- इन्दिरा प्रसाई
प्रिय बहिनी कमला
सम्झनाका अनुभूतिहरू
मेरो मायाको परिभाषाभित्र पर्ने धेरैथोरै सङ्ख्याकी तिमीलाई मैले मायाको सुरुआत गरेको समय पनि त्यति धेरै बितेको छैन । एउटा मान्छेले अर्को मान्छेलाईकहिले, कति र कसरी माया गर्न सक्छ भन्ने खासै हिसाब पनि हूदोरहेनछ । त्यसो त मलाई लाग्छ- 'मान्छे’ भन्ने जीव 'माया’ गर्नकै लागि यो धर्तिमा आएको हो । जबसम्म हरेक मानिसले हरेकपल हरेक चिजलाई माया गर्छ तब यो संसारमा कुनै समस्या पनि आउने छैन । मानिसहरू आफ्नो मायाको बाटो बिराएर जब घृणा, आक्रोस, हिंसा, प्रतिहिंसामा लाग्छन् त्यसै बेला यो सुन्दर वसुन्धराको वातावरण धुमिल हुन्छ ।
मलाई लाग्छ अहिले यस्तै केही भइरहेछ यो धरामा । तर कमला विपरित गतिमा बहिरहेको संसारको आजको परिस्थितिमा पनि तिमीले र मैले एकअर्कालाई माया गरेका छौं । त्यसैले यस बेला हामी संसारको धर्मरेखातिर पनि आपसी मायामा आवद्ध छौं । अर्थात् कमला एकै राष्ट्रियताका हामी पृथ्वीको ओल्लो र पल्लो पाटोमा छुट्टिएर बस्दा पनि हाम्रा बीच मायाको उर्वर भूमि झनै उर्वर हुनु नै हाम्रो प्राप्ति हो भन्ने मेरो ठहर छ । एकातिर एउटै छानामुन्तिर र एउटै भित्ताको वरिपरि र अझ एउटै सिराने हालेर सुतिएका मानिसहरू बीचको घृणाले लत्पतिनुपर्ने समय बिताइरहेकी मलाई तिमीले दिएको माया म अमूल्य महसूस गर्छु ।
