दुःख हिमालपारिका

प्रस्तुतिः दीपक सापकोटा
हामी 'भिजेर’ गाउँ पुगेर पाल टाँग्न लागेका थियौँ । गाउँका सबै बूढाबूढी, बालबालिका दौडिँदै हामीसामु आइपुगेका थिए र 'हामीलाई केही देऊ’ भन्दै माग्न थालेका थिए । उनीहरूलाई रोग लागे मर्नुबाहेक अर्को उपाय छैन । भोक लागे रुनुबाहेक कुनै विकल्प छैन ।
वास्तवमा नेपालको भूबनावट कस्तो छ भन्ने कुरा प्लेनमा चढेपछि मात्र थाहा हुन्छ । जताततै देखिने भीर, पहरा र खोलाहरू । म तराईको मान्छे भएर होला, भुइँमा रहेका वेला त तराईको विशाल फाँट छ, हामीसँग जस्तो लाग्ने । तर, जब चिलगाडीमा चढिन्छ, तब त्यो तराई यति चाँडै बिलाउँछ र सिर्फ एउटा धर्सोजस्तो मात्र देखिन्छ, बूढापाकाले लगाउने लगौटीजस्तो । जता हेरे पनि एउटै खालको दृश्य देखिन्छ, उनै भीर, पहाड र एकतमासको निर्जनता । यी सबै दृश्य मैले पहिलोपटक डोल्पा प्रवेशसँगै हेलिकोप्टरबाट देखेको थिएँ । त्यो ०५३ साल साउन २१ गतेको दिन थियो । त्यहाँ हाम्रो पहाडका घरजस्तो भिरालो छाना थिएनन् । सीधै माटोले लिपेर बनाएको तेर्सो सतहबाट कसरी पानी तर्किन्छ वषर्ातमा ? कि यहाँ पानी नै पर्दैन हँ ? सोचिरहेँ ।

से-फोक्सुन्डोको काखमा वास बस्यौँ । से-फोक्सुन्डो नजिकै रहेको 'सल्लाघारी' भन्ने ठाउँमा त्यो चिसोमा हामी लुगलुग काँम्दै रातभर बसेका थियौँ । बाटाभरि भारी बोक्ने कामदार पटकैपिच्छे दोहोरिन्थे । झुत्रा लुगा लगाएका, थाप्लोभरि नाम्लोको डाम लिएर वेला-वेला हामीसामु झुल्किने डोल्पाका भरिया पीडा सुनाउँथे र गहभरि आँसु पार्थे । कोही घरमा सुत्केरी श्रीमती छाडेर यो अनकन्टारमा भारी बोक्न आएको सुनाउँथे अनि कोही भने पढ्न नसकेर वा लाहुरबाट दुःखजिलो गरी फर्केको अनि अब यहीँ पहाडमा जीवन बिताउँछु भन्थे । यो ताल निकै अप्ठ्यारोमा छ र फुट्ने सम्भावना धेरै देखिएको छ । तर, यसको चिन्ता कसलाई ?

त्यहाँ रहेको से-गुम्बाको सेरोफेरो छोरङ्ला हाइक्याम्प (म्यान्दोक्तुई) बाट प्रस्थान गर्नेबित्तिकै खोला तर्नुपर्ने भयो । पानी यति चिसो थियो कि खुट्टा त कटक्कै खान्थ्यो । बाध्य भएर खोला तर्नुपर्ने भयो । मेरा खुट्टा त चल्नै पो छोडे । ती खुट्टामा प्राण फर्किन धेरै समय लाग्यो ।

हाम्रा भरिया हाम्रो वास्ता नगरी यार्सागुम्बा खोज्न लागे । 'सर, यो यौनबर्द्धक औषधि हो.. तपाईंले पनि खानोस्,' भरियाले यसको व्याख्या गर्न थाले । प्रकृतिले वेला-वेला दृश्य बदलिरहेको छ र हामी अहिले रूखहरू भएको ठाउँमा आइपुगेका छौँ । जंगल टाढा-टाढासम्म फैलिएको छ र सबै एउटै जातको रूख छ । तराईको किम्बुजस्तो देखिने रूखहरूको जंगल । यसरी डोल्पाका केही चिसा रात जंगलभित्र, से-फक्सुन्डोको किनारमा वा टेन्टभित्र गुटमुटिँदै गुज्रेका थिए ।

कर्णालीको दुःख बयान गरिनसक्नुको हुन्थ्यो । डोल्पाका 'देंग', 'भिजेर' जस्ता गाउँहरू यस्ता थिए जहाँ राज्यको उपस्थिति ठ्याक्कै न्यून थियो र त्यहाँ मात्रै दुःखै-दुःख बाँकी थियो, त्यहाँका गरिब जनता अभिशप्त थिए, त्यो अनकन्टार पहाडमा पाखुरा बजार्न। सुखले चियाउने त कल्पना पनि थिएन ।

हामी 'भिजेर' गाउँमा बसेका थियौँ, जुन गाउँ उत्तरी डोल्पाको यस्तो अनकन्टार ठाउँमा रहेको भित्री खोँचबाट छिरेर जानुपर्ने स्थानमा छ कि त्यस्तो ठाउँमा त्यति ठूलो गाउँ होला भनेर कसैले अन्दाज गर्न सक्दैन । यो ठूलो गाउँ थियो, ठूलो यस अर्थमा कि योजस्तो ६०-७० घरधुरी भएको गाउँ हामीले उपल्लो डोल्पाको यो भ्रमणकालमा भेटेकै थिएनौँ ।

त्यहाँ एउटा कथा प्रचलित रहेछ । यहाँ गाउँ छ भन्ने कुरा श्री ५ को सरकारलाई पछिसम्म पनि थाहा थिएन रे ! पछि जापानीहरूको एउटा टोलीले हवाई सर्वेक्षण गर्दा गाउँ देखियो रे ! र उनीहरूले त्यसको वृत्तचित्र बनाएर सर्वप्रथम जापानको टेलिभिजनबाट प्रसारण गरेछन् । त्यसपछि मात्र यो गाउँ जिल्ला सम्पर्क आएको रे ! यो कथा सत्य हो कि होइन थाहा छैन, तर यस गाउँको कुनै हालचाल केन्द्रीय सरकारले थाहा नपाएझैँ लाग्यो । यो गाउँ अन्धकारमा कुनै चालचुल नगरी टुक्रुक्क बसेको छ । मानिस डोल्पाको सिडिओलाई 'दुनाइको सिड्यो' भन्छन् तर आफ्नो भन्दैनन् । उनीहरू आफूलाई डोल्पाली भन्दैनन्-केवल भिजेरका ठान्छन् ।

मलाई त्यसदिन सम्झना आइरहन्छ- जुन दिन हामी भिजेर पुगेर पाल टाँग्न लागेका थियौँ गाउँका सबै बूढाबूढी, बालबालिका दौडिँदै हामीसामु आइपुगेका थिए र 'हामीलाई केही देऊ' भन्दै माग्न थालेका थिए । हामीबीच भाषा ठूलो तगारो बनेर उभिएको थियो, यति हुँदाहुँदै पनि उनीहरूको इसाराले खान नपाएको, लाउन नपाएको इत्यादि दुःख देखाइरहन्थ्यो । उनीहरूलाई रोग लागे मर्नुबाहेक अर्को उपाय छैन । भोक लागे रुनुबाहेक कुनै विकल्प छैन । प्राथमिक स्तरको स्कुल छ, तर १०-१२ जना विद्यार्थी पनि स्कुल आउँदैनन् रे ! यो टापु बस्ती सबैतिरबाट सम्पर्कविच्छेद छ । न यहाँ केन्द्रीय शासनको उपस्थिति छ न त जिल्ला शासनको नै ।

'तपाईंहरू भोट हाल्न जानुहुन्छ ?'  मैले सोधेँ ।
'बर्खामा जान्च, हिउँदोमा जादैनाँ' एउटा भरियाले भने ।

कुराबाट थाहा पाइयो, उनीहरूले भोट हालेका छैनन् ।
'यहाँ सबैभन्दा बढी डर कसको हुन्छ ?'
'गाविसा साचिवको' उनले भने ।

'कसरी ?'
'त्यै जान्ने छा, त्ये सुन्ने छा, के लेख्छा, केमा सै गराउँछा, क्यै था हुन्दैन, त्यै भ'र डार लाग्चा ।'

राङगाउँबाट हिँडेपछि बेलुकी ४ बजेतिर हामी यान्जिर गुम्बा भएको 'निजाल' भन्ने गाउँमा बस्न आइपुगेका थियौँ । दुनैदेखि यति लामो बाटो हिँडेर उत्तरी डोल्पाको यो अनकन्टार गाउँमा आइपुग्न हामीले बाटोमै ११ रात वास बसिसकेका थियौँ । त्यहाँको यान्जिर गुम्बामा प्रवेश गर्न नपाइनेरहेछ । लामासँग लामो समय बहस गरेपछि, धेरै समयको प्रयासपछि मात्रै हामी गुम्बाभित्र पस्न पायौँ । यो गुम्बामा करोडौंको सम्पत्ति रहेछ । सुनका अक्षरले लेखिएका तिब्बती लिपिका गह्रुंगा-गहु्रुंगा किताब, आठजना महान् लामाको करोडौं सम्पत्तिसहितका छुट्टाछुट्टै समाधि, बाहिरी क्षेत्रमा लहरै नौवटा ठुल्ठूला सुन्दर चैत्य, सुनका मूर्ति र लहरै बसेर पाठ गरिरहेका महिला-पुरुष लामाको ताँती...। अहिलेसम्म मैले देखेका भव्य गुम्बाभन्दा पनि भव्य थियो, यान्जिर गुम्बा ।

यान्जिर गुम्बाबाट हिँड्दै अबेर हुनाले साल्दाङ्गमा वास बस्न आइपुग्न निकै कष्ट व्यहोर्नुपर्‍यो । साल्दाङ्गबाट हिँडेर अलि तलको गाउँमा आइपुग्दा हाम्राअगाडि सोनामकी भान्जी छिरिङ थालमा आलु लिएर बाटोमा आइन्। अस्तिसम्म छिरिङ हामी से-गुम्बामा वास बसेदेखि हामीसँगै छुट्टिएकी थिइन्। अहिले अकस्मात् सुन्दरी छिरिङलाई उभिएको देखेर आश्चर्य लाग्यो । हामीलाई देखेर २५-२६ वर्षकी त्यो युवती मज्जाले मस्किई । खासमा ऊ निकै सोझी थिई । 'तिमी यति तरुनी भएर पनि अहिलेसम्म क्यै गरेकी छैनौ कि क्या हो ?' हामीमध्ये कसैले सोध्यो ।

'गारेको छा, तीनजनासँग गरेको छा', उसले भनेकी थिई ।

'कसरी ?'

'दुई बार्स पाहिले मो जोक्पे लिएर बानमा जाँदा आर्मीको तीनजाना मान्छेले मालाई पाक्रियो । सामातेर लोरायो । आनि लुगा माति सारेर तीनजनाले गोरो ।' हो, यही निर्दोष छिरिङ अहिले थालभरि आलु लिएर हाम्रा अगाडि उभिएकी छे । उसको निर्दोष अनुहार अहिले पनि सम्झनामा आउँछ, झलझली ।

जाङ्ला हाईक्याम्पबाट प्रस्थान गरेपछि 'पास' पुगेका थियौँ । जहाँ हामीले एकजना बूढो छिरिङ मगर भेट्यौँ जसको हिउँले गर्दा जागिर गएको थियो । उनले भनेका थिए, 'सार म प्रहरीमा जागिर खान्तेँ । मुस्ताङमा पोस्टिङ भाको बेला मो तीस दिनको गार बिदा लिएर यहाँ आयो । तारा बाटामा हिउँ पोरेर ट्याममा डिप्टीमा पुनु सकिनँ । पान्द्रा दिन डिलो बायो अनि जागिर पनि गोयो । पिन्सिन पाक्नु पनि पाएन । ०४२ सालमा तेत्तिकै खेरो गोयो मेरो जागिर ता ।' त्यसरात मैले सोचिरहेँ- त्यो बुढ्यौलीको कष्टप्रद एक्लो जिन्दगी कसरी बित्ला हँ ?'

निकै वर्षअघिको डोल्पा यात्रामा धेरै देखिए मान्छेका दुःखी कथाहरू। त्यसवेला वास्तवमै मैले अनुभूति गरेको थिएँ- मान्छेको जिन्दगी साह्रै दुःखी छ ।
 नयाँ पत्रिकाबाट

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।