-•खगेन्द्र संग्रौला
क्रान्तिकालीन चीनका लेखक लु स्युन थिए निकै नै जौडे जुधारु । नवीन विचार र जनसंस्कृतिको मोर्चामा ती मरिमेटेर जुधे । र, तिनले थुप्रै पुरातनपन्थी र रूढिमार्गीहरूलाई हाबाकाबा खेलाए । परचक्रीहरू न्याय र नैतिकतायुक्त एवं अग्निमय तर्कवितर्कको शास्त्रार्थमा जब धुलो चाट्थे, ती निस्तेज र निरूपाय भई लु स्युनको नितान्त निजी जीवनमाथि अतिक्रमण गर्थे । लु स्युनका दाँत पहेँला थिए । दाँत ताकेर हरूवा काजीहरूले तिनलाई 'पहेँल्दाँते'को फत्तुर लगाए । उमेर निकै पाको भइसकेर पनि लु स्युनका सन्तान भएका थिएनन् । सन्तान नहुनुलाई तारो बनाएर दुर्मति मनुवाहरूले तिनलाई 'अलच्छिनी निसन्तान बूढो' भनी गर्नु नगर्नु गिल्ला गरे । लामो पर्खाइपछि जब सन्तान पैदा भयो, लु स्युन परपीडक अन्तरेहरूलाई सम्झिँदै दङ्ग परे । र, निसन्तानको फत्तुरको प्रत्युत्तरमा तिनले जमाएर जबाफ दिए— अब भने मेरो पनि छोरो भयो !
बाबु बन्न जोकोहीलाई लु स्युनलाई झैँ गाह्रो पर्दैन । बाबु बन्न न प्रतिभा र लगन चाहिन्छ, न शुभ मुहूर्तको प्रतीक्षा गर्नुपर्छ, न त प्रशिक्षण र सीपकै खाँचो पर्छ । नररूपी दोपाया भालेले पोथीलाई ऋतुदान गरे पुग्यो, पोथीको गर्भाशयमा प्रकृतिले आफैँ छोरो बनाइदिन्छ । गाह्रो त गतिलो बाबु हुन पो छ । बाबुको रूपमा आफ्नो भूमिकाको स्मरण गर्दा लाग्छ, छोरीको हकमा म ठीकठीकैको बाबु भएँछु, छोराको हकमा भने त्यस्तैउस्तै बाबु ।
लोकका नजरमा गिरिएला भन्ने डरले आडम्बरको आवरणभित्र लुकिबसेको आफ्नो अन्तर्यको पोल खुल्ने यस्तो अनुभव हम्मेसी भनिदैन । तर, छोराले सायद बिर्सिसकेको र बाबुलाई लोकलाई सुनाउन खसखस लागेको यो नितान्त निजी कथा म यहाँ कहन्छु । छोरोभन्दा पाँच वर्षपहिले जन्मेकी थिई हाम्री छोरी । म किञ्चित् फुर्सदिलो थिएँ त्यो वेला । त्यसैले म छोरीको शारीरिक र मानसिक विकासका मिहिन र रोमाञ्चक खुट्किलाहरूको अन्तरङ्ग साक्षी र सहारा दुबै बनेँ । आफ्नी छोरीको आफूखुसी अन्तर्जातीय बिहाबाट मेरी घरवालीका आमा-बा किञ्चित् बेखुस भएका थिए । आमातिरका ती बाजे-बज्यै तरेर आउने ममताको मुहुनीमय पुल बनिदिई हाम्री छोरी । सुलहकारी पुल हुनुले छोरीको मान-भाउ ह्वात्तै बढाइदियो । मैले छोरीलाई फूलको थुँगोझैँ पाखुरामा बोकेर खेलाएँ । थै-थै गरेँ । काँधमा राखेर घुमाएँ । उसको कौतुकमय बामे सराइको पहिलो चाल, झिना हात उठाएर लुला खुट्टा कमाउँदै उभिदाको उसको पहिलो विजयी मुस्कान, ऊ लडुँ कि लडुँ कि गर्दै हिँड्दाको पहिलो मनोरम पाइलो, कोमल हात समातेर उसलाई टुकुटुकु डोर्याउँदाको मेरो रोमाञ्चक अनुभूति, उसले 'बा' भन्दाको पहिलो सम्मोहक ध्वनि — म त्यो सबको पनि साक्षी र सेवक दुबै बनेँ । उसो त कलिलो मस्तिष्कमा कल्पनाका पखेटा लगाइदिन मैले छोरीलाई अनेक कथा-किस्सा पनि सुनाएँ । पछि, कपुरी 'क'देखिको उसको सामाजिकीकरण र ज्ञान आर्जनको यात्रामा पनि म राम्रै सहजकर्ता र साथी बनेँ भन्ने लाग्छ ।
छत्तीस साले जनमत सङ्ग्रहको बबन्डर हुरी मत्थर भएपछिको कुरा हो । चितवनमा जब हाम्रो छोरो जन्म्यो, त्यो वेला म अनेक झ्याउ-झमेलाका पल्टनहरूले पलपल घेरिएको थिएँ । शिक्षक आन्दोलनको म एक अभियन्ता, बजारभाउ राम्रो भएको म एक अथक ट्युसनबाज, राजनीतिमा हल्का लसपस भएको म वाम खेलाडी । नढाँटीकन भनुँ भने व्यावहारिक राजनीतिसँग मेरो उत्रो उठबस थिएन । तैपनि शाही चाटुकार र छुस्केहरूले तिनका तलदेखि माथिसम्मका ख्वामितहरूका नजरमा मेरो भयङ्कर बिम्ब बनाइदिएका थिए । मानौँ म एक हुर्हुराउँदो ज्वालामुखी हुँ, जो पाइला-पाइलामा शाही हैकमविरुद्ध उम्लँदो लाभा छर्दै हिँड्छ । त्यसैले सत्ताका चम्चे काजीहरू र सुराकजीवी पाजीहरू मेरै छायाँझैँ नित्य मेरो पिछा गरिरहन्थे । यस्तोमा चैनको मुद्रामा चिचिला छोरालाई दिने समय र शान्त मनोभाव नै म दुखियासँग कहाँ थियो र ?
म बिहान भुकुभुके उज्यालोमा उठेर ट्युसनगृह, सोद्देश्य मित्र-मिलन वा मिसनमार्गी दौडाहामा जब निस्कन्थेँ, छोरो उसकी मातेको समीपमा निदाइरहेको हुन्थ्यो । म बेलुका अबेर फर्की आउँदा पनि ऊ उसैगरी मस्तसँग निदाएको हुन्थ्यो । छोरो शिशु वयमै लर्दु टाइपको थियो, फ्यातुल्लो र बोझिलो । यो नाथे आफ्नै बोझले थिचिएर उठ्दै-नउठिकन ओछ्यानमै खिएर शेष हुने पो हो कि ! छोराको नियतिको अल्पकालीन बागडोर हातमा लिएको म बाबुको मनमा कताकता चस्कोका तरङ्गहरू सल्बलाउँथे । छोरीको शारीरिक र मानसिक विकासक्रमका सूक्ष्म र चरणबद्ध खुट्किलाहरूको चित्र मेरो स्मृतिपटमा टड्कारै टाँगिएको थियो । हो, त्यही मानकको तराजुमा मैले छोराको विकासक्रमलाई अति सरलीकृत काइदाले तौलिन खोजेँ । तर, छोराको जे पनि ढिलो भयो । ऊ ढिलो बस्यो । उसको व्यास फराकिलो थियो, जाँतोजस्तो । यो जाँते ज्यान बामे नसर्ने पो हो कि भनेर मलाई चिन्ता लाग्यो । तर, मेरो चिन्ता मोचन गर्दै भुतुमुने जाँते मनुवा बामे सर्यो । त्यो पनि ढिलै । र, मेरो चित्तमा थप फिक्री जगाउँदै ऊ ढिलो उभियो र ढिलै हिँड्यो । हेर्छु, उसलाई हतार केहीको छैन, आतुरी केहीको छैन । मानौँ उसलाई जीवनमा कतै पुग्नु नै छैन । हैन, यो लोसे यात्री बोल्ला के ? अर्को पिरोलोले मलाई पोल्यो । मेरी आमा ! बोल्ने वेला गुज्रिसक्यो, अलमस्त मनुवा बोल्ने छाँटछन्दै झिक्दैन । गाँठ्ठे, यो आफ्ना लागि पनि र अरूका लागि पनि आजीवन दुःखको मुहानै हुने त होइन ? मेरा आँखासामु शून्यमा हरपल त्यो अपि्रय प्रश्न तुन्द्रुङ्ग झुन्डिरह्यो । धेरै ढिलो गरी छोरो बोल्यो । तर, उसको बोलीले हामी प्रतीक्षारत आमा-बाका मन-मानसमा खुसियालीको कुनै लहर ल्याएन । उसको आरम्भिक बोलाइ श्री शेरबहादुर देउवाको अचेलको बोलाइ जस्तो थियो — संवेदनशील कर्नपटमा ध्वनिले स्पर्श गर्ने, भनेको कुरा खुट्याउन चाइने हम्मेहम्मे पर्ने । तर, बिस्तारै-बिस्तारै उसको बोली नेताश्री देउवाजीको भन्दा कता हो कता टाठो, चोट्टिलो र श्रुतिमधुर भयो । मेरो पीडादायी प्रश्न पराजित भयो, र छोराले बिलम्ब गरेरै भए पनि बोलीको कलामा शानदार विजय प्राप्त गर्यो ।
अब सुरु भयो आङ्गकि वामकोणको कष्टकर प्रकरण । छोरो दिदीको हात समातेर ठम्ठम् हिँड्दै स्कूल जाने भयो । एक दिन गोरा-गोरीहरूलाई नेपाली भाषा दान गरेर फर्कदाँ म देख्छु — चिन्तातुर माते छोराको दाहिने हात समातेर उसलाई जबर्जस्ती लेख्न सिकाइरहेकी छिन् । छोराको अनुहारमा दिक्दारी र लाचारीको वेचैन भाव छ । बरा ऊ त मलाई पुलुक्क हेरेर तुरुक्क आँसु झार्न पो थाल्यो बा ।
'के गरेको यो ?'
'यो लठुवा देब्रे हात चलाउँदो रहेछ,' मातेले रहस्य खुलाइन् — 'त्यसैले यसलाई बेलैमा दाहिने हातले लेख्न सिका'को ।'
'धत् ! देब्रे हातले लेखे के बिग्रन्छ ?'
'अलच्छिन लाग्छ क्या अलच्छिन, थाहा छैन ?' सनातनी विश्वासको रूढ त्यान्द्रो समातेर मातेले सफाइ दिइन् — 'मान्छेले हेलाँ गर्छन् क्या ।'
मैले प्रकृतिको कार्यविधिको कुरो उठाएँ । माते हजुर ! देब्रे हात बढी क्रियाशील हुनु लच्छिन-अलच्छिनको कुरै होइन । यो त केवल मस्तिष्कको कमान्ड कन्ट्रोल टावरको अवस्थितिको कुरा पो हो । त्यसैले प्रकृतिलाई जबर्जस्ती वशमा राख्न खोज्दा हात लाग्ने कुरा हो, फगत मूर्खता र निराशा । पुत्रको भविष्यको चिन्तामा डुबेकी माते किन मान्थिन् ? एकोहोरो जिद्दीमा उनी अडिग रहिन् । आफ्नो तर्कको आगो हम्किँदै उनले थपिन् — 'यो देब्रेले पछि केटी पनि पाउँदैन ।'
'पाउँछ,' विनोदी भाकामा मैले जिरह गरेँ — 'दाहिने केटी नपाए यसले काइदाकी देब्रे केटी पट्याउँछ ।'
माते भान्साको धन्दामा लागिन् ।
'क लेख् त बाबु,' मातेको मङ्गलभाव भरिएको यत्नको फल जाँचिहेर्ने मनसुवाले मैले भनेँ । छोराले देब्रे हातले हत्तपत्त काइदाको क लेख्यो । र, त्यसैत्यसै दङ्ग परेँ म । प्रकृति र संस्कृतिको तानातानीमा शाश्वत प्रकृतिले जित्यो, कृत्रिम संस्कृति परास्त भयो । साता दिनपछिको कुरा हो । मध्ये वर्षायाम थियो त्यो । मूल हाँडीगाउँको नारकीय बजारको बीचबाट नरबिष्टाका थाप्रा र गज्गज् हिलो छल्दै म भत्केको पुलतिर ओरालो झरेँ । गोरा-गोरीहरूलाई भाषा दान गरेर थकित मुद्रामा फर्किँदै थिएँ म । छोरो बायाँतिर झ्यास-झाडीबीचको टिनका ट्याप्रा हालेको बाल स्कूलको मूलद्वारबाट तुफानी वेगमा कुद्दै मतिर आयो । लौ, कुद्दाकुद्दै भक्कानो फुटेर उसको आहत कण्ठबाट त चित्कारको रन्को पो पोखिन थाल्यो । स्तब्ध हुँदै हेरेँ, बालकका गालामा आँसुका लेग्रा बसेका छन्, नाकमा सिँगानको लत्को झुन्डिएको छ, र राता भएका छन् उसका व्यथित आँखा ।
'के भो, बाबु ?' गाला मुसार्दै सोधेँ ।
प्रत्युत्तरमा मेरा तिघ्रामा छाँद हालेर ऊ झनै चर्को स्वरमा रोयो । हात समातेर डोर्याउँदै नजिकको डेरामा पुर्याएँ । छोरो अझै रोएको रोएई थियो । शान्त्वनाकारी प्राथमिक उपचार गर्ने मनसुवाले उसलाई एक गिलास दूध टक्र्याएँ । अनि सोधेँ — 'के भो, बाबु ?'
'बा, मलाई देब्रे गोज्याङ्रो भने ।'
'कल्ले ? उपध्य्राहा केटाहेर्ले ?'
'सप्पैले ।' छोराको घाइते स्वरमा अथाह पीडा प्रवाहित भयो । 'अनि मिसले पनि । अनि मलाई हेरेर सप्पै कस्तरी हाँसे !'
'पख्,' मैले भनेँ — 'भोलि त्यो गोज्याङ्री मिसको म चिन्ता गर्छु ।'
भोलिपल्ट अनेक जुक्तिले फकाई-फुल्याईकन छोरालाई लिएर म स्कूल पुगेँ । र, गोज्याङ्री मिस र छोराको रोहबरमा शिक्षक-शिक्षिकाहरूलाई मस्तिष्कको कमान्ड कन्ट्रोल टावरको अवस्थिति र कार्यविधिबारे मैले एक लेक्चर पिलाएँ । अनि आखिरमा रमरम ध्वाँस ध्वनित भएको लबजमा भनेँ — 'यति नाथे कुरा पनि नजान्ने केको शिक्षक, केको शिक्षिका ?' प्रधानाध्यापिका समझदार रहिछन् । तिनले लज्जाबोध गर्दै त्रुटि सच्याउने वाचा गरिन् । नभन्दै कालक्रममा त्रुटि सच्चियो पनि । र, मेरो निर्दोष छोरो 'देब्रे गोज्याङ्रो'को फत्तुरबाट मुक्त भयो ।
छोराको देब्रे हातको फुर्तीले अर्को समस्या निम्त्यायो । एक बिहान उदेक मान्दै छोरीले उजुरी गरी— 'बा, हाम्रो घैँटेले भात खाने हातले दिसा धोयो ।' धत् देब्रे मानव, परेन कि फसाद ! दुई हातको हैसियतअनुसारको कामबारे मायालु वचनमा छोरालाई म प्रवचन दिन थालेँ । भनेँ— हेर् बाबु, देब्रे हातको काम भात खाने र लेख्ने हो । दाहिने नाथेको काम हो दिसा धुने । यताको उता भयो कि कुरो चौपट भो । छोरो दीर्घशङ्का गर्न बस्दा आफ्नो नीति वचनको नतिजा नियाल्न म नाक अँठ्याएर चर्पीबाहिर उसको द्वारपाले बन्न विवश भएँ । स्याबास् ! मेरो चियोले काम गर्यो । छोरो चर्पीकर्ममा खरो उत्र्यो । र, यसरी दीर्घशङ्काको झ्याउलो पनि बाई-बाई भयो ।
छोरो मलाई बाबु हुनुको बोझ र मोज चखाउँदै, मन्द गतिमा पढ्दै र दू्रत गतिमा बढ्दै थियो । त्यो वेला ऊ पानीपोखरीको भानुभक्त स्कूलमा थियो, कक्षा तीनमा । एक दिन म भित्र कोठामा भुटिँदै गर्दाका मुरली मकै पड्केझैँ औँला चालेर टाइपराइपर पड्काउँदै थिएँ । बाहिर छोरी कितित्त हाँसी । छोराको उत्ताउलो हाँसो दिदी चाइनेको हाँसोमा खप्टिन पुग्यो । 'बाउ,' चकित हाँसोमा घोलिएको स्वरमा छोरी कराई — 'यल्ले त इस्कुलाँ कट्टु फुकालेछ !'
'के भो रे ?' फुत्त बाकिर निस्केर सोधेँ ।
छोरीले भाइको कट्टुको कथा सुनाई । मैले कथा त्यसको निहितार्थमा सुनेँ । स्कूलमा गुरु भनिने एउटा गोरु-गोरु टाइपको जीवात् रहेछ । उसको दण्डनीति रहेछ, गृहकार्य नगर्ने केटालाई कट्टु फुकाल्न लगाउनु । सहस्र भाले र पोथी सहपाठीका अगाडि कट्टु फुकाल्नु पर्दा पहिले त छोरो लजाएछ । ऊ 'नाइँ' भन्दै रोएछ । तर, चड्कनच्युराबाट जोखिन आखिरमा उसले कट्टु फुकालेछ । कट्टु फुकाल्दै जाँदा ऊ थेत्तरो हुँदै गएछ । अनि बिस्तारै-बिस्तारै कट्टु फुकाउने कार्य त उसका लागि दिल बहलाउजस्तो पो हुन पुगेछ । गृहकार्यको विकल्प कट्टु फुकाल्नु ! इत्तेरिका गोरु हो ! भोलिपल्ट कट्टुकाण्डबारे प्रधानाध्यापकछेउ उजुरी गर्न म झोँक्की मनोदशामा पानीपोखरी पुगेँ । प्रधानाध्यापक विद्यालय प्रशासनको आसनमा रहेनछन् । मैले स्यानो चिठ्ठी लेखेँ । चिठ्ठीमा कट्टु पर्वको छोटो खुलासा गरेँ । र, अन्त्यमा भनेँ — प्रधानाध्यापकज्यू ! मलाई हजुरको कट्टु दर्शनार्थी शिक्षकको अनुहार हेर्न मन छ । बस् ।
मेरो चिठ्ठी पर्नुपर्नेका हातमा पर्यो-परेन मलाई थाहा भएन । सोध्नलाई धाएर म जान पनि गइनँ । बरु मैले 'आफ्नो घर आफैँ सम्हाल् कान्छा'को स्वावलम्बी कार्यनीति अपनाएँ । म कसैगरी समय निकालेर, एकाग्र भएर छोरालाई गृहकार्य गराउने धन्दामा लिप्त भएँ । स्कूलका निधारमा 'इङ्लिस बोर्डिङ'को प्रलोभनकारी छाप ठोकिएको छ । पाठ्यपुस्तकहरू छन् बालकको निम्छरो मानसिक स्तरभन्दा एक बित्तामथिका । तर, गतिलोसँग सिकाएको केही छैन । बालकका थाप्लामा दिनानुदिन गृहकर्यको चाङ यति ठूलो छ, त्यसको चापले आतङ्कति भएर बाल-मस्तिष्क टाक्सिने डर छ । छोरो जुनियर जर्ज बुसको शैलीमा देब्रे हातको कुइनो नब्बे डिग्रीको कोण पर्ने गरी दोब्य्राएर र हत्केलो छातीतिर मोडेर अर्द्धवृत्ताकार पोजमा म दाहिने जीवलाई एकदमै अप्ठेरो लाग्ने गरी लेख्छ । पहिले अक्षर लेख्छ र तलबाट मास्तिर स्वाट्ट डिक दिन्छ । उसका लामा अक्षर विलक्षण र कलात्मक छन् । तर, लेखाइको गति भने अचाक्ली सुस्त छ । त्यो गतिमा एक दिनको गृहकार्य गरिसक्न उसलाई कम्तीमा पनि एक साता लाग्छ । भाइ, अब झेलको खेल गर्नुसिवाय उपाय के छ ? छोराले नभ्याएको गृहकार्य कनिकुथी उसका अक्षरको नक्कल गर्दै हामी बाबु-छोरी गरिदिन्छौँ । सामूहिक गृहकार्य अभियान जब गणितमा पुग्छ, छोराले उपद्रो मच्चाउँछ । 'यसरी होइन', रुन खोज्दै ऊ अत्तो थाप्छ । 'यसरी नभए कसरी हो त, केटा ?' म सोध्छु । 'मलाई थाहा छैन', ऊ भन्छ र पिल्पिल् रुन्छ । आखिरमा केही सीप नलागेर म गणित शिक्षकलाई एउटा कटाक्षकारी पत्र लेखिपठाउँछु — हे ज्ञानी र गुणी गुरुजी ! छोरालाई कि त जान्ने गरी गणित सिकाइपाऊँ, कि हजुरको आतङ्ककारी गृहकार्य नै त्याग गरिपाऊँ ।
यसै बखततिर छोराको चित्तवृत्तिको अर्को चक्र आरम्भ भयो । उसको जिज्ञासु चित्त 'नयाँको खोजी' वा 'आविष्कार'को चरणमा प्रवेश गर्यो । एक दिन घाम डुब्ने वेलामा म घर आइपुग्दा ऊ पिँडीमा एक्लै बसेको रहेछ । हेर्छु, ऊ गुत्थ फुलेको छ । अगाडि भुइँमा छन् ताल्चाका दुई फप्लेँटा । माथि टेबुलमा पेचकस छ । सोधेँ— 'यो उपद्रो के हो ?' ऊ गुत्थको गुत्थै छ । दाहिने हातका चोर औँला र बुढी औँलाका टुप्पा नीला भएका छन् । देब्रे हत्केलापछाडि खोस्सिएर रगत रसाइहाल्ला कि जस्तो चोट छ ।
'ताल्चा त बिगारिएछ नि, मिस्टर !' ठट्टाको भावमा म भन्छु ।
'आफैँ बिग्य्रो ।' उपध्य्राइँबाट जोगिन बालककालमा मैले प्रयोग गर्ने गरेको उही बालसुलभ बासी उत्तर ऊ थपक्क दोहोर्याउँछ । म भित्रभित्रै हाँस्छु । पुत्ररत्नको नयाँको खोजी गर्ने विनाश कार्य अविराम जारी रहन्छ । एउटा सस्तो भारतीय रेडियो थियो । बजाउँदा पछाडिको कभरमा त्यसलाई घरिघरि झापट दिनुपथ्र्यो । त्यै कबाडी पनि आविष्कारमार्गी छोराले भत्काएछ ।
'अर्को पराक्रम गरिएछ, हैन ?'
छोरो बोल्दैन । भत्किएको रेडियोझैँ उसको अनुहारको भाव पनि नराम्ररी भत्किएको छ ।
'नाथे, यो किन भत्का'को ?'
'भित्र बोल्ने मान्छे हेर्न ।'
'देखियो त ?'
मेरो स्वरको पारो चढ्दै गएको भेउ पाएर होला, चर्मरक्षा अभियानमा छोरो बेत्तोडले बाहिरतिर हान्निन्छ ।
छोरी किताबको कीरोजस्तै छे, जहिले हेर्यो, पढेको पढ्यै । छोरालाई भने पढाइको एकरत्ती पर्वाह छैन । प्रायः घरमा उसको दर्शन पाउनै गाह्रो । सानो छँदा उसको दुर्दान्त रुचि गुच्चा र लाबरको गोलमा थियो । अलि ठूलो भएपछि उसको रुचि बढुवा भएर क्रिक्रेट नाउँको मुङग्रे क्रीडामा सर्यो । कठोर ब्यङ्ग्य मुद्रामा क्रिक्रेटलाई कुरिकुरी गर्दै बर्नाड श भन्थे — केही मूर्खहरू क्रीडा प्रदर्शन गर्छन् र सहस्र मूर्खहरू दर्शक भएर मूर्खताको नशामा झुल्छन् । आफू परेँ उनै बर्नाड शको चेलो र अनुगामी । छोरालाई लठ्याउने मुङ्ग्रे क्रीडा यदायदा हेर्छु, त्यसमा चालको विविधता, निशानाको सूक्ष्मता र कलाकौशल कतै केही देख्दिनँ । सबै कुरा तीघ्रा र पौँजाको स्थुल अभिनयजस्तो लाग्छ । टोपधारी एउटा जुम्सो बूढो रेफ्री भएर उभिन्छ र वेलावेला दुई चोर औँला हल्लाउँछ । टाउकामा फलामे टोपी, अनुहारमा पिन्जडा र पिँडुलामा नेल भिरेको मुङ्ग्रे आतङ्कति मुद्रामा निहुरिएर मुङ्ग्रो ठक्ठक् पार्दै बल आउने दिशातिर एक टकले हेर्छ । बल नितम्बमा रगेड्दै एउटा जीव बेत्तोडले कुदेर मुङ्ग्रेको नाक उडाउन खोज्दै धरतीमा बल बजार्छ । क्रीडाभूमिभरि छरिएर उभिएका लबितीघ्रे जवानहरू बल समात्न मरिहत्ते गर्छन् । बस्, बाह्रै घन्टा खेल, नयाँ केही हुने होइन । अझै दाल-भात-डुकुको उल्झनको सेरोफेरोमा रुमल्लिएको मेरो देशमा यो रसहीन मुङ्ग्राले छोराको पेट भर्ने त होइन क्यारे । तर के लाग्छ, उसको चटपटे संसारमा मुङ्ग्रोजति मूल्यवान् चीज अरु केही छैन ।
छोरालाई 'पढ्, पढ्' भन्दै म दाबिरहन्छु । ऊ टेरपुच्छर लाउँदैन । अनि ज्ञानी बाबाको आसनमा बसेर म उसलाई अर्जाप्न खोज्छु — हेर्, अल्छे ! यो संसारमा मान्छे दुईथरीका हुन्छन् । शिर उठाएर गरिखाने र शिर निहुराएर मागी खाने । तँ मागी खाने निहुरमुन्टी न हुने भइस् । कुरा सुनेर ऊ कि ठुस्स पर्छ कि ङिच्च हाँस्छ । वचनले प्रतिवाद वा प्रतिक्रिया केही गर्दैन ।
तर, अल्पभाषी, अन्तर्मुखी र अटेरी छोराको पढाइको रहस्य गजप छ । परीक्षाफल जब आउँछ, छोरो सधैँ गजपसँग पास हुन्छ । ऊ मखलेल मुद्रामा मलाई आफ्नो लब्धाङ्कपत्र देखाउँछ । त्यो क्षणमा उसको गर्वोन्नत अनुहारले मानौँ मलाई गिज्याइरहेको हुन्छ — बाउ, मलाई नहेप । मलाई चिन । मलाई बुझ । सोचाइ, गराइ र कार्यसिद्धिको कलामा मानिसहरू फरक-फरक हुन्छन् । नपत्याए उल्लु बूढा, मैलाई हेर !
(-संग्रौलाको आउने हप्ता सार्वजनिक गरिने आफ्नै आँखाको लयमा’ निबन्धसङ्ग्रहको एक संस्मरणको अर्धांश ।)
- नयाँ पत्रिकाबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।