चिल्ला चेलीका तीजे तिघ्राहरू !

- 'गाउँले' बलदेव
उहिलेउहिले चाडपर्वमा मिठोचोखो पकाएर भान्सा गरिन्थ्यो। अचेल नमिठो बिटुलो खाएर बान्ता गरिन्छ। महात्मा 'ईसामसीह'को शुभजन्मोत्सवको स् मृतिस्वरूप इस्वी संवत् आरम्भ भएको जनवरीको पहिलो दिनमा होस् अथवा 'जिसस क्राइस् ट 'जस्ता कर्पूरगौर सन्तको सम्झना गर्ने 'क्रिसमस 'मा होस् नन्दीभृङ्गीजस्ता उभयलिङ्गीहरू मिसमास भएर मदमांसले मातिन्छन्, झल्लिन्छन् र 'ड्रम सेट'को बेतालमा बिसुरसँग हल्लिन्छन्, यस्तै हो पश्चिमी सभ्यता?
यतातिर जन्म दिन अथवा कुनै पनि शुभ दिनमा दीप, कलश र गणेशको पूजा गर्ने गरिन्थ्यो। शुभकर्मभरि नै दीप प्रज्वलित भइरहनुपर्थ्यो। उता बालिएको मैनबत्ती निभाएर मात्रै जन्म दिन मनाइने गरिन्छ, यता पनि त्यसै गर्न थालियो। निभाउनकै लागि बत्ती किन बालियो?

प्रश्नको उत्तर पर्खिन नसकेर आँखा चिम्म गर्दै हामीहरूले पनि अँध्याराको रहमा हामफालियो। पश्चिमी संस्कृति म जान्दिनँ र नहिँड्ने गाउँको बाटो सोध्न पनि आवश्यक ठान्दिनँ। मेरो पूर्वीय संस् कार आज विकारयुक्त र बेकार हुँदै गएको चाहिँ मलाई थाहा छ। व्रतबन्धकै दिन ब्राह्मण- वटुकको व्रतभङ्ग गराइन्छ। 'ब्रान्डी, ह्विस्की र रम' मिसिएको मदिरातालमा पौडी खेल्दाखेल्दै अनि रमणीहरूको रसपान गर्दागर्दै उपनयनको जनै झरिसकेको र ब्रह्मचर्य मरिसकेको पत्तो पाउँदैन, त्यो स् कुले ठिटो। बाह्र कक्षाको शिक्षा लिँदै गरेको त्यस केटाले भिक्षादानको लगनमै छड्के नेत्रपान गरिसकेको थियो। शिशुको सृष्टि गरिसकेपछि विवाह बन्धनीमा बाँधिने अनिमात्रै व्रतबन्धनीमा जनै र कन्धनी पहिरिने चलन चलेको छ, अहिले। त्यसको के दोष?

सम्झनाका अनुभूतिहरूमा कमला सरूप

- इन्दिरा प्रसाई
प्रिय बहिनी कमला
सम्झनाका अनुभूतिहरू
मेरो मायाको परिभाषाभित्र पर्ने धेरैथोरै सङ्ख्याकी तिमीलाई मैले मायाको सुरुआत गरेको समय पनि त्यति धेरै बितेको छैन । एउटा मान्छेले अर्को मान्छेलाईकहिले, कति र कसरी माया गर्न सक्छ भन्ने खासै हिसाब पनि हूदोरहेनछ । त्यसो त मलाई लाग्छ- 'मान्छे’ भन्ने जीव 'माया’ गर्नकै लागि यो धर्तिमा आएको हो । जबसम्म हरेक मानिसले हरेकपल हरेक चिजलाई माया गर्छ तब यो संसारमा कुनै समस्या पनि आउने छैन । मानिसहरू आफ्नो मायाको बाटो बिराएर जब घृणा, आक्रोस, हिंसा, प्रतिहिंसामा लाग्छन् त्यसै बेला यो सुन्दर वसुन्धराको वातावरण धुमिल हुन्छ ।

मलाई लाग्छ अहिले यस्तै केही भइरहेछ यो धरामा । तर कमला विपरित गतिमा बहिरहेको संसारको आजको परिस्थितिमा पनि तिमीले र मैले एकअर्कालाई माया गरेका छौं । त्यसैले यस बेला हामी संसारको धर्मरेखातिर पनि आपसी मायामा आवद्ध छौं । अर्थात् कमला एकै राष्ट्रियताका हामी पृथ्वीको ओल्लो र पल्लो पाटोमा छुट्टिएर बस्दा पनि हाम्रा बीच मायाको उर्वर भूमि झनै उर्वर हुनु नै हाम्रो प्राप्ति हो भन्ने मेरो ठहर छ । एकातिर एउटै छानामुन्तिर र एउटै भित्ताको वरिपरि र अझ एउटै सिराने हालेर सुतिएका मानिसहरू बीचको घृणाले लत्पतिनुपर्ने समय बिताइरहेकी मलाई तिमीले दिएको माया म अमूल्य महसूस गर्छु ।

साहित्यकार झमककुमारीलाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार २०६७ साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीले ’जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिका लागि झमककुमारीलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी २ लाख रुपैया रहेको छ । सन् १९८० मा धनकुटाको कचिडेमा जन्मिएकी झमककुमारीको जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिडडुल गर्न, बोल्न सक्नु हुन्न । तर, उहाँको दुबै गोडाको तीन औंला मात्र चल्छ । त्यही गोडाको औंलाको सहयोगमा धरै रचना प्रकाशित भइसकेको छ ।

पछिल्लो सयय प्रकाशित ‘जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृति धेरैले मन पराएका छन् । झमककुमारीले संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रको योद्धाहरु, सम्झनाका बाछिट्टाहरु, झमक घिमिरेका कविताहरु, जीवन काँडा कि फूल, अवसानपछिको आगमन लगायतका कृति प्रकाशित छन् ।

बाँचेको मान्छे

- गौतम बी.
आज पनि बाऊले गाली गरे।
सधैंजस्तै आज बिहान पनि ऊ अलिक ढिला गरेर खाना खान घर फर्केको थियो। बाऊको गाली खानबाट जोगिन चाहन्थ्यो ऊ। बाऊको गालीले अघाईसकेपछि खानाको लागि ठाऊँ बाँकीनै रहँदैनथ्यो र ऊ दिनभरि भोकै हुनपुग्थ्यो। घरमा बाऊको चालचूल थिएन, उसले आमालाई सोधेन पनि, बाऊ कता गए भनेर। ऊ भान्सामा उसको लागि भनेर रहेको खाना एकैपटक खन्याएर हतार-हतार खान थाल्यो।

“ल हेर, कविज्यू आईपुग्नुभएछ!” खाईसक्ने बेलामा अचानक बाऊ भित्र पसे। “के छ लेखकज्यू?” बाऊ अचेल यस्तै पाराले छेडखान गर्छन् उसलाई। “गधा—साले---! पुरुषार्थ भन्या एक रौं पनि नभा’को---!” यो चाहिँ छेडखान पछि बाऊले भुतभुताऊने ‘मन्त्र’। बाऊ भुतभुताऊँदै आँगनतिर लागे। आमापनि नजिकै थिईन्, अरु दिन भए आमाले ‘खाने बेलाँ पनि किन करा’को?’ भन्थिन् तर आज भने कहि पनि नबोली उस्ले खाएका भाँडा उठाएर बाहिर तिर लागिन्।

मनको नरमाईलोलाई अलिक फिका बनाउन ऊ बजार तिर लाग्यो।

बाऊको ऊसंगको रिस उसले कमाएन अथवा गतिलो कमाई हुने जागिर खोजेन, २५-२६ हुञ्जेलसम्म पनि हल्लेर बसेको छ भन्ने हो। यतिखेर त अझ बाऊलाई 'सरकारी अधिकृत’ को भूत चढेको छ। उसका दुईटै दाइहरु लोकसेवा लडेर शाखा अधिकृत बनेका थिए र अहिले अरु कुनै जिल्लाहरुतिर पुगेका थिए। बाऊ चाहन्थे, ऊ पनि लोकसेवा लडोस् र शाखा अधिकृत बनोस्। बूढाको अचेलको सपनामा कुनै दिन आफ्ना तिन्टै छोराहरु सचिव हुन्थे। यसैले उनको सपनाको एउटै बाधा बनेको थियो ऊ।

घिन्ताङ् घिसीमा फेरिएको भक्तपुर

- निर्मला कटुवाल, भक्तपुर,
'घिनी ट्वाङ-घिनी ट्वाक, घिन्ताङघिसी ट्वाक' यो तालले जतिबेला ट्वाक भन्छ, हातमा बोकिएका ली एकआपसमा ठोक्किएर ट्वाक्क आवाज आउँछ। आइतबार दिनभर नै सिँगो भक्तपुर परम्परागत पहिरन, विभिन्न झाँकी र यसै आवाजमा रमाएको थियो।

भक्तपुरवासी बिक्रमको १४ औं शताब्दीअघि नै लिच्छविकालबाटै गाईजात्राको प्रचलन सुरु भएको ठान्छन्। स्थानीय राजा जयस्थिति मल्लको छोरा दिवंगत भएपछि निरन्तरता पाएको गाईजात्रा मुलुकभरका नेवार समुदायमा प्रचलित काठमाडौंका प्रताप मल्लले चलाएको भन्दा केही फरक छ। त्यसैसँग जोडिएको यहाँको अर्को साँस्कृतिक जात्रा हो- घिन्ताङघिसी, जसमा ताल मिलेर ली जुधाउँदै रमाउने परम्परा छ। वर्षेनी मनाइने यो जात्रामा केही वर्षअघिसम्म छोरीबेटी देखिँदैनथे।