावशाली वक्ता बनाएको हो ।

वक्ता जति नै प्रकाण्ड विद्वान् होस्, जति नै प्रसिद्ध होस्, मुखमै सरस्वती विराजमान भएको होस्, श्रोता जागरुक भएनन् भने उसले राम्रो भाषण गर्न सक्दैन । 'जागरुक र उत्सुक श्रोता भएन भने बेजोड वक्ताले पनि राम्रो बोल्न सक्दैन,' उनी भन्छन् ।

आफूले गरेका भाषणमा उनी सबभन्दा सन्तुष्ट भएको घोडा, ईश्वर र मेरा बा निबन्धसंग्रहको विमोचन कार्यक्रममा हो । 'सन्ताउन्न सालतिर होला, होटेल अशोकामा भएको विमोचन कार्यक्रममा म किन लेख्छु भन्नेबारे बोलेको थिएँ । आफूले बोलेमध्ये सबभन्दा राम्रो बोलेको त्यही वेला हो जस्तो लाग्छ,' उनी भन्छन् । अनि सबभन्दा झुर नि ? 'सिके लालको शोधपत्र राष्ट्रियताको नयाँ परिभाषामाथि तीन-चार ठाउँमा टिप्पणी गर्न पुगेको थिएँ,' उनी बताउँछन्, 'यही क्रममा रौतहटको गौर पुगेको थिएँ । गर्मी र थकानले लोत परेको थिएँ । श्रोतामा पनि त्यति उत्सुकता थिएन । गौरमा मैले झुर बोलेँ जस्तो लाग्छ ।'

खगेन्द्र संग्रौला अंग्रेजीका राम्रा विद्यार्थी हुन् । कुनै वेला अंग्रेजी नै उनको पेट पाल्ने माध्यम थियो । उनी अंग्रेजी पढाउँथे, अंग्रेजीका किताब अनुवाद गर्थे । अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने संग्रौला अंग्रेजी 'राम्रो' बोल्नचाहिँ सक्दैनन् रे । उनले अंग्रेजीमा एउटा मात्रै भाषण दिएका छन् । त्यो पनि करकापले । 'महिना दिनअघि न्युयोर्कबाट १० विद्यार्थीको प्रतिनिधिमण्डल नेपाल आएको थियो,' उनी बताउँछन्, 'समकालीन नेपाली राजनीतिमा मलाई केही बोल्न लगाइयो । मैले सिके लालजीलाई अंग्रेजीमा बोल्नुपर्‍यो भने म आफूले भन्न चाहेको कुरा राम्ररी राख्न सक्दिनँ भनेँ । तर, उहाँले भाषिक शुद्धता कसले हेरिराख्छ र भनेर मलाई बोल्न लगाउनुभयो । उनीहरूले राम्रै बोल्नुभयो भने पनि मलाई आफूले त्यति गतिलो बोलेजस्तो लागेन ।' उनी थप्छन्, 'संभवतः यो मेरो पहिलो र अन्तिम अंग्रेजी भाषण हो ।'

उनलाई डा. हर्क गुरुङ, प्रदीप गिरी, डिपी भण्डारी, अभि सुवेदी र सिके लाल बेजोड वक्ता लाग्छन् । अझ हर्क गुरुङको वक्तृत्वबाट त उनी हदै प्रभावित थिए । भन्छन्, 'उनी अंग्रेजी र नेपाली दुवै भाषामा बिछट्टै राम्रो बोल्थे ।'
नयाँ पत्रिकाबाट

गजल (लठ्ठिएँ म पनि)

- विष्णु बैकुण्ठे 
मसक्क मस्किदै आयौ,मस्किएँ म पनि
टसक्क टांस्सिदै गायौ, रत्तिएँ म पनि

भिजेको मान्छे भासिन, के बेर लाग्छ र ?
धपक्क बत्तिदै धायौ, लठ्ठिएँ म पनि

छेप्पारो झैं रङ्ग फेर्ने, तिम्रो बानी भेट्दा
कसक्क कस्सिदै छायौ, झस्किएँ म पनि

कुहिएछौ बेखबर, फर्सी जस्तै तिमी
चरक्क चर्किदै खायौ, तर्किएँ म पनि

तिम्रो सभ्यता गुमेको, थाहा पाएँ जब
लत्रक्क लत्रिदै भाग्यौ, फर्किएँ म पनि
_-_*_-_-_*_-_-_*_-_-_*_-_