मैले देखेको सुपरमुन

-विष्णु प्रसाद चापागाई


मलाई किन किन सानै छँदा देखिनै खुल्ला आकाशमा बसेर ब्रम्हाण्ड नियाल्न मन लाग्ने गर्दथ्यो । अझ संचारमाध्यमबाट खगोल सम्बन्धि समाचार प्रसारित वा प्रकाशित भए झन् उत्साहका साथ आकाश नियाल्ने गर्दथें । यतिसम्म कि पोहोरको साल दिनमै सुर्य ग्रहण लाग्दा मैले खुल्ला आँखाले समेत ग्रहण नियाल्न पुगेँ आफ्नो सचेतना गुमाउँदै भए पनि । यसलाई मैले सामान्य रुपमा लिएँ वास्तवमा यो मेरो ठूलो कमजोरी थियो ।

नभन्दै हिजो राती आकाशमा १८ बर्षपछिको सबैभन्दा ठूलो (औषतमा १४% ठूलो) चन्द्रमा देख्ने रहरले मलाई विहानै देखि गाँजेको थियो । दिनभरी साथीहरुसँग यसै विषयमा छलफल गर्दै बेलुका सबैजना भेला भइ अवलोकन गर्ने निर्णयका साथ बेलुका भेला भइयो।

अरुबेला फेब्रुअरीदेखि नै मरुभूमिको धुलो उडाएर आकाशमा बादल लगाउने साउदी अरेबियाको यो क्षेत्रमा हिजो भने प्रकृतिले साथ दिएकै भन्नु पर्छ । निकै उत्साहका साथ हामीले चन्द्रमालाई शुरुदेखि नै नियाल्यौ । चन्द्रमा वास्तवमा नै गज्जब देखियो । साँझ ६:३० मा मा नियाल्दा चन्द्रमा केही ठूलो हो कि भन्ने लाग्दथ्यो मधुरो हुनाले अड्कलबाजी सामान्य रह्यो । तर हामीले प्रयासलाई निरन्तरता दिइरह्यौ । बेलुकी ९ बजे चन्द्रमामा धेरै परिवर्तन भइसकेको थियो । मतलब धेरै चम्किलो । खुल्ला आकाशमा बिना रोकतोक एक अटल चन्द्रमा आफै मुस्कुराइरहेको थियो पृथ्वीको नजिकै आएर । मैले चन्द्रमालाई नियालिरहँदा चन्द्रमाले नै मलाई गिज्याउँदै नियालिरहेको आभाष पो भयो मलाई । हामी सबैमा नौलो जागरण छाएको थियो । अब हामी बाहिर बालुवामा सुकुल ओछ्याएर त्यही रात कटाउने भयौ तास खेल्दै । हामीलाई चन्द्रमा बाहिरको अर्को प्रकाशको जरुरत परेन । सहजै हामीले हातमा भएको तासको अंकहरु देख्न सक्यौ ।

रातको ११.३० बजे त चन्द्रमा यति चम्किलो भयो कि कसैले सूर्यको प्रकाशलाई ऐनाबाट परावर्तन गरिरहेको छ। ठाडो घाँटी लगाएर आकाशमा चन्द्रमालाई सीधा हेर्न सकिने स्थिति थिएन यो बेला किनकी चन्द्रमा स्वभाविकभन्दा धेरै चम्किलो थियो । तपाईहरु कल्पना गर्न सक्नुहुन्छ कि दिनमा कोठामा बसिरहेको बेला बाहिरको ऐनामा सूर्यको प्रकाश परावर्तन भइ तपाईको आँखामा परिरहेछ र तपाइ आँखा मिच्दै हुनुहुन्छ । हो यहि भयो हामी सबैलाई र मैले खल्तिबाट परिवर्तनशील चस्माको प्रयोग गर्नु पर्यो । रातको समयमा खासै परिवर्तन नहुने चस्माले यो बेला भने क्षणभरमै आफ्नो रंग बदल्यो र हामीले झन् सहजताका साथ चन्द्रमालाई नियाल्न सक्यौ । मैले नासाका तस्वीरहरु हेरेको थिएँ । उसका भिडियोहरु हेरेको थिएँ चन्द्रमाभित्रका अनौठा दागहरु र यसलाई अझ गुगल अर्थबाट नजिकैबाट नियाल्ने गरेको थिएँ । मैले तस्विरमा जे देखेको थिएँ हिजो उही कुरा देख्न पाएँ । एकदम खुशी लाग्यो । हामीले कोठाबाट पुस्तक ल्याइ पढेर एक अर्कालाई सुनायौं गज्जवले देखिदो रहेछ । हामीलाई लागिरहेको थियो कि हाम्रो सामुन्ने पेट्रौलमेक्स बलिरहेछ । यतिका गज्जबका साथ मैले चन्द्रमाको प्रकाशमा रमाउन पाएको थिइन ।

मलाई थाहा छ करिब १६ बर्ष अघि मंसिर महिनाको जुनेली रातमा खेतमा पाकेर झुलिरहेको धान काटे‌का थियौं धेरै जना मिलेर र पंक्तिवद्दरुपमा धानका पाँजाहरु कुम्भकर्ण झैं लमतन्न सुतेको देख्न सकिन्थ्यो तर किताब पढ्न सक्ने स्थिति थिएन । तर हिजो नौलो आभाष थपिदिएको थियो चन्द्रमाले हाम्रो जीवनमा ।

समुद्र नजिकै रहेकोले जतिखेरै हावाको वहाव भइरहने ठाउँमा हामीले रातभरी खुल्ला आकाशमा बस्ने हिम्मत गर्न सकेनौ किनकी भोली विहान ७ बजे सबैले आ-आफ्नो जागिरमा जाने बाध्यता छ । यो हाम्रो दैनिकी पनि हो । आफ्नो स्वास्थ्य तथा समयलाई ध्यान दिदै रातको २ बजे सुत्ने तरखरमा लाग्यौ । ओछ्यानमा पल्टिदासम्म मैले गीत कविता तथा साहित्यमा चन्द्रमाको बर्णन गरिएका शब्दहरु सम्झिरहेको थिएँ । स्वर्गकी परी भने झैं लाग्ने "जून" शब्दका अनेक बर्णनका गीतहरु कल्पिदै कतिखेर निदाएछु पत्तै भएन । विहान उठ्दा हिजोको चन्द्रमा अस्ताइसकेको थियो ।
हाल दमाम साउदी अरेबिया

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।