- कृष्ण अविरल
नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषणसमेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।
बत्तीको झिलिमिलीसँगै मनाइने तिहारको महत्व नै देउसी-भैलीसँग गाँसिएको छ । दशैंलाई ब्राहृमणवादीहरुको पर्व भन्दै टीका बहिष्कार गर्ने तथा गर्न दवाव दिनेहरु समेत तिहारमा हुल बाँधेर देउसी-भैली खेल्न हिंड्छन् । सबै जातजाति र भाषाभाषीलाई आत्मीयता र भातृत्वको मालामा गाँस्न सक्नु नै तिहारको सबैभन्दा सवल पक्ष हो । गेय र भावको सरलता देउसीको सुन्दर विशेषता हो । असी नाघेर बसी खाने उमेर पुगेका बूढापाकादेखि तोतेबोली बोल्दै गरेका केटाकेटी सबैले गाउन सक्ने भएकैले पनि देउसी भैलीको लोकपि्रयता नेपाली माझ सर्वव्यापी भएको हो । अझ देउसी भैली गाउँदा आर्थिक उपार्जन सजिलै हुने भएकाले पनि यसप्रति जो कोही आकषिर्त हुने गरेका छन् । देउसी भैली मनाउने परम्परा नै नभएका झापा-मोरङका राजवंशी तथा पहाडी मूलका मानिसहरुको बस्ती भएका राजविराज, विरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी आदि ठाउँका अन्य जातिका केटाकेटीले समेत समुह बाँधेर देउसी-भैली खेल्नुले यसको लोकपि्रयता थाहा पाउन सकिन्छ ।