- सुरज कुवँर
काठमाडौ, जेष्ठ २० - बीस दिनअघि पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको डोर्नियर विमान दुर्घटनामा पर्यो । त्यस्मा सवार चालक दलसहित २१ जनामध्ये १६ जनाको मृत्यु भयो भने ५ जना बाँचे । उनीहरु मध्ये परिचारिका रोशनी हैजुले ईकान्तिपुरलाई दुर्घटना कसरी भएको थियोबारे दिएको बयान उनकै भाषामा -
पोखराबाट जोमसोमका लागी उडेको १५ मिनेट बित्दै थियो । हामी उडेको डोर्नियर जहाज अवतरण गर्ने बेला भएपछि यात्रुहरू 'लौ ! एयरपोर्ट देखियो' भन्दै कुराकानी गर्न थाले । तर जहाजले सोझै ल्यान्ड गरेन । मैले ठानें पाइलटहरू प्रभुशरण पाठक र सुमन डंगोलले एयर ट्राफिकका कारण एक फन्को मारेर अवतरण गर्लान् । किनकि जोमसोम विमानस्थलको धावनमार्गमा अर्को जहाज भएपछि प्रायः चालकहरूले जहाज फेरि आकाशतिरै उडाउँदै फन्को मार्छन् । यहाँ लुक्लाजस्तो अवतरण गर्ने जहाजले आपतकालीन टेकअफ गर्न गाह्रो छैन । त्यसैले यात्रुसहित १८ जना भएको जहाज विमानस्थललाई तल पार्दै कालीगण्डकीमाथि उड्यो ।
हाम्रो डार्नियरभित्र एयरहोस्टेस/यात्रु र चालकबीच आन्तरिक संवाद गर्ने इन्टरकम सिस्टम नभएकाले जहाजले किन ल्यान्ड गरेन मलाई पनि थाहा भएन । यात्रुले पनि थाहा पाउने सम्भावना भएन । जहाज त्यस्तै ५ सय मिटर जति उचाइमा थियो होला, जहाजभित्र अनौठो आवाज सुनियो । आवाज चर्कै थियो । एयरहोस्टेस भएर काम गरेको दुई महिनामा मैले कहिल्यै यस्तो आवाज सुनेकी थिइनँ ।
मनमा चिसो पस्यो । एक्कासि पसिना आए । कहिल्यै नभोगेको त्रास शरीरमा फैलियो । सामान्य गतिमा उडिरहेको जहाजमा सबै चुप थिए । आँखा चिम्लिए । च्याप्प सिट समातें । जहाज घटट्ट्ट थर्कियो । मोबाइलको भाइब्रेसनजस्तो । एकछिनमा आँखा उघारें । जहाज खोंचमा खसेछ ।
मेरो सिटअघिल्तिर सानी फुच्ची रोइरहेकी थिइन् । मेरो पछिल्तिर बसेकी डेनमार्ककी यात्रु इमली माथि डाँडोतिर उक्लिने प्रयास गर्दै थिइन् । उनलाई देखेपछि मैले अंग्रेजीमा भनें, 'कृपया मलाई बचाउनुहोस् ।' उनले, 'सरी, म बचाउन सक्दिनँ भन्दै अलि माथितिर गइन् । अनि पछिल्लतिरको सिटमा उनीसँगै बसेका आफ्ना प्रेमी एन्डि्रस रसलालाई दुईपटक डाँडोबाट चिच्चाउँदै बोलाइन्, 'एन्डि्रस ! एन्डि्रस ।' तर एन्डि्रस देखिएनन् । उनी हिँडिन् ।
जहाजमा आगो लागेको थिएन । तर चोइटिएर टुक्राटुक्रा भएको थियो । दायाँ-बायाँ हेरें । अघि आकाशमा हिमाल हेर्दै रमाइरहेका भारतीय यात्रु मरिसकेका थिए । मेरा पाइलट सहकर्मीलाई देखिनँ । सिट अघिल्तिर छटपटाउँदै रोइरहेकी ६ वषर्ीया भारतीय बालिकालाई देखेर मेरो आखाँबाट आँसु र्झन थाले । रुँदै चिच्याएँ, 'बचाउ ! बचाउ !'
जहाज खसेको सायद केही मिनेट बितिसकेको थियो । बिहानको समय भएको र नजिकै सेनाको ब्यारेक भएकाले डाँडोमा केही दाइहरूलाई देखें । उनीहरूमध्ये कसैले हामी रोइरहेको सुनेर भनेको सुने, 'आई ! मेरेको रै'नछ एकजना कराइरहेको छ ।' यसो भन्दै उनीहरू ओरालोमा मतिर आए र भने, 'एयरहोस्टेस त जिउँदै रैछे, निकाल निकाल ।' सायद उनीहरू सेनाका मान्छे थिए कि ! मैले उनीहरूलाई भने, 'मलाई केही भएको छैन, दाइ त्यो फुच्चीलाई बचाइदिनुहोस् ।'
उसको खुट्टा फ्याक्चर भएको रहेछ । सिटको जंघारबाट उसलाई तान्न मैले पनि सघाएँ । उसलाई तानेपछि मलाई पनि निकाल्दै गर्दा जहाजको ढोका छुटि्टएर मेरो खुट्टामाथि बजि्रयो । भाँचिएको बोर्डमा अर्की पनि घाइते बालिकालाई पनि उनीहरूले निकाले । यति भइसक्दा मान्छेहरूको भीड लागिसकेको थियो । प्यासेन्जर प्रायः मरिसकेका थिए । त्यसपछि के-के भयो मलाई त्यति याद छैन ।
१० नबज्दै भएको त्यो घटनाअघिको त्यस बिहान साढे ६ बजे म काठमान्डुबाट पोखरा उडेकी थिएँ । जोमसोममा १० बजेपछि अति हावा चल्ने हुनाले त्यसपछि प्रायः उडान भर्न सकिँदैन । त्यस दिन मैले त्यसअघि दुइटा उडान भरिसकेकी थिएँ । त्यसपछि मेरो पालो ११ बजे थियो । हाम्रै अग्नि एयरको अर्को जहाज जोमसोम उड्दै थियो । यात्रु बोकेर जहाज उड्नै लागेको थियो । हाइड्रोलिक गियरमा सायद समस्या आएछ । क्याप्टेन एनपी प्रधान र को-पाइलट आरबी भण्डारीले जहाज फर्काए । त्यसमा पि्रयंका ब्रजाचार्य परिचारिका थिइन् । पोखरा स्टेसनले नाइन एन एआईजी -अल्फा इन्डिया गल्फ) कल साइन भएको हाम्रो जहाजलाई उड्नुपर्ने बतायो । ट्याक्सी आउट भइसकेको जहाजमा चकलेट र कपास पनि बाँड्ने काम भइसकेको थियो । तर ती यात्रु हाम्रो जहाजमा आए ।
पोखरा स्टेसनको रोस्टरमा मेरो उडान समय ११ बजे भए पनि मलाई नै उड्न भनियो । टेकअफअघि चकलेट र कपास बाँड्दा ती यात्रुहरूले भनेका थिए, 'हामीलाई चकलेट खानु छैन, जसरी पनि जोमसोम पुग्नुपर्यो ।' जहाज फेरेका यात्रुका साथ उडेको जहाज जोमसोमतिर लाग्यो । जहाज आकाशमाथि नै पुगेपछि हिँडडुल गर्न मिल्छ । त्यसैअनुसार उड्डयन प्राधिकरणको नियमअनुसार, जहाजमा उड्ने यात्रुबारे भरिएको विवरण पीओबी फाइलमा हस्ताक्षर गराउन म ककपिटमा पसें । क्याप्टेन पाठकले साइन गरे । पहेंलो रंगको पीओबी उनले राखे । रातो मैले बोकेर ल्याएँ । त्यसबेला पाठक सर मुसुक्क हाँसे मात्रै । केही बातचित भएन । जहाज अन्नपूर्ण र माछापुच्छ्रे श्रृङ्खलालाई बायाँ पार्दै उडिरहेको थियो ।
करिब १५ मिनेटको मात्र यात्रा अवधि भएको जहाज उडेको १० मिनेट जति भइसकेको थियो ।
मेरो सिटपल्तिर बसेकी इमलीले चुच्चो हिमाल देखेपछि सोधेकी थिइन्, 'कृपया त्यो हिमालको नाम के हो बताइदिनुहोस् न ?' मैले उनलाई त्यो माछापुच्छ्रे हो भनेकी थिएँ ।' टर्भिलेन्स पनि थिएन । भारतीय यात्रुहरूका हातहातमा क्यामेरा थिए । मुक्तिनाथ दर्शनका लागि नेपाल आएका उनीहरू फोटो खिच्नमै व्यस्त थिए । ल्यान्ड गर्ने बेला भएपछि सबैले बेल्ट बाँधेर सिटमा अडिए । हलचल रोकियो । तर जहाजले सीधा ल्यान्ड नगरी मुक्तिनाथतिर उड्दै घुम्न लाग्यो । मैले काठमान्डु आएपछि मात्रै सुनें, 'जहाजमा प्राविधिक समस्या देखिएपछि क्याप्टेनले पोखरा फर्किने निर्णय पो गरेका रहेछन् !
जहाज दुर्घटना भएपछि म पनि मरेको खबर टीभी र रेडियोले फुकेछन् । हाम्रा आलाकाँचा मिडियाको हतारको बे्रेकिङ न्युज दिने शैलीले मलाई त केही भएको थिएन । तर, भक्तपुरको लोकन्थलीमा बस्ने मेरा बाआमा र आफन्तको मन कस्तो भयो होला ? यसखाले ब्रेकिङ समचार प्रवृत्तिले म अति दुःखी भएकी छु । घटना भएपछि मैले घटनास्थल पानी ट्ंयाकीबाट कसैको मोबाइल मागें । र, फोन गरें । मैले, 'मम्मी' मात्रै भन्न सकें । रोइरहेकी मेरी मम्मी मेरो स्वर सुनेर झन् रुन थाल्नुभयो । अरू केही भन्न भ्याइएन । त्यो मोबाइलवालाले 'भयो मिस अब पछि कुरा गरौंला भन्दै फोन मागिहालें ।' मेरो मोबाइल, पैसा, पर्स र नाइट स्टपमा लगाउने कपडा भएको झोला कता हराएछ । अहिलेसम्म पाइएको छैन ।
त्यस दिन खास मेरो पालो थिएन । म अर्कैको पालोमा उडेकी थिएँ । खास पालो गौरी केसी दिदीको थियो ।
पोखरामा हामी नौजना क्रयु मेम्बर थियौं । त्यसमा तीन जना एयरहोस्टेस थियौं । बेलुकी पोखरामा नाइट स्टप थियो । दुर्घटनामा मृत्यु भएका क्याप्टेन पाठकसँग त मेरो दोस्रो उडान थियो । खासै राम्रो चिनजान थिएन । तर को-पाइलट सुमनसँग राम्रै सम्बन्ध थियो । उनलाई धेरै मिस गरिरहेकी छु ।
घटना भएको २० दिन बित्यो । अहिले म ग्वार्कोको बी एन्ड बी अस्पतालमा उपचार गराइरहेकी छु । यतिबेला म बाँचेकोमा चकित पर्दै धेरै साथीभाइ, शुभेच्छुक भेट्न आइरहेका छन् । आउनेहरू घटनाबारे भन्दा पनि म बाँचेकैमा चकित पर्दै मेरी आमालाई भन्छन्, 'तपाईं त भाग्यमानी आमा हुनुहुँदोरहेछ । जहाज दुर्घटनामा तपाइर्ंकी छोरी बाँचिन् यो स्राहै दुर्लभ कुरा हो ।'
प्रायः म हरेक बिहान पत्रिकामा राशि हेर्थें । त्यो दिन बिहान साढे ५ बजे एयरपोर्ट जानुपरेकाले पत्रिका हेर्न पाइनँ । तर, त्यही दिन आमाहरू ज्योतिष कहाँ पुग्नुभएछ । ज्योतिषले मेरा लागि अशुभ दिन छ भनेछन् । तर म बाँचें । अस्पतालमा आउनेहरूले सोधिरहेका छन् । अब के गर्छौ ? फेरि उडान भर्छु भनेकी छु । र, म यसलाई नै निरन्तरता दिनेछु । मेरो यस निर्णयमा आमाबा र अस्ट्रेलियामा रहेका दाजुको पनि समर्थन छ ।
अचेल अस्पतालको शय्यामा आराम गरिरहँदा जहाज उडेको सुन्छु । जहाज देखिँदैनन् । तर म मनमनै सोच्छु, निको भएर उड्न कहिले पाउँला !'
कान्तिपुरबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।