मेरो बिरानो नेपाल -भाग २

- महेश्वर पन्त
हवाई जहाजले केहिबेर निकै उफारो । मनमा अनेक थरि डर त्राशले घर गरे । आफ्नो सपनको शुरुआतमै................................ लामो सास फेर्नु र वरपर सबैलाई हेर्नु बाहेक केहि उपाए थिएन। कोहि मस्त निदाएका थिए त कोहि म मजस्तै छटपटायेका थिए । एकदुई घण्टा को सास्ती र छट्पट पछी जहाज फुत्त बाहिर उज्यालोमा निस्कियो । मानौ कुनै ठुलो अन्धायारो चेपबाट बल जफ्ती बाहिर निस्किएको होस् । सरिर अलि हल्का भयो। बाहिर हेरें । जता ततै पानी नै पानी थियो । अचम्म लाग्यो । नेपालमा बसेका मान्छे ले यति धेरै पानी एकै ठाउँमा देखेका हुँदैनन् । मनमा झट्ट आयो ”समुन्द्र होला”।

सबै यात्रुहरु पूर्ण आराम गरे म आराम गर्न सकिन । मनमा अनेक चाहिने नचाहिने कुराहरु खेली रहे । गाउँबाट सहर आउन डराउने म आज पहिलो पटक आफ्नो गाउँ देशबाट यति टाढा, संसारकै पल्लो कुना मा जाँदै छु । मेरो र परिवार को एकमुस्ट सपना बोकेर । म घुम्न जान लागेको अन्तर्ररास्ट्रिय यात्री पनि त थिइन आराम संग निधाउनालाई । बिरानो ठाउँ जांहा एक दुइ जना साथी बाहेक कसैलाई चिनेको छैन । आफ्नो देश भेष भूसा संस्कृती भन्दा अती फरक जहाँ आफ्नो मान्छे जसले आफु लाई मायाँ गरोस सुख दुखमा साथ देओस कोहिछैन ।

यस्तै मनका आस्थिर गन्थन खेलाउंदा खेलाउंदै जहाजले ओरालो लागेको भान भयो । अब केहि बेरमा कतारको दोहा बिमान स्थलमा बिमान उत्रिन्छ भन्ने उदघोषण भयो । रात पनि परि सकेको थियो । चारै तिर बत्तिहरुले सजिएको दोहा मानौ एउटा चित्रकारले बनाएको पुतली जस्तै चंकी रहेको थियो । अझ छेउमा रहेको समुन्द्र र समुन्द्रमा सहरको बत्ति ले परेको उज्जालोले त मन तेसै तानेर लान्थ्यो । ”यती राम्रो दृश्य जीवनमा पहिलो पटक देखेको थिंए मैले”

दोहाको छोटो बसाई पछी हामीलाइ अर्को जहाजमा उडाए । कति पुरानै यात्रु त कतिपय नयाँ यात्रुले खचाखच भरिएको जहाज लन्डनतर्फ उड्यो । यो यात्राको सबै भन्दा लामो उडाई थियो । तर बिचमा पन्द्र मिनेट जति पेरिसमा रोकिएर लन्डन तिर लागियो । पेरिस पनि देख्न पाइयो । धेरै खुसि लाग्यो । तर पेरिसको रमणीयता त्यो साँझको बेलामा बयान गर्ने आँट गर्न सकिन । मसंग त्यति शब्द हरु नै थिएनन् । लन्डनको झन् कुरै नगर्दा बेश होला । जुन देसका मानिसहरुले धेरै सताब्दी पहिलानै संसार खाएका थिए । लगभग संसार भरीनै आफ्नो प्रभुत्तो जमाएका थिए तेस्ता मानिस बस्ने सहरको बयान गर्न म के सक्छु र । मलाई लागेको अर्को अचम्म के थियो भने समय । जति अगाडी बढ्दै गएपनि समय तेतिनै बस्थ्यो । लन्डन अमेरिका यात्रा सबै भन्दा थकाई लाग्ने भयो । मैले सोचे भन्दा धेरै फरक खालको सुबिधा थियो । मैले सोचे को थिए कि अमेरिकाका जहाज हरु धेरै सुबिधा जनक होलान मिठो खाना खुवाउलान तर तेस्तो भएन । सरिर पनि अलि थाकी सकेको थियो । खाना पनि खानै नसक्ने खल्लो मात्र थियो । मिठो दाल भात तरकारी को त्रिस्ना लाग्यो । फेरी मागेर पाउने पनि होइन, चुप्प लगेर सिटमा लम्पसार पर्नु बाहेक कुनै उपाए थिएन । मनले चाहेर पनि केही गर्न नसके पछि सिट मा लम्पसार पर्नु र यात्रा को आन्तिम गन्तब्य स्थानको प्रतिक्छा गर्नु मात्र फाइदा थियो ।

छ घण्टा लामो अटपट लाग्दो नरमाइलो यात्रा पछी म अमेरिका आइपुगें । मेरो आन्तिम थलो । न्युयोर्क सहर । मेरो सपनाको मेरो परिवार को सपनाको तर साँची भन्दा मेरो आबस्यकताको शहर । ठुलो र बिल्कुलै नयाँ शहर । शरिरमा धेरै हलचल मचिएको थियो । नयाँ ठाउंको र नयाँ जिन्दगीको । जिन्दगी मा कतिवटा नयाँ जिन्दगी बाच्ने मैले । कस्तो अचम्म! म एउटा गरिब देश मा जन्मेको गरिब मान्छे हुनको अभिसाप बोकिरहेको छु । हाम्रा दैनिक आबस्यकताले हामीलाई हरेक केही बर्समा एउटा नयाँ जिन्दगी थपी दिन्छन । कस्तो बिडम्बना । म पनि त्यसै भित्रको एउटा मान्छे । मनले नचाहेर पनि बाध्य भएर गर्नु पर्ने रहेछ ।

एअरपोर्ट मा नै साथीहरु लिन आएका रहेछन । सामानहरु मोटरमा खाँदेर न्युयोर्क सहर तर्फ लागियो । मेरो अब को नयाँ बासस्थान । ठुला ठुला गगन चुम्बी घर हरुको शहर । मैले नेपाल र मेरो गाउँसंग तुलना गर्ने कोसिस गरे यो शहर लाई तर कुनी तरिकाले पनि नजिक पुग्न सकिन ।

संसारकै सबैभन्दा अगला घरभएको शहर यो । बिकसित देश को अती बिकसित शहर, नेपालसंग तुलना गर्न खोज्नु या कोसिस मात्र गर्नु पनि बेकार नै हुन्छ । मलाई एसको तेती ठुलो मतलब पनि थिएन। म खाली पैसा कमाएर आफ्ना दैनिक आवश्यकता पुरा गर्ने मान्छे । केही पैसा कमाएर नेपाल फर्कने मान्छे । मलाई यहाँको बिकाश संस्कृती लगाई खुवाई बोलीचाली मेलमिलाप आदि संग तेती चासो पनि थिएन । यहाँ जेसुकई होस मलाई मतलब छैन ।

एस्तैमा साथीले घर आइपुग्यो झरौं भनेपछि म जस्कियें । मैले बाहिर नियालें । ठुलो शहरको बिचमा एउटा आग्लो र चाक्लो भवन जसमा मानु एउटा सहर्नै अटाउछ । देखेरै आचाम्म लाग्यो । सामान बोकेर माथि तीर लम्कियो । भवन को सुरक्षा सिस्टम पनि अचम्म को रहेछ । पासवर्ड पञ्च गरेर ढोका खोल्नु पर्ने । फेरी एलेभेटर बाट माथी नौ तला सम्म पुग्नु पर्ने रहेछ । मेरो बस्ने ब्यबस्था लिविंग रूम को एउटा कुनामा भयो । लिविंग रुममा अरु चार जना साथी पनि छन् रे । तर सबै जना नेपाली भन्दा खुसी भएँ म । भित्र एउटा बेडरूम मा भने दुई नेपाली केटी बस्छन रे । यो डेरा तिनिहरुको नाममा छ रे ।

मैले मेरो साथी बाहेक कसैलाई पनि देखिन किनकि सबैजना काममा । कति संगै बस्ने साथीलाई त कति हप्ता सम्म पनि देखिन । जागिरको कुरा चल्यो । आएको दुई दिनमै काममा लागे म । छिटै कम पाएकोले म भाग्येमानी ठहरियें । कतिले त महिना दिनसम्म पनि कामनपाउने रहेछन । काममा जान आउन बिस्तारै सिंके । दुईओटा ट्रेन चढेर दैनिक जानु हप्ताको छ दिन १२ घण्टा काम गर्नु बेलुका फर्किनु मेरो अब रेगुलर कार्य तालिका भयो । थाहा छैन कति लामो कार्यतालिका हो । हप्तामा बिदाको दिन भात पकाउनु, कपडा धुनु आफ्नु सुत्ने बिस्तार ओरिपरी सफागर्नु आदि काम पर्थे । सुत्ने बिस्तारा नै मेरो कोठामा हक जनाउने एउटा चिनो थियो । त्यो बिस्ताराले म त्यस घरमा बस्छु भन्ने जनाउथ्यो । अरु मेरा केहि समान थिएनन् ।

फेरी जिबनको पुरानै कुरा दोहोरिन थाल्यो । केहि दिनको झिनो खुसियाली रमाइलो पछि जिबनमा फेरी वाक्क दिक्क लाग्ने दिन आए । फेरी घर परिवार सम्झेर टोलाउने दिन आउन थाले । अब त झन् एती टाढा, हजारौ कोष टाढा । प्रेयसी र छोरा छोरी बाट हुने टाढा को फेरी बेग्लै किसिमको पीडा हुने रहेछ । दिनमा १२ घण्टा बाहेक तेस्तो पल आएन जतिबेला मैले तिनीहरुलाई बिर्से होला । पुराना गाउँ बाट टाढा हुँदा का र आफन्त बाट छुटिदाका दिन भन्दा पनि यी अझै कठोर र जीवन कै उपलब्धि मा प्रस्न चिन्ह लगाउने खालका भए । हरेक दिन केहि पल हरेस खान्थे र सोच्थे म यो सब्छोडेर देश फर्किन्छु! किन र केकालागी गर्दैछु ? आफ्ना माया गर्ने मान्छे बाट टाढा बसेर? हरेक बिकसित देसका मान्छे जस्तै हामी किन आफ्नो देशमा, आफ्नै परिवारका नजिक आफै जन्मेको ठाउँमा बसेर जिबन बिताउन नसक्ने ? किन हामी मात्र आफ्ना माया गर्ने भन्दा टाढा यो बिरानो मुलुक मा बसेर कस्ट र पिडा सहेर दिन बिताउनु पर्ने ? यस्तै अनगिन्ति उत्तर नभएका प्रस्नहरु मनमा उठाउदै दिन चर्या काट्दै गएँ । स्वास्नीसंग चारपाँच बर्षको मिठो मिलन पछि एका एक अनिश्चित कालको लागि बिछोड हुँदा धेरै गाह्रो हुँदो रहेछ । कुनै निश्चित समय भएपनि कम्मर कसेर कुर्नु हुन्थियो । म पनि मानिस नै हुँ । मलाई पनि पीडा हुन्छ । मलाई पनि काम बाट घर फर्किंदा आफ्ना छोरा छोरीले बाबा भन्दै काखामा बसेको मन पर्थो । स्वास्नीले मुसुक्क मुस्कुराउदै भोकलागेको छ ? भन्ने प्रस्न विभिन्न अर्थ मिसाएर सुधेको मन पर्थो । एस्तै मेरा बूढा आमा बुवाले घर भित्र बाहिर गर्दै नाती नातिना खेलाएको हेरन मन पर्थो । यी सबै जिबनमा जम्मा एकपटक आउने अविस्मरणीय क्षणहरु हुन । फेरी फर्केर आउदैनन । यस्ता पलहरुलाई भुलेर बिदेशमा पैसा कमाउन बस्नु पर्ने पिडा बोक्ने कम् मात्र नेपाली होलान । यो पीडा भन्दा अर्को कुन ठुलो पीडा हुन्छ र?

हरेक दिन नेपालमा फोन गर्नु । परिवार संग कुराकानी गर्नु । बिस्तारामा लम्पसार पर्नु भन्दा अगाडिका दैनिक कार्य जस्तै भए । फेरी फोन लाग्न गाह्रो । फोन नलागेको दिनमा निदाउन गाह्रो । फोन मा कुरागर्ने बिषय हरेकदिन एउतै । खाली केटा केटि को हालखबर के छ ?, तिम्रो हालखबर के छ , आमा बुवाको हालखबर, गाउँ को हालखबर आदी इत्यादी । एकान्त पर्दा लोग्ने स्वास्नेका गोप्य कुराले ठाउँ पाऊनु र तेस्ता कुराको रश बेग्लै थियो । गीतमा धेरै चासो नराख्ने मेरी स्वास्नी को मनपर्ने गीत ”भिज्यो सिरानी रातमा तिम्रो यादमा.....” भन्ने गीत भयो । विचार गंरे पीडामा मान्छे ले भगवान को साहारा त लिन्छ नै पीडा अभिब्यक्त गर्न गीत को पनि साहारा लिँदो रहेछ! नेपाल फर्कने सम्भावना पनि छैन किनकि पैसाले पनि पुगेको छैन । आर्कोकुरा कागज पनि भएको छैन । सबै कामनसकी फर्कने कुरा पनि आएन । चुपचाप पीडा सहेर कागज कुर्नु र पैसा कमाउदै जानुबाहेक अर्को उपाए पनि थिएन । अमेरिकाबाट पैसा कमाएर नेपाल फर्किन्छु भन्ने पनि हरेक नेपालीको मुखमा छ तर पुराहुन सम्भब छैन । फर्किने सकेपनि फेरी केटा केटी को भविस्यको कुरा आउँछ । नेपाल मा केटाकेटी पढाएर के गर्ने आफूजस्तै बेरोजगार बनाउनु बाहेक के छ र? फेरी पढेर पनि कहिले सकिनेहो? सधै नेपाल बन्द हड्ताल बाहेक के नै छ र । आदी ईतादी कुरा मात्र मनमा खेल्न थाले । देश फर्कने परिवार संग बस्ने संभवाना देख्न सकिन । आमा बुवाको विचार फरक छ । छोरा देश फर्कोस । देश मै बसोस । तर प्रसस्त आर्थिक उन्नति बिना त्यो पनि सम्भव थिएन । कतै बाट पनि हामीजस्ता गरिब को जिन्दगीमा सुख थिएन । छोराको सर सन्तान नै देश बाट पलाएन हुने भयो भन्ने थाहा हुँदा हुदै पनि आमा बुवाले छुरा छोरी ल्याउने स्वीकृति दिनु भो । किनकी म अमेरिकामा एक्लै भएकोले । छोरा पछी नाती नातिना लाई बिदा गर्ने पिडा पनि सहनु पर्ने भो आमा बुवाले । उनीहरुलाई यो पिडा धेरै कठिन हुन्छ भन्ने मलाई थाहा थियो । छोरा ले केहि पाउँछ । नाती नातिनाको भबिस्य उज्वल हुन्छ भनेर यो निर्णय पनि गर्नु भयो ।

अमेरिका मा हरेक चिज मा लाईन छ हामी आतिएर के गर्ने । कागज आउन पनि धेरै समय लाग्यो । सोचे को भन्दा धेरै बढी । पर्खेर बस्दा बस्दा आँखा पनि धमिला भैसके । यो मनलाई पत्यार लाग्न पनि छोड्न थाल्यो । बिछोड पनि अतिनै कठोर हुदै जान थाल्यो । न म नेपाल जान नै पाउछु न परिवार ल्याउन पाउँछु? न त पैसाले नै पुग्छ र सबै छोडेर नेपाल जान सक्छु ? बसाई झन् कठोर बन्दै गयो । धेरै दशैं तिहार चाडपर्व काम गरेरै बिते । चाड पर्वमा फोन गर्नु आफुले मन दुखाउनु परिवारको रुन्चे आवाज सुन्नु मात्र कति बर्ष सम्म ? यो जिन्दगी को परिभाषा पनि बेग्लै हुनथाल्यो । कति आफन्तका बिवाह, ब्रतबन्ध, नुवारण जस्ता खुसीका अबसरमा सम्लंग्न हुनसकिन । कसैको दुख मा सहयोग गर्न सकिन । कति आफ्नालाई भेट्ने रहर हुदा हुदै संसारै छोडेर गए । येस्ता हजारौं पीडाहरु बोकेर पनि मान्छे ले पैसाको आश छोड्न सक्दो रहेनछ। म जस्ता मान्छे को जुनी भन्दा अमेरिकामा जनावरको जुनी राम्रो लाग्न थाल्यो मलाई । तिनलाई जन्म थलो र आफन्त बाट छुटेर त बस्न पर्दैन । यस्तै पर्खाइका ती पीडादायक पल पलहरु काट्दै जिबन काट्न बाध्य छु पर्खनु बाहेक कुनै अर्को उपाए मनमा आउन सकेन ।

सोमबार मन नलाग्दा नलाग्दै पनि मेल बक्स खोलें । यु. येस. इमिग्रेसंको चिठी देख्दा जस्किये । अचम्म को कुरा भयो ।
क्रमस....

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।