- हरिप्रसाद कोइराला
‘हामीले तेरी आमालाई मारेर साउदी अरबको नेपाली दुताबासमा बुझाइ सक्यौं । फोन गरेर धेरै किचकिच नगर, कानूनले जे गर्छ गरोस्’, सुन्दै अप्रिय लाग्ने टेलिफोनबाट आएको यस्तो धम्कीले आज पनि उर्लाबारी-२ का अमन पाँचकोटीलाई सताइरहेको छ ।
गत माघमा दलालमार्फत साउदी अरव पुगेकी अमनकी आमा मुना परियार (पाँचकोटी)लाई एक अमीरले ३ महिनाअघि नै मारेर नेपाली दुतावासमा बुझाएको खबर दिएपनि पाँचकोटी परिवारले अझै शव ल्याउन सकेको छैन । छोरा अमनका अनुसार दमक कृष्णमन्दिरकी रविना न्यौपानेमार्फत साउदी अरब पुगेकी ४२ वर्षीया मुना रियादका एक अमीरको वंगालामा घरेलु काम गर्ने गर्थिन् । एकलाख रुपैयाँ खर्चेर साउदी पुगेकी उनको काम सुरुदेखि नै मालिकसँग खटपट भएको थियो । ‘बैसाखको तेस्रो साता आमाको फोन आयो’, अमनले उनकी आमाले भनेका कुरा सुनाए, ‘छोरा, मलाई साहुले कुटेर एकातर्फको पातो भाँचिसक्यो, मलाई एक दुई दिन भित्रमा नै फाँसी दिँदैछन्,जसरी भए पनि मेरो उद्दार गर ।’