-•खगेन्द्र संग्रौला
क्रान्तिकालीन चीनका लेखक लु स्युन थिए निकै नै जौडे जुधारु । नवीन विचार र जनसंस्कृतिको मोर्चामा ती मरिमेटेर जुधे । र, तिनले थुप्रै पुरातनपन्थी र रूढिमार्गीहरूलाई हाबाकाबा खेलाए । परचक्रीहरू न्याय र नैतिकतायुक्त एवं अग्निमय तर्कवितर्कको शास्त्रार्थमा जब धुलो चाट्थे, ती निस्तेज र निरूपाय भई लु स्युनको नितान्त निजी जीवनमाथि अतिक्रमण गर्थे । लु स्युनका दाँत पहेँला थिए । दाँत ताकेर हरूवा काजीहरूले तिनलाई 'पहेँल्दाँते'को फत्तुर लगाए । उमेर निकै पाको भइसकेर पनि लु स्युनका सन्तान भएका थिएनन् । सन्तान नहुनुलाई तारो बनाएर दुर्मति मनुवाहरूले तिनलाई 'अलच्छिनी निसन्तान बूढो' भनी गर्नु नगर्नु गिल्ला गरे । लामो पर्खाइपछि जब सन्तान पैदा भयो, लु स्युन परपीडक अन्तरेहरूलाई सम्झिँदै दङ्ग परे । र, निसन्तानको फत्तुरको प्रत्युत्तरमा तिनले जमाएर जबाफ दिए— अब भने मेरो पनि छोरो भयो !
बाबु बन्न जोकोहीलाई लु स्युनलाई झैँ गाह्रो पर्दैन । बाबु बन्न न प्रतिभा र लगन चाहिन्छ, न शुभ मुहूर्तको प्रतीक्षा गर्नुपर्छ, न त प्रशिक्षण र सीपकै खाँचो पर्छ । नररूपी दोपाया भालेले पोथीलाई ऋतुदान गरे पुग्यो, पोथीको गर्भाशयमा प्रकृतिले आफैँ छोरो बनाइदिन्छ । गाह्रो त गतिलो बाबु हुन पो छ । बाबुको रूपमा आफ्नो भूमिकाको स्मरण गर्दा लाग्छ, छोरीको हकमा म ठीकठीकैको बाबु भएँछु, छोराको हकमा भने त्यस्तैउस्तै बाबु ।