
हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा । अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् । अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन् । बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ । नेपाली समाजमै सार्वजनिक भएको पहिलो लिंग परिवर्तन गर्ने ब्यक्ति केटलिनसंग अश्विनी कोइरालाले बिस्तृत कुराकानी :
तपाईं महिला कि पुरुष ?
म महिला नै हुँ। पुरुषजस्तो देखिन्छु र ?
होइन, महिला नै देखिनुहुन्छ र साहै् राम्री पनि हुनुहुन्छ। एउटा पुरुष यति सुन्दर कसरी हुनसक्छ भनेर म पनि छक्क परिरहेको छु।
हो, साथीहरूले पनि मलाई निकै राम्री भन्छन्। विशेषगरी मेरो आँखा मन पराउँछन्।
मलाई पनि तपाईंको आँखा मन पर्यो। अनुहार पनि साह्रै मिलेको छ। प्लास्टिक सर्जरी गरेर बनाउनुभएको हो ?
होइन, सबैलाई यस्तै भ्रम छ। यो सबै प्राकृतिक हो।
कुन-कुन अङ्ग प्राकृतिक हुन् ?
मेरो अनुहार, आँखा, स्तन र मेरो स्वर। मेरो स्वर केटाको जस्तो छ र ? महिलाको जस्तो छैन र ?
निश्चय नै तपाईं पुरुषबाट महिला हुनुभएको भन्ने कुरा झट्ट हेर्दा विश्वास लाग्दैन, कतिपय मानिस त तपाईं केटी नै हुनुहुन्थ्यो, चर्चामा आउन यस्ता हल्ला चलाउनुभएको भन्छन्, किन होला ?
किनभने हाम्रो समाज नै त्यस्तै छ। मैले आफ्ना बारेमा कुनै कुरै गरेकी छैन। बाहिर-बाहिर के-के कुरा चल्छन्, त्यसको पछि लागेर साध्यै छैन। मजस्ता लिङ्ग परिवर्तन गर्ने अरू पनि हुन सक्छन्। मेरो बुवा चर्चित कलाकार भएका नाताले मेरा बारेमा बढी चासो भएको हो। मानिसहरूले नचाहिँदो कुरा गर्छन् भनेरै म प्रेसमा आउन नचाहेकी हुँ। यो मेरो निजी जीवन हो। मलाई मेरो तरिकाले बाँच्न दिनुपर्छ।