साउदी अरबमा ऐतिहासिक भलिबल प्रतियोगिता सम्पन्न

तेज थापा, दमाम
गत भाद्र २ गते शनिवार तदनुसार १८ अगस्त, २०१२ का दिन, साउदी अरबको पुर्बी क्षेत्र देहरान स्थित नेस्मा क्याम्पमा नेस्मा पार्टनर्स, रवाबी ग्रुप र नेस्मा ट्रेडिंग नेपाली समाज (NRTNC) ले मुस्लिम धर्मालम्बीहरुको महान चाड इद-उल-फितरको अवसर पारेर भलिबल प्रतियोगिता राखेको थियो । नेपालीद्वारा खेलाइएको भलिबल प्रतियोगिता मध्ये साउदी अरबको इतिहासमा अहिलेसम्मकै उच्च स्तरीय प्रतियोगिता भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

नेपाली राजदुतावास रियादका महामहिम राजदुत उदयराज पाण्डेज्युको प्रमुख आथित्यमा उक्त कार्यक्रमको उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै महामहिम राजदुत उदयराज पाण्डेज्युले खेलकुदको माध्यमद्वारा नेपाली सद्भाव र एकता झल्काउन अहम भूमिका खेल्ने विचार ब्यक्त गर्नु भएको थियो । आयोजक प्रति आभार प्रकट गर्दै साउदी अरबको विषम परिस्थिति र अनगिन्ति चुनौतिको बाबजुद विभिन्न क्षेत्रमा कार्यरत त्यति धेरै नेपालीहरुलाई जमघट गराउने NRTNC को प्रयास निकै सराहनीय रहेको भनाइ राख्नु भएको थियो ।
यसै गरि आफुले राजदुतको कार्यभार सम्हालेदेखि नै साउदी अरबमा कार्यरत नेपालीहरुको पक्ष र हीतमा समन्धित निकायसंग बिषेश पहल गर्दै स्पष्ट देखिनेगरि परिवर्तन ल्याएको, जसअन्तर्गत नेपाली श्रमिकहरुको न्युनतम पारिश्रमिक लगायत अबैधानिक तवरले साउदीमा जेल जीवन बिताइरहेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन बिशेष पहल र अभियान चलाएको जानकारी समेत दिनु भएको थियो भने मुस्लिम धर्मालम्बीहरुलाइ इद-उल-फितरको शुभकामना पनि दिनु भएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गर्ने महानुभाब, साहित्यकार, पत्रकार तथा अनलाइन रेडियो कर्मीहरुको समेत उपस्थिति थियो त्यस्तै नेस्मा पार्टनर्स, रवाबी ग्रुप र नेस्मा ट्रेडिंगका उच्च कर्मचारीहरुको पनि उपस्थिति थियो । करिब १००० जना भन्दा अधिक बिशाल जनसागर, ब्यबस्थित कुर्सि सोफा, ध्वजा, पतंगा, फुल,झिलिमिली बत्तिले सजिसजाउ मंच देख्दा त्यो एउटा भलिबल मैदान नभएर बिबाह समाहरो पो कि भन्ने आभास मिल्थ्यो । महामहिम राजदुत पाण्डे दम्पतिको स्वागत गर्न मंचदेखि लगभग ८०० मिटरको लामो २ लाइनमा लहरै आयोजक कमिटिका साथीहरु एकापसमा हातेमालो गरि उभिएका थिए । करिब १०० भन्दा माथि एउटै युनिफर्म (हरियो ड्रेस) मा स्वयमशेवकहरु खटिएका थिए ।

महामहिम राजदुत पाण्डे दम्पति प्रांगणमा प्रवेश गर्नबित्तिकै फुल र तालीको गड-गडाहातले स्वागत गरिएको थियो भने "नेपाल र नेपाली संस्कृति मै रमाउन पाउँ" भन्ने कबिता बाचनसंगै कार्यक्रमको सुरुवात गरिएको थियो र आसन ग्रहण पश्चात नेपाली राष्ट्रिय गीत बजेसंगै आयोजक NRTNC को भलिबल टिम र स्वयमसेवक ब्युरोले मैदानमा मार्चपास समेत गरेको थियो । तत्पश्चात महामहिम राजदुत उदयराज पाण्डे ज्युले भलिबल सर्बिस गरि प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

भलिबल प्रतियोगितालाई ब्यबस्थित र अनुशासित बनाउन NRTNC मा आबद्ध सम्पूर्ण सदस्यहरुलाई संयोजक, सहसंयोजक, ब्यबस्थापक-यातायात ब्युरो, प्रचार-प्रसार ब्युरो,संचालक-समापन ब्युरो, रजिस्ट्रेसन-वितरक ब्युरो, खेल नियम-अनुशासन ब्युरो तथा स्वयमशेवक ब्युरो गरि खण्ड-खण्डमा छुटाएको थियो । २ रात २ दिन लगातार चलेको उक्त भलिबल प्रतियोगितामा निकै रोमान्चक खेलहरु भएका थिए । बेस्ट अफ ५ नियम अन्तर्गत खेलाइएको अन्तिम खेल निक्कै रोमान्चक र घमासान युद्ध जस्तै भएको थियो ।

अन्तिम पाचौं सेट १६:१४ ले पारजित गर्दै मेची महाकाली टिम NRTNC ले आयोजना गरेको पुर्बी क्षेत्र खुल्ला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो । अन्तिम चरणमा पुरस्कार वितरण कार्यक्रम रहेको थियो जस अन्तर्गत रेफ्रीको भूमिका निर्भाह गरिदिनु भएका रेफ्रीद्वय कमल सिंजाली मगर र बाबुराम रानालाइ प्रमाण पत्र हस्तान्तरण गरिएको थियो त्यसैगरि उक्त भलिबल प्रतियोगिताका प्रायोजक, IME बैंकका सुरेश खड्का र सहप्रायोजक सनराइज नेपाली कार्गोका जैन लामालाई सम्मान पत्र वितरण गरिएको थियो भने कार्यक्रम अबधिभर बिशेष सहयोग गर्ने एक्सप्रेस मनिका रुद्र कुमार कार्की र अलवोयासिस कम्पनीमा कार्यरत कमल थापालाई प्रसंशपत्र समेत वितरण गरिएको थियो ।

प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्ने NRTNC "A" टिमका टिम क्याप्टेन उत्तम पाण्डेलाइ "बेस्ट प्लेयर अफ दि म्याच" को सिल्ड तथा प्रमाण पत्र वितरण गरिएको थियो । तृतीय पुरुस्कार विजयता लांघाली मगर संघ दम्मामलाइ नगद साउदी रियाल ५००/-, सिल्ड, मेडल्स र प्रमाण पत्र त्यसैगरी द्वितिय पुरुस्कार विजयता घान्द्रुक "A" टिमलाइ नगद साउदी रियाल १,०००/-,सिल्ड, मेडल्स र प्रमाण पत्र वितरण गरिएको थियो । साथै प्रथम पुरस्कार विजेता मेची महाकाली टिमलाइ नगद साउदी रियाल १,५००/-, सिल्ड, मेडल्स र प्रमाण पत्र वितरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

NTTNC द्वारा आयोजित भलिबल प्रतियोगिताका केहि झलकहरु :
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 






1 comment:

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।