- समुन्द्र पौडेल
आयु द्रोणसुते श्रीयम दशरथे शत्रुक्षयं राघवे।
ऐश्वयं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
'अस्वस्थामाको जस्तो आयु होस्, दशरथको जस्तो शत्रु पराजयको क्षमता होस्। नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गती, दुर्योधनको जस्तो मान, कर्ण जस्तो दानबीर, युधिष्ठिर जस्तो सत्यवादी, बिधुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति' होस भनी विजया दशमीमा आफूभन्दा मान्यजनहरुबाट टिका, जमराका साथमा आर्शिवाद लिने गरिन्छ।
रामले रावण र दुर्गाले महिषासुर जस्ता राक्षसहरुको बध गरी विजय प्राप्त गरेको पौराणिक कहानीसंग सम्बन्धित मानिने ऐतिहासिक दशै पर्व दक्षिण एशियाका भारत, नेपाल, भुटान र बर्मा(म्यानमार) लगायतका देशमा भिन्न भिन्न प्रकारले मनाइन्छ। भगवानले विभिन्न अवतार लिई राक्षसहरु माथी विजय प्राप्त गरेका हुनाले विजया र दश दिनसम्म पुजापाठ, ब्रत र उमंगका साथ मनाइने हुदाँ दशमी गरी हिन्दुहरुको सबैभन्दा ठूलो चाडको नाम 'विजया दशमी' रहन गएको हो।
आश्विन शुक्ल प्रतिपदादेखी शुरु भएको दशै दिनलाई बिजया दशमी भनिन्छ। नवरात्री पुजा र विजयादशमी गरी दशैका दशै दिन ऐतिहासिक महत्वका भएता पनि प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूणिमा(कोजाग्रत) प्रमुख तिथिहरु मानिन्छन्।
आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। नवरात्री प्रराम्भ हुने यसै दिन झिसमिसे बिहानीमै आफूलाई पायक पर्ने शुद्ध र पवित्र ठाउँबाट बालुवा वा पञ्च माटो ल्याई पुजाकोठामा जमरा राख्ने प्रचलन छ। जमरा बनाउन जौ, तिल लगायतका अन्नको प्रयोग गरिन्छ। सातौं दिनलाई फूल पाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरुको महत्व अधिक रहेको पाइन्छ।
सप्तमी तिथिको दिन दशैंको लागि पूजा सम्रागी फूलपाती आगनमा प्रवेश गराउने कार्य हुन्छ। फुलपातीका दिन विशेष गरी सरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउँछन् भने फूलपातीका दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाण्डौंको जमलमा ल्याई बढाइँ साथ हनुमानढोका दरवारमा भित्रयाइन्छ।
नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली) को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको धार्मिक कथन रहेको छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरुमा मानिसहरु आ-आङ्खना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्।
अष्टमीको दिन काठमाडौँको तलेजु भवानीको मन्दिर पनि सर्वसाधारणका लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अपर्ण गर्ने प्रचलन छ। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।
नवरात्रिको नवौ दिन विशेष गरी महालक्ष्मी देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि गर्ने चलन छ भने दशै दिन अर्थात विजयादशमीको दिन मान्यजनबाट भगवतीको प्रसाद स्वरुप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा, कान वा शिरमा जमरा लगाई दक्षिण लिइने गरिन्छ।
सोह्र साम्रगीले भगवती दुर्गा र अरु देवी तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरुलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धामिर्क विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छकँर्दै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
(विभिन्न धार्मिक ग्रन्थ, सस्कृतिबिदको सहयोगमा)
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।