- इन्दिरा प्रसाई
प्रिय बहिनी कमला
सम्झनाका अनुभूतिहरू
मेरो मायाको परिभाषाभित्र पर्ने धेरैथोरै सङ्ख्याकी तिमीलाई मैले मायाको सुरुआत गरेको समय पनि त्यति धेरै बितेको छैन । एउटा मान्छेले अर्को मान्छेलाईकहिले, कति र कसरी माया गर्न सक्छ भन्ने खासै हिसाब पनि हूदोरहेनछ । त्यसो त मलाई लाग्छ- 'मान्छे’ भन्ने जीव 'माया’ गर्नकै लागि यो धर्तिमा आएको हो । जबसम्म हरेक मानिसले हरेकपल हरेक चिजलाई माया गर्छ तब यो संसारमा कुनै समस्या पनि आउने छैन । मानिसहरू आफ्नो मायाको बाटो बिराएर जब घृणा, आक्रोस, हिंसा, प्रतिहिंसामा लाग्छन् त्यसै बेला यो सुन्दर वसुन्धराको वातावरण धुमिल हुन्छ ।
मलाई लाग्छ अहिले यस्तै केही भइरहेछ यो धरामा । तर कमला विपरित गतिमा बहिरहेको संसारको आजको परिस्थितिमा पनि तिमीले र मैले एकअर्कालाई माया गरेका छौं । त्यसैले यस बेला हामी संसारको धर्मरेखातिर पनि आपसी मायामा आवद्ध छौं । अर्थात् कमला एकै राष्ट्रियताका हामी पृथ्वीको ओल्लो र पल्लो पाटोमा छुट्टिएर बस्दा पनि हाम्रा बीच मायाको उर्वर भूमि झनै उर्वर हुनु नै हाम्रो प्राप्ति हो भन्ने मेरो ठहर छ । एकातिर एउटै छानामुन्तिर र एउटै भित्ताको वरिपरि र अझ एउटै सिराने हालेर सुतिएका मानिसहरू बीचको घृणाले लत्पतिनुपर्ने समय बिताइरहेकी मलाई तिमीले दिएको माया म अमूल्य महसूस गर्छु ।
त्यसो त आफूसँग भएको कुरो मात्रै मानिसले अर्कालाई पनि बाँड्न सक्छ । त्यसैले आफ्ना छातिभरि घृणाका तिक्तता मात्रै बोकी हिड्ने बबुरासँग मायाको अपेक्षा गर्नु अपेक्षितकै मुर्खता ठहर्छ । यसअर्थमा तिम्रा छातिभरि भएको माया नै मायाको भण्डारबाट तिमीलेमलाई पनि एक अञ्जुली माया दिएकी छौ र त्यही एक अञ्जुली तिम्रो माया मेरा लागि चाहिं अपरिमित मायामा परिणत भएको छ । भैगो कमला यी कुरा फेरि कुनै फुर्सतका दिन गरूँला है यस बेला चाहिं म तिम्रो नविनतम कथासङ्ग्रह 'सम्झनाकाअनुभूतिहरू’बारे केही कुरा गरौं कि भनी तम्सेकी छु ।
प्रिय कमला, तिम्रो पुस्तक हात पर्नासाथ त्यसमा भएको सुन्दर आवरणले केही बेर मलाई मोहित पार्यो । त्यसपछि गाता उचालेकी मात्र थिएँ पुरुषोत्तम दाहालजस्ता असल विद्वान्को लेखनीले तिमीबारेको संक्षिप्त जानकारी पाएँ । त्यसपछि प्रकाशकको नाउँ हेर्ने मेरो कौतुहल अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज, वासिङ्टन डी.सी., अमेरिका पढेर शान्त भयो । डा. खगेन्द्रप्रसाद लुईंटेलजस्ता परिश्रमी विद्वान्को भूमिकाले पुस्तकप्रतिको थप आकर्षणमा म परें । त्यसपछि वुडब्रिज, भर्जिनियाका होमनाथ
सुवेदीद्वारा लेखिएको तिम्रो पुस्तकबारेको संक्षिप्त विवेचनासमेत पढेपछि पुस्तकमा भएका कथा पढ्न म झनै लालयित भएँ ।
त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजका अध्यक्ष पुरुषोत्तम सुवेदीको प्रकाशकीयले पुस्तक प्रकाशनको इतिवृत्ति नै जानकारी गरायो । यसै सन्दर्भमा पुस्तकको पछिल्लो पातोको भित्रपट्टि विद्वान् समालोचक प्रा. कृष्ण गौतम र बाहिरपट्टि प्रा. मोहनराज शर्माद्वारा लेखिएका उद्गारहरूसमेत पढेर तिमी र तिम्रो लेखनबारे धेरै कुरा जान्ने अवसर मैले पाएँ । यति धेरै विद्वान्हरू ठाउँकुठाउँ राखेको देख्दाचाहि अनौठो-अनौठो र अप्ठेरो-अप्ठेरो पनि लाग्यो । तर केही छैन आ-आफ्नो विचार हो, रहर हो, सन्तुष्टि हो भन्ठानेर मन त्यताबाट हटाएँ र तिम्रा कथाहरू नै पढ्ने मन बनाएँ ।
प्रिय कमला हिजोआज नेपाली साहित्यको संसारमा पुस्तक प्रकाशनको झन्नैझन्नै बाढी नै आएको छ । हाम्रो शैक्षिक प्रतिशत, जनसङ्ख्या र साहित्यिक पाठकको सङ्ख्याको कसीमा मूल्याङ्कन गर्दा साहित्यकार र प्रकाशनको सङ्ख्या संसारकै लागि अचम्म लाग्दो हुँदो हो । तर नेपाली अक्षरमा रमाउनेका लागि भने यो रमाइलो पक्ष पनि हो । यी प्रकाशनको भीडमा पुस्तककै प्रकाशन गर्नु मात्रै त त्यति अनौठो र उल्लेखनीय कुरा अब नहुन सक्छ । तर तिम्रो 'सम्झनाका अनुभूतिहरू’ का सन्दर्भमा चाहिँ यी उल्लेखित टिप्पणी लागु हुँदैनन् ।
कमला तिम्रो पुस्तकको समर्पणमा लेखिएको 'समर्पण मातृभूमिलाई’ले नै तिमीलाई भीडबाट छुट्याएर एउटा अग्लो टापुमा सुरक्षित उभ्याएको अनुभूति मैले गरेँ । अक्षरको समुद्र बगिरहेका ठाउँमा केवल दश अक्षरको के महत्व ? तर त्यसो हुँदो रहेनछ । यी दश अक्षर नै अक्षरको समुद्रमाथि सुन्दर जहाजका रूपमा तैरिरहेको मैले पाएँ । त्यही जहाजमा हाम्रो देशको सूर्यचन्द्र अङ्कित झण्डा लहराइरहेको पनि मैले देखेँ ।
मेरी सानी बहिनी कमला यसै सन्दर्भमा यो दिदीको न्यानो अभिवादन ग्रहण गर । अक्षरकी सच्चा सिपाही तिमीलाई अक्षरकी अर्की सिपाहीको तातो सलाम छ ।
प्रिय कमला 'समर्पण मातृभूमिलाई’ले तानेर मलाई तिम्रा कथाका पानापानामा डोर्याउँदै लग्यो । पढें, हाँसे, रोएँ । मन लाएर डुबेर पढें । प्रेमका सुखद्प्रसङ्गमा कुत्कुतिएर हाँसें । प्रेमपीडाका विरह र वियोगान्त घटनामा रोएँ । अझ इमान्पूर्वक भन्ने हो भने तिम्रा कथामा व्यक्तिएको वर्तमान नेपालको परिवेशले वेस्सरी छट्पटिएँ, विथोलिएँ, चोइटिएँ र निस्सासिएँ पनि । कमला, नीजि प्रेम, विरह, छट्पटिका कुरा भनेको सामान्यतः जताततै अथवा कुनै पनि कृतिको उदगम् नैमानिन्छ । तर हरेक सर्जकले छातिमा देश बोक्तैनन्, बोके पनि उनीहरूका छातिमा देश दुख्तैन र दुखिहाले पनि त्यसलाई जस्ताको तस्तै पोख्तैनन् । तर तिम्रा छातिका चिराचिरामा नेपालको वर्तमानको घाउ चहर्याइरहेको मैले देखेँ । जस्तोकी 'सम्झनाका अनुभूतिहरू’का अधिकांश पानाहरू नेपालभित्रका नेपालीहरूको रगतले लत्पतिएको छ । मलाई तिम्रा अनुभूतिसूग कसोकसो ईर्स्या पनि लाग्यो । कमला नेपालकै सीमारेखाभित्र बाँचेकी म भन्दा पनि नेपाली भौगोलिक सीमाबाट धेरै टाढा बाँचिरहेकी तिम्रो छातिमा कतिविधि देश थिल्थिलिएछ ?
सान्दाइको रगतको मूल्यलाई देश चलाउनेहरूले महसुस गरेका छैनन् । राजधानीमा कसैलाई पनि सान्दाइको रगतले छोएको छैन । गाउँमा सान्दाइहरू मर्छन् र सहरमा देश चलाउनेहरू राजनीति गर्छन्’ (सान्दाइको सम्झनामाः पृष्ठ १०)
उल्लेखित प्रसङ्गमा राजधानीमा कसैलाई ¬¬¬¬¬ छैन’ पढ्दा राजधानी रुगिरहेकी आफूलाई पनि मैले दोषी महसूस गरें । तिम्रा यी तीन हरफले नेपालको साँचो स्वरूप नै चित्रित गरेको छ ।
दैवले किन साना र गरिबलाई नै चूड्छन् ?’ (सान्दाइको सम्झनामाः पृष्ठ ११)
ठिक लेखेकी छ्यौ कमला माओवादीका तल्ला तहकै कार्यकर्ता मर्छन्, सेना वा प्रहरीमा तल्लातहका नै मर्छन् । यसै प्रसङ्गमा मैले पनि एकचोटि विज्ञहरूमाझ छलफल चलाएकी थिएँ । यो चेसको खेल हो । पहिले प्यादा सकिनुपर्छ’ त्यहाँ निष्कर्ष निकालिएको थियो । तर कमला प्रकृति र मान्छेले बराबर सताइने वर्गमा जहिले पनि साना र गरिब वर्ग परेको यथार्थले मलाई पनि पिरोल्छ ।
नेपालका टाउकेहरूले राजनीतिक दाउपेचका लागि तामाङजस्ता खाउँखाउँ र लाउँलाउँ उमेरका होनहार ठिटाहरूलाई मर्न बाध्य बनाएका छन् ।’ (पातलीको मायाः १७)
म नेपालमा तामाङको शरीरको निसाफ मागिरहेछु’ (पातलीको मायाः १७)
नेपालमा के नै बाँकी छ र ? देशका टाउकेहरूले अब नेपाललाई नै अर्काको जिम्मा दिन मात्र बाँकी छ ।’ (लाहुरेः ४९)
त्यसैले आड्डनो माटोलाई कुल्चेर अर्काको गुणगान नगा । तैले जतिसुकै गफ चुटे पनि आफ्नो माटोमा बसेको जस्तो शान्ति त तँलाई लाहुरमा पक्कै पनि छैन ।’ (लाहुरेः ५०)
साँच्चै मानिसहरू किन यति धेरै हिंस्रक हुन्छन् र किन एकअर्कालाई निर्ममतासाथ मार्छन् ? किन एउटा मान्छे आफूजस्तै अर्को मान्छेको हत्या गर्छ ?’ (सम्झनाका अनुभूतिहरूः ३५)
मान्छे मार्ने जमातलाई परास्त गरेर हामी सबै मानिसहरूको जीवन बचाउनका लागि सहिद भएको छ ।’ (सन्तबहादुर म तिमीलाई माया गर्छुः ३४)
मेरो सन्तबहादुर देशका लागि वीर सहिद भइसकेको छ’ (उहीः ३४)
शान्तिजस्तो ठूलो कुरा यो पृथिवीमा केही हुन सक्तैन ।’ (सम्झनाका अनुभूतिहरूः ३८)
सबै ठीकै छ, हामी बाँचिरहेका छौं, तर देशलाई सङ्कट परेको छ । मानिसले मानिसलाई मारिरहेका छन् ।
यस्तो लाग्छ अब संवेदनशीलताको अर्थ पनि छैन मान्छेहरूमा ।’ (मैले माया गरेको तिमीः ८०)
म चाहन्छु देशमा शान्ति होस् हरेक मान्छेले शान्तिका साथ बाँच्न पाउन् ।’ (उहीः ८१)
देशमा सल्किएको आगोको झिल्काले डाँडाकाँडा, हिमाल पाखा, तराई भन्ज्याङहरू रोएका छन् । कति राम्रो हुन्थ्यो मान्छेले हातमा हात र साथमा साथ मिलाएर बाँचिदिए ।’ (उहीः ८१(८२)
बुझ्यौ, देशलाई सम्झँदा यस्तो लाग्छ, परदेशमा एकैछिन र एकै मिनेट पनि नबसौं र दौडदै जन्मेको ठाउँमा भाग्दै जाऔं ।’ (उहीः ८२)
यो फूल तिमीलाई दिनेछु र देशको कविता कोर्न आझ्वान् गर्नेछु । देशको शान्तिको कविता कोर्ने आह्वान गर्नेछ । ओहो मेरो देश, कमलको फूलजस्तो देश, मनभरि अँगालो हालेर मुटुभरि राखिरहूँ जस्तो । मेरो देश तिमी मेरो जीवनजति नै प्यारी छौ । मेरो कविताजति नै प्यारी छौ ।’ (उहीः ८३)
मलाई विश्वास छ, एक दिन मेरो देशमा मानिसहरू मिलेर सेता परेवा उठाउने छन् । हामीले एकअर्कालाई मार्ने छैनौ र मनमा मन साटेर, मुटुमा मुटु साटेरहाम्रो यात्राको विजयोत्सव मनाउने छौं ।’ (उहीः ८४)
अहिले त एउटा नेपालीले अर्को नेपालीसँग डराउनुपर्ने अवस्था सिर्जना भएको छ ।’ (उहीः ८४)
प्रिय कमला, मैले तिम्रा कतिपय हरपहरू यहाँ उधृत गरेँ । वास्तवमा तिमीले लेखिसकेका यी हरफहरू मैले पुनः लेख्ता पृष्ठपोषण पनि भएको हुनुपर्छ । तर कमला राष्ट्रभक्तिका अजस्रधारा बोकेका तिम्रा कतिपयहरपहरू मैले यहाँ उधृत गर्दा मलाई अपार सन्तुष्टि भएको छ । जीवन बाँच्नुको सुखद् अनुभूति भनेको सन्तुष्टिहरूको सङ्ग्रह पनि त हो । त्यसो त पटकपटक मानवताका कुरा गर्ने तिम्रो लक्ष्य वा ध्येय सानासाना सीमानाहरूमा खुम्चिनु हो जस्तो मलाई लाग्दैन । र म पनि मानिसले खुम्चिनु हुन्न लिनुपर्छ आकाश र धर्तीको जोड्तीसम्म भन्ने विचारसँग नै पूर्ण सहमत छु । तर कहिलेकाहीं कतिपय शब्द, वाक्य र अभिव्यक्ति फगत् लेख्नका लागि मात्र भएका हुन्छन् । जस्तो कि विश्वबन्धुत्वको खुला भावनात्मक सीमानाका कुरा गर्ने प्रत्येक मानिसको पहिलो पहिचान उसको राष्ट्रसँग गाँसिएको हुन्छ । त्यसैले जबसम्म राष्ट्रको उत्थान हुँदैन तबसम्म त्यस राष्ट्रको पहिचान गाँसिएको व्यक्तिको आत्मसम्मानमा पनि वृद्धि हुन सक्तैन । धेरै वर्षसम्म परदेशिएको पीडाका कारण पनि तिमीलाई दुःखेको देश तिम्रा कथाहरूमा अझै मर्मान्त भएको हुनुपर्छ ।
प्रिय कमला, त्यसो त तिमीले केही वर्षअघि नेपालमा हत्याका श्रृङ्खलाहरूको सुरुआत भएताका अमेरिकाबाट रुँदै मलाई फोन गरेको पनि यस बेला म सम्झिरहेकी छु । यहाँ घटेका हिंसात्मक घटनाले त्यहाँ तिम्रो कमलो मनमा पारेको चोटको अनुभूति मलाई त्यसै बेला भएको थियो । अहिले यी कथाका नसानसामा बगेका संवेदनात्मक स्वरहरू तिनै कमलाको हो भन्ने बुझ्न त्यसैले पनि मलाई कठिन भएन ।
प्रिय कमला तिम्रा 'सम्झनाका अनुभूतिहरूमा’ मैले राष्ट्रवादी स्वर निकै मज्जासूग घन्किएको पाएँ । विदेशको बसाइमा पनि स्वदेशकै वासना मग्मगाएका कथाहरूको सृजना गर्न सक्नु तिम्रो लेखनको पहिलो विशेषता हो भन्ने मलाई लागेको छ । त्यसै गरी मानवतावाद र विश्ववन्धुत्वको भावनाको व्याप्ति पनि तिम्रा प्रस्तुत कथाका उल्लेख्य पक्ष हुन् भन्ने मलाई लाग्यो । यसै सन्दर्भमा तिम्रा कथ्यमा उत्तरआधुनिक कथानकको प्रवेश, प्रेमप्रतिको अगाध आस्थाको जागृतिका साथसाथै पलायनको तिक्तताबोध हुनुपनि सम्झनाका अनुभूतिहरू’भित्रको पहिचान बन्न गएको छ । अझ कपितय प्रस्तुति दार्शनिक दृष्टिविन्दुका कारण अलौकिक जस्ता पनि भएको मैले पाएँ ।
निष्कर्षका रूपमा विट मार्नुपर्दा तिम्रा उल्लेख्य कथाहरू उडन्ते कथाका रूपमा नभएर नेपाली समसामयिक यथार्थको धरातलको सग्लो स्वरूपका रूपमा मैले पाएँ । यस अर्थमा 'सम्झनाका अनुभूतिहरू’ भविष्यका आशाप्रद दिनहरूका लागि विगतका दुर्दान्त नेपाली परिवेशको दस्तावेज भएका छन् भन्न मरुचाउँछु । भविष्यमा तिम्रो लेखनी थप उर्जाशील बनोस् भन्ने शुभकामनाका साथ बिदा हुन्छु ।
तिमीलाई माया गर्ने
इन्दिरा दिदी
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।